अ देखि आख्यानसम्म

इलाम साहित्य महोत्सव

  सरलपाटी संवाददाता

 922 पटक हेरिएको

इलाम। तत्कालीन सत्तालाई कविता मार्फत हल्लाउने कवि श्रवण मुकारुङलाई इलाम साहित्य महोत्सवमा प्रश्न थियो, ‘कविता र कवि सत्ता कि प्रतिपक्ष ?’ उनले उत्तर दिए । लेखकमा आम मानिसको जस्तै परिवर्तन हुनसक्छ । कवि मनुमञ्जिलको धारणा भने केही फरक छ । ‘सत्ताको मात्रै होइन हामी प्रतिपक्षको पनि प्रतिपक्ष भइन्छ,’ उनले थपे, ‘कोही सत्ताको नजिक बस्नेले पनि राम्रो कविता लेख्छ, सुन्दर सिर्जना गर्छ ।’
कवि मोमिला जोशी भने कविहरुमा आत्मा अन्वेषणको आवश्यकता देख्छिन् । ‘आत्मा अन्वेषणबाट नौनी जस्तो कञ्चन चेतना प्रस्तुत हुनसक्छ’, उनले थपिन्, सत्तालाई घृणा होइन प्रेम गर्नुपर्छ विरोध होइन, विद्रोह गर्नुपर्छ ।’
इलाम साहित्य महोत्सवको वहश श्रृंखला मानकमाथिको प्रश्न शीर्षकमा अझ तात्यो । ‘सत्ताले निर्माण गरेको मान्यता मानक त्यसलाई मान्न दवाब दिइन्छ,’ वहशमा सहभागी राजन मुकारुङले खरायो र कछुवा दौडको लोक कथाको प्रशंग निकाल्दै भने, ‘खरायो र कछुवाको दौडमा घिस्रेर खरायोलाई कछुवाले जितेको कथा मानक बनेको छ । एक पटक देखि त्यो दौड गराइएको छैन, फेरी खरायो र कछुवाको दौड गराउँ त कछुवाले जित्छ ?’ राजन मुकारुङ मानकहरुमाथी प्रश्न गर्नुपर्ने औल्याउँछन् ।
लक्ष्मी प्रसाद देवकोटाले ‘क्षेत्रीको छोरो यो पाऊ छुन्छ घिनले छुदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने काब्यांशमा क्षेत्रीको ठाउँमा किन बाहुन लेखिएन भनेर प्रश्न गरे । उनले नेपाली मानकहरु जातीय, क्षेत्रीय भाषिक विभेदबाट माथि उठ्न नसकेकाले प्रश्न गर्नुपर्ने बताए । ‘१२ सालकै स्कुलिङ्गमा हाम्रा विश्वविद्यालय चलिरहेका छन्’, उनले थपे,‘हाम्रो मौलिक सौन्दर्य शास्त्र कहाँ पढाइ भइरहेको छ ?’ समालोचक उज्वल प्रसार्ई पञ्चायती मानकबाट ‘गाइडेड’ भइरहेको बताउँछन् । ‘आन्दोलन र पोलिटिक्सलाई बाटो देखाउने काम सर्जकको हो’, उनले भने, ‘प्रश्न गरेर मात्रै हुदैन, सिजर्नाले परास्त गर्नुसक्नुपर्छ ।’ मिश्र वैजन्ती भने अघिल्ला मानकहरु आफै भत्किएर जाने बताउँछिन् । ‘अघिल्ला मानकहरु नकरात्मक लाग्न सक्छन्, आलोचनाहरु हुन सक्छन्, त्यो परिवर्तन हुँदै जान्छ ।’ नेपाली साहित्यमा स्थापित मानकहरुले नेपाली नारीहरुलाई पछि धकेलेको उनको निचोड छ । ‘भानुभक्तको रामायणमा लेखेको जस्तो नारीलाई लिइएको अग्नी परीक्षा जस्तो परीक्षा पुरुषलाई कहाँ छ ?’ उनको प्रश्न थियो ।
करोड क्लव अफवाह शीर्षकको बहशमा सहभागी हुँदै चर्चित अभिनेता दयाहाङले सिनेमालाई पैसाको दृष्टिकोणबाट मात्रै हेर्न नहुने बताए । ‘म आफैलाई राम्रो लाग्ने फिल्म धेरै दर्शकसम्म पुग्न सकेन तर खासै मन नपरेका फिल्मले राम्रो ब्यापार गरेका छन्’, उनले थपे, ‘पैसाको तुजुक गरेर फिल्मको प्रचार हुन्छ, दर्शक आकर्षणको कोशीस हुन्छ, फिल्म उत्रिएपछि रोइलो पनि सुनेका छौ ।’ लेखक बज्रेश भने नेपाली चलचित्रले करोड कमाउनु कुनै ठूलो कुरा नभएको बताउँछन् । विगतमा एउटा ट्रेण्डको चलचित्र बन्ने गरेको र अहिले त्यसमा फरक आएको उनको अनूभव छ । ‘पहिले आर्टिस्टलाई हिरो बनाउने चलन थियो, अहिले चरित्रलाई हिरो बनाइन्छ’, उनी भन्छन्,‘प्रविधिको विकास सहित केही विषयमा पहिले र अहिलेको फिल्मलाई दाज्नै मिल्दैन ।’ अनुप सुवेदी भने सफल भइसकेका फिल्मलाई पछ्याउँदा सफलता हात नलाग्ने सुझाउँछन् । ‘सफलता पछ्याएर कही पुगिदैन, फ्मिले आफ्नो बाटो आफै बनाउनुपर्छ ।’ उनले नेपालमा शहरीकरण बढ्दै गएकाले नेपाली फिल्म बजार बढ्दै गएको बताए ।
किन विक्न छाड्यो आख्यान शीर्षकको वहशमा सहभागीले राम्रो आख्यानको बजार नघटेको बताएका छन् । बहशमा सहभागी प्रकाश बुढाथोकीले आख्यानकारले आफ्नो पाठक आफै बनाउनुपर्नेमा जोड दिए । ‘कति लेखकलाई पाठकले पर्खेर बसेका हुन्छन्, राम्रो आख्यानको बजार खस्केको छैन’, उनले भने,‘ यो प्रकाशकहरुको मात्रै रोइकराई हो ।’ चरित्र स्थापित गराउन सफल कन्टेन भएको आख्यानको विक्री कम नभएको आख्यानकार बिना थिङको बुझाई छ । ‘कथा पढेपछि पाठकको दिमागमा पात्र सलबलाउनु पर्छ’, राम्रो आख्यानले कुनै बेला पनि बजार लिनसक्छ ।’ बजारमा विज्ञापनको भरमा आख्यानहरुको विक्री भइरहेको लेखक प्रेम ओझाको निचोड छ । ‘ठूूलठूला प्रकाशगृहले विज्ञापनको भरमा आख्यान विक्री गर्दैछन्’, उनले भने,‘पाठकलाई नजरअन्दाज गरेर लेखिएका आख्यान विक्दैनन् ।’
महोत्वमा ‘अ मा अल्झेको इलाम’ शीर्षकमा पनि बहश भयो । सह प्राध्यापक राजेन्द्र बराल इलामलाई पाँच अ ले अल्झाएको बताउँछन् । पाँच अ भनिने कृषि उपजको बजार नभएको उत्पादन कम हुँदै गएकाले यसको ‘डार्क पार्ट’ का बारेमा बहश जरुरी रहेको बताउँछन् । ‘किसानले पसिनाको मुल्य पाएका छैनन्, हामीले कहिलेसम्म अ मा गर्व गर्ने ?, यसले इलामलाई अल्झाएकै छ ।’ इतिहासकार युद्धप्रसाद वैद्यले भने इलामलाई उत्पादनको बाटोमा लैजाने पाँच अ मा गर्व गर्न सकिने ठाउँ अझै रहेको बताउँछन् । ‘नेपालमानै सवैभन्दा धेरै अलैंचीको उत्पादन इलाममा हुन्थ्यो, इलामको आलु बिऊको रुपमा भारत पुग्थ्यो, त्यसैले यो इलामको पहिचनको प्रतिक बन्यो’, उनले थपे,‘उत्पादन गर्नुपर्छ भन्ने चेत नखुल्दै हामी उत्पादनबाटै नाम बनाइसकेका थियौ, यो हाम्रो पहिचानको प्रतिक हो ।’
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत भने इलामलाई अ मा अल्झिएको नभएर अ लाई समातेर अघि बढ्दै गरेको भनेर बुझ्नुुपर्ने बताउँछन् । ‘यी हाम्रो भरपर्दो आर्थिक श्रोत हो, जीवन प्रणाली धानेको छ’, उनले भने,‘ यसमा उन्नत परिमार्जन आवश्यक होला, हामी ठूलो औद्योगिक सहर बनाउन सक्दैनौ, कृषिमा आधारित उद्योगनै अबको हाम्रो बाटो हो ।’ महोत्सवमा प्रा.डा संजीव उप्रेतीले आलोचनात्क चेत र लोकतन्त्रका बारेमा मन्तब्य राखे भने । कार्यक्रममा विभिन्न ठाउँबाट आएका श्रष्ठाले कविता सुनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार