समुह बनाएर गाउँमै रोजगारीको सिर्जना गर्दै युवा

  सरलपाटी सम्वाददाता

 918 पटक हेरिएको


इलाम,चार वर्ष मलेसिया बसेर आएका इलामको माई नगरपालिका–१ का दिपेन्द्र सुब्बालाई फेरी रोजगारीको लागि विदेश जान मन छैन । गाउँमै बसेर उनी खेती पातिमा लागेका छन् । स्थानीय जातका बाख्रा कुखुरा पालेर बसेका छन् । रोजगारीको लागि विदेशमा भौतारीएर फर्किएका उनी अहिले आफुजस्तै अरु युवालाई गाउँमानै स्वरोजगार बनाउने ध्याउन्नेमा लागेका छन् । वडा स्तरको युवा शसक्तिकरण समुह हुँदै नगरपालिका स्तरीय युवा सञ्जालका अध्यक्ष बनेका दिपेन्द्र स्थानीय सरकार सहित मानव अधिकार मञ्च इलामले सञ्चालन गरेको सामाजिक रूपान्तरणका लागि युवा, सुरक्षित आप्रवासनको पबद्र्धन र मानव बेचबिखन रोकथामका लागि युवा समूह परिचालन कार्यक्रमसंगको सहकार्यमा स्थानीय युवाहरुका लागि समेत रोजगारको अवसर पहिलाउन लागेका छन् ।
रोजगारीका लागि विदेश गएकाहरुको दुख सुनेर वाक्क भएकी स्थानीय किशोरी कल्पना फागोलाई विदेन जानु नपरे हुन्थ्यो जस्तो लाग्छ । त्यही भएर उनीपनि गाउँमानै केही गर्ने सोचका साथ युवाहरुलाई संगठित गरेर रोजगार सिर्जना गर्ने अभियानमानै लागेकी छिन् । उनले पनि महिलाहरुको समुह बनाएर दालमोट उद्योग खोलेकी छिन् । अरुबेला युवा सशक्तिकरण समुहको सचिवको रुपमा दिपेन्द्रलाई सघाउँछिन् ।
युवाहरुको समुह रोजगारीको सिर्जना गर्न कहिले गाउँमा माछाको भुरा, कहिले बाख्रा वितरण गर्ने गर्छन् । उनीहरुले आफैले उत्पादन गरेर स्थानीयलाई विरुवा वितरण गर्न सुपारीको बेर्ना राखेका छन् । सुपारी खेती गरेर युवाहरुको आम्दानीको श्रोत बनाउन उनीहरुले एक हजार दुईसय ५० किलो सुपारीको बेर्ना तयार पारेका छन् । यती बेर्नाबाट करिव २२ हजार पाँचसय विरुवा तयार भएका छन् । ५० रुपैयाँ प्रतिगोटा पर्ने विरुवा निशुल्क वितरण गर्दा युवाहरुको आम्दानीको श्रोत बनाउन सकिने लिम्बु बताउँछन् । ‘यहाँ दश लाख रुपैयाँ भन्दा बढिको सुपारीको विरुवा हुन्छ,’ समुहका अध्यक्ष दिपेन्द्र सुब्बा भन्छन्,‘किनेर विरुवा रोप्न नसक्नेलाई ठूलो राहात होला भन्ने लाग्छ ।’ आउँदो जेठमा किसानलाई विरुवा दिने युवाहरुको योजना छ ।
समुहले चार महिना अघि ११ परिवारलाई ५० हजार माछाको भुरा वितरण गरेको थियो । युवाहरुले वितरण गरेको भुराबाट स्थानीयले आम्दानी लिन थालिसकेका छन् । युुवा समुहबाट वितरण गरिएको भुराबाट उत्पादन शुरु भइसकेको समितिकी सचिव फागोले सुनाईन । ‘हामीले २५ किलो माछा बेचिनै सक्यौ’,उनले थपिन्, ‘दुई÷तीनवटा माछा निकाल्दा एक किलो हुन्छ, किलोको तीनसय रुपैयाँले पोखरीबाटै विक्री हुन्छ ।’
समुहले नगरपालिका र परियोजनाकै सहयोगमा विपन्न अवस्थाका ३२ घरपरिवार दुई÷दुईवटाको दरले ६४ वटा बाख्रा वितरण गरेको छ । बाख्रा पाएका किसानलाई उद्यमशीलता सहित बाख्रा पालनसम्बन्धि तालिम समेत गराइएको छ । उनीहरुलाई थप ब्यवसायीक बनाउन आवश्यकता अनुसारको तालिमको व्यवस्था गर्ने समुहका अगुवा वताउँछन् ।
पाँच स्थानीय युवाहरुलाई रोजगारी दिने उद्देश्यले शुरु गरिएको हालो ब्लक (सिमेन्टबाट इटा जस्तो ब्लक) सञ्चालनमा भने केही समय लागेको छ । होलो ब्लक सञ्चालनको लागि दर्ता अनिवार्य रहेकाले आफुहरु दर्ताको प्रक्रियामा रहेको युवा शसक्तिकरण समुहकी सचिव कल्पना फागो बताउँछिन् । ‘होलो ब्लक चलाउँन मिटर आवश्यक पर्ने भयो, मिटर निकाल्न संस्था दर्ता प्रक्रियामा छौ ।’ होलो ब्लक उत्पादनको लागि समुहले आठ लाख ६० हजार खर्चेर मेसीन खरिद गरेको छ । विद्युतको लागि ट्रान्सफर्मर, लगायतका संरचना तयार भइसकेको फागोले जानकारी दिइन् ।
गाउँमा उद्यमशीलता संगै दालमोट बनाउने तालिम पाएपछि घरैमा बसेर दिन कटाउने महिलाहरु समेत रोजगार भएका छन् । १२ जना महिला गुणस्तरीय दालमोट बनाउन लागेका छन् । नगरपालिकाले डेढ लाख रुपैयाँ सहयोग पाएपछि उनीहरुले दालमोट बनाउने उद्योगै बनाएका छन् । सातामा १५ देखि २५ किलो दालमोट बनाउँछन् । उनीहरुको उत्पादन सातामा दुईपटक लाग्ने हटियामानै विकिसक्छ । ‘अहिले माग भएजति दालमोट दिन सकेका छैनौ’, दालमोट बनाउँदै गरेकी चन्द्रकला श्रेष्ठ भन्छिन्,‘हामीले दालमोट बनाउन शुरु गरेको दुई÷तीन महिना भयो, बजारमो समस्या भोग्नु परेको छैन ।’ घरकै काम गरेर विताउने महिलाहरुले घरको काम सकेर दिनको रोज बसाउँछन् । गाउँमै बनेको दालमोट दुईसय रुपैयाँ किलोका दरले विक्री हुुने गरेको श्रेष्ठले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार