सन्दकपुर ५ तालगाउँका गोपाल खतिवडा बोयर बाख्रा खोज्दै रुकुम पश्चिम पुगे । १० दिनभन्दा धरै खर्चेर उनले खारा गाउँबाट २ वटा बोयर बाख्रा खरिद गरेर ल्याए । उनले शतप्रतिशत बोयर प्रमाणित बोकालाई २ लाख ५० हजार रुपैयाँ तिरे ।
अनि ब्याउने बाख्रालाई डेढलाख रुपैयाँ खर्चिए । उनका अनुसार यो बाख्रा ८७ दशमलव ५ प्रतिशत बोयर प्रमाणित छ । यति धेरै रकम र समय खर्च गरेर उनले बोयर जात ल्याउनुको एक मात्र उद्देश्य नै उन्नत जातका बाख्रा फर्म चलाउनु हो ।
‘बोयर बाख्राको महत्त्व बुझेपछि गाउँमा पाठा ल्याउने क्रम सुरु गरेका हुन्,’ हतपत पाठा नपाइने भएकाले मन भएर पनि कतिपय कृषकले ल्याउन सकेका छैनन् । महंगो भए पनि कृषकमा बोयर पालेर राम्रो आम्दानी लिने लहर नै चलेको छ ।
सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा ३५ वर्ष अध्यापन गरेका भक्तबहादुर विष्ट सदरमुकामबाट करिब ३० किमि टाढाको पुवामझुवा टप्पुमा भेटिँदा पसिनासरि थिए । २ हजार ८ सय मिटरको उचाईमा फर्म सञ्चालन गरेर बसेका विष्टको बहुआयामिक खेती र पशुपालन प्रणाली लोभलाग्दो छ । ७५ वर्षे विष्टले सञ्चालन गरेको फर्मको आर्कषक पक्ष हो बाख्रा पालन ।
राम्रो आम्दानी हुने आशामा उनले १ लाख ५ हजार रुपैयाँ खर्च गरेर बोयर बोका ल्याएका छन् । यो बोकाले आफ्ना फर्ममा राहेका बाख्रालाई क्रश गराएर अरू गुणस्तरीय पाठापाठी उत्पादन हुन थालेको उनले बताए । पुवामझुवाकै तीर्थ गुरुङलले पनि बोयर बोका ल्याएर फर्म सञ्चालन गरेका छन् । इलामकै गजुरमुखीबाट ४ महिनाको पाठालाई ५० हजार रुपैयाँ खर्चेर उनले ल्याएका हुन् ।
बोयर बाख्राको ६ महिनाको पाठा २० देखि ३० किलोको हुन्छ । शत प्रतिशत बोयर बाख्रा डेढ वर्षमा सय किलोसम्म हुन्छ । यस्तो बाख्रा १ दिनमा ३ सय ग्राम बढ्छ भने क्रस गरिएको बाख्रा डेढ सय ग्राम बढ्ने भएकाले पनि यसको माग धेरै छ । बोसो रहित यसको मासु गुणस्तरको हिसाबले पनि अब्बल मानिन्छ ।
इलामको माङसेवुङ गाउँपालिका १ याम कार्की यहाँका अगुवा कृषक हुन् । एउटै बाख्रो ३ लाख रुपैयाँ सम्ममा बिक्री गरेर आम्दानी लिन थालेपछि धेरैका लागि प्रेरणाको स्रोत उनी बनेका हुन् ।
स्नातकोत्तर सकेर गाउँमा आएर बार्खापालन गर्दै आएका कार्कीले यस क्षेत्रमा बोयर बाख्रापालनबाट मनग्ये कमाई गर्न सकिने प्रमाणित गरिसकेका छन् । कार्कीले गाउँठाउँको जमिन बाँझिएर उजाड बन्दै गएपछि जागिरको चक्कर छाडेर आधुनिक ढंगले बाख्रापालन गरेका हुन् ।


1587 पटक हेरिएको 






