इलाम । विगतको द्वन्द्व नदोहोरियोस र नर्बिसियोस् भनेर द्वन्द्व सम्बन्धिका फोटो कथा बिहीबार इलाममा प्रदर्शन गरिएको छ । प्रदर्शनीमा द्वन्द्वका कारण अपाङ्गता भएका व्यक्तिहरुको फोटो, भिडियो र कथा संग्रह इलामको चोक बजारमा देखाइएको हो । त्यसमा द्वन्द्व मा परेपछि ब्यहोर्नु परेको शारिरिक क्षति त्यसपछिको कष्टपूर्ण जीवनका बारेमा श्रब्य दृश्य वर्णन गरिएको छ । फोटो प्रदर्शनीमा द्वन्द्वपछि जीवन यापनको लागि पीडितहरुले गरेको कठोर परिश्रमलाई प्रेरणाको रुपमा चित्रण गरिएको छ ।
गत भदौ २९ गते संखुवासभाबाट सुरु गरिएको प्रदर्शनी ८ जिल्लामा गरिने अपाङ्गता भएका द्धन्द्धपिडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले बताए । ‘यो प्रदर्शनी एउटा उदाहरण मात्रै हो । द्धन्द्धपिडितको स्मृती दिवस, पिडितलाई पुनस्थापना, स्वरोजगारका कार्य लगायतमा स्थानिय सरकार र सरोकारवालाको ध्यान पुगोस भनेर प्रदर्शनी आयोजना गरिएको हो’, उनले भने,‘यो प्रदर्शनी सरोकारवालाको लागि मार्गदर्शक बन्नसक्छ ।’ प्रदर्शनीमा आउनेहरुलाई वितरण गरिएको ‘१४ कथाहरु’ मा युद्धका जीवित स्मृतिहरु समेटिएका छन् ।
द्वन्द्व के थियो ? द्वन्द्वले पु¥याएको मानविय गम्भिर क्षति र त्यस क्षतिले पारेको असरकाबारेमा स्थानिय, सरोकारवाला र विद्यार्थीहरुलाइ जानकारी दिइएको छ । प्रदर्शनीले भविश्यमा द्वन्द्व नगर्नको लागि समेत सचेत गराउने आयोजकको अपेक्षा छ । ‘फोटो प्रदर्शनीले हाम्रो मन पनि हलुङ्गो हुने मौका मिलेको छ’ द्धन्द्धका कारण दुई हात गुमाएका खत्री भन्छन्,‘भित्र भित्रै दविएको आवाजलाई सबै क्षेत्रमा पु¥याउन फोटो प्रदर्शनी सहयोगी भएको छ ।’
इलाम सदरमुकाममा संविधान दिवसकै अवसरमा फोटो प्रदर्शनी गरिएको हो । जिआइजेट नामक संस्थाको सहयोग, अपाङ्गता भएका द्वन्द्व पिडीतको राष्ट्रिय सञ्जालको आयोजना र मानव अधिकार मञ्चको व्यवस्थापनमा सदरमुकाममा फोटो प्रदर्शनी भएको हो । यसले संविधान निर्माण र विगतको द्वन्द्वको विषयमा नयाँ पुस्तालाई जानकारी दिन सजिलो हुने मानव अधिकार मञ्चका अध्यक्ष मोहनसिङ थेवे बताउँछन् ।
आइतबार संखुवासभामा प्रदर्शनी भएको थियो भने शुक्रबार (भोली) विराटनगरमा प्रदर्शनीको आयोजना गरिएको छ । त्यसपछि इटहरी, रौतहट लगायतका स्थानमा प्रदर्शनी हुँदैछ ।