नेपालमै फ्लाइङ स्कुल बनाउँछौः मन्त्री भट्टराई

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल तालिम केन्द्र बन्ने

  सरलपाटी सम्वाददाता

 1006 पटक हेरिएको

इलाम । संकृति पर्यटन तथा नागरिक उढ्यन मन्त्री योगेश भट्टराईले नेपालमानै पाइलट उत्पादनको लागि ‘फ्लाइङ स्कुल’ स्थापना गर्ने बताएका छन् । इलाममा निर्माणाधिन फाल्गुनन्द सुकिलम्बु विमानस्थलको निरीक्षण गर्दै मन्त्री भट्टराईले विमानस्थलको दिगो उपयोगका लागि फ्लाइङ स्कुल स्थापना गर्ने सोचमा सरकार रहेको बताए । ‘नेपालमा फ्लाइङ स्कुल स्थापनाको लागि हामी अध्ययन गर्दैछौ’,उनले भने,‘ म काठमाण्डौ फर्किने वित्तिकै कार्यदल बनाउने विचारमा छु ।’
विदेशमा पाइलट पढ्न जाँदा एक जना बराबर ५० लाखभन्दा बढि खर्च हुने गरेको बताउँदै उनले नेपालमा २५ देखि ३० लाख रुपैयाँमा पाइलट उत्पादन गर्न सकिने दावी गरे । छिमेकी मुलुक भारत सहित अन्य देशहरुले पनि नेपालमा पाइलट उत्पादन गर्ने ट्रेनिङ्ग सेन्टर भए हुन्थ्यो भन्नेमा चासो राखेको उनको भनाई छ । ‘भारतले नेपालमा टे«निङ्ग सेन्टर भए हुन्थ्यो भन्ने चासो राखेको छ, भारतका विद्यार्थी पनि नेपालमा पढाउन पाए हुन्थ्या भन्ने छ’,मन्त्री भट्टराईले भने,‘अरु देशको पनि यसमा चासो छ ।’ मन्त्री भट्टराईले इलाममा निर्माणाधिन विमानस्थल र दाङको विमानस्थल पाइलट उत्पादनको लागि टे«निङ्ग सेन्टरका रुपमा विकास गर्ने सोचमा सरकार रहेको बताए । ‘एउटा तराई र एउटा पहाडको विमानस्थललाई ट्रेनिङ्ग सेन्टर बनाउ भन्ने सरकारको सोच हो’,उनले भने,‘यो विमानस्थल टे«निङ्ग सेन्टर भए यहाँ कलेज पनि खुल्छ, विमानस्थलको नियमीत प्रयोग पनि हुन्छ ।’ विमानस्थलहरुलाई वैकल्पीक प्रयोगमा लगाएर पनि त्यसमा भएको लगानीको प्रतिफल लिनुपर्नेमा मन्त्री भट्टराईको जोड छ । ‘दिनको एउटा फ्लाइटमा १८ जना बोकेर आउने जानेले विमानस्थलमा गरिएको लगानीको रिटर्न आउँदैन’, उनले भने,‘त्यसलाई वैकल्पीक काममा पनि लगाउनु पर्छ ।’
मन्त्री भट्राईले एयरपोर्ट चाहिएरै बनाएको उल्लेख गर्दै भने,‘यो विमान स्थल चल्छ कि चल्दैन अहिले यसै भन्न सकिदैन, चल्छ भनेरै बनाइएको हो ।’ उनले एयरपोर्ट चल्ने नचल्ने स्थानीयमानै निर्भर हुने प्रतिक्रिया ब्यक्त गरे । इलाम पर्यटकीय आकर्षणको गन्तब्य बन्दै गएकाले एयरपोर्टको निर्माणले त्यसमा विकासमा योगदान गर्ने विश्वास गरे ।

धावन मार्ग कालोपत्रे हुने
आठ वर्षदेखि निर्माणाधिन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको यो वर्ष धावन मार्ग कालोपत्रे गरिने भएको छ । धानवमार्ग कालोपत्रे गर्नका लागि अहिले धावनमार्गको स्लोप (भिरालोपन) कम गरिदैछ । धावन मार्गको ८५ हजार घन मिटर माटो काटेल फिलिङ्ग गर्ने काम भइरहेको छ । कटिङ्ग र फिलिङ्गको काम पनि बेश र सब बेश लगाउने र कालोपत्र गरिने आशिष स्वामीनारायण आर्शिवाद जेभीका गणेश बहादुर चौहानले जानकारी दिए । नौ करोड ५० लाख ८० हजार रुपैयाँको ठेक्का सम्झौतामा धावन मार्गको ७२० मिटर लम्बाई र ६० मिटर चौडइमा कालोपत्रे, गर्ने दुईवटा जहाज पार्किङ्ग स्थल बनाउने, २६ सय घनमिटर ग्वाबीन पर्खाल लगाउने, ८०० घनमिटर मेसिनरी पर्खाल लगाउने काम हुने छ । धावन मार्ग निर्माण सकिएपछि अस्थायी टर्मिनल भवन र टावर निर्माण गरेर उडान शुरु हुने नगरिक उढ्यन प्राधिकरणका इञ्जिनियर विमानस्थल आयोजना प्रमुख विनायक भट्टराइले बताए । ‘धावन मार्ग सकिएपछि अस्थाई टर्मिनल भवन र टावर बनाएर उडान शुरु हुन्छ’,आयोजना प्रमुख भट्टराई भन्छन्,‘अरु संरचना आवश्यकताको आधारमा विस्तारै निर्माण हुँदै जान्छ ।’ तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको विमानस्थल लामो समय वितिसक्दा पनि निर्माण पुरा भएको छैन । इलाम जिल्लाकै लागि बहुप्रतिक्षित मानिएको विमान स्थल निर्माणको लागि पर्याप्त बजेट विनियोजन नहुँदा निर्माणमा ढिलाइ भएको हो । विमानस्थल निर्माणको लागि करिव २० करोड खर्च भइसकेको छ ।

जिसस प्रमुख र प्रदेशसभा सदस्यले बुझाए ज्ञापन पत्र
निर्माणाधिन विमानस्थलबाट निस्किएको भलले तल्लो तटमा बसोबास गर्ने ३० परिवारको घर र जग्गा जोखिममा परेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले प्रदेशसभा सदस्य राम रानाले मन्त्री भट्टराईलाई ज्ञापन पत्र बुझाएका छन् । जोखिममा परेको घर र जग्गाको संरक्षणको माग गर्दै जिसस प्रमुख र प्रदेशसभा सदस्यले ज्ञापन पत्र बुझाएका हुन् । ‘विमान स्थलभन्दा तलको क्षेत्रमा बसोबास गर्ने ३० परिवारको घर र जग्ग जोखिममा परेको छ, त्यासले भोलि ठूलो क्षति हुनसक्छ, बस्ती र उनीहरुको जग्गलाई सुरक्षित बनाउन प्राधिकरणले काम गर्नुप¥यो भनेर ज्ञापन पत्र बुझाएका हौ’, जिसस प्रमुख गणेश बरालले भने,‘प्राधिकरणले विमानस्थल निर्माणको काम गर्दा जोखिम न्युनीकरणको लागि नालीलाई ब्यवस्थित बनाउनु पर्छ ।’ जिल्ला समन्वय समितिका प्रमुख र प्रदेश सभा सदस्यले ज्ञापन पत्र बुझाएपछि मन्त्री भट्टराईले त्यसको अध्ययन गरेर प्रतिवेदन पेश गर्न आयोजना प्रमुख विनायक भट्टराइलाई निर्देशक दिएका छन् । ‘तपाई यहाँ बसेर यसका बारेमा अध्ययन गरेर हामीलाई प्रतिवेदन दिनुहोस, यसमा हाम्रो के दायित्व हुन्छ, हामीले के गर्नुपर्छ त्यो गरौला ।’ विमानस्थल निर्माणको लागि स्थानीयबाट जग्गा अधिग्रहण पछि उनीहरु निर्माणाधिन विमानस्थल भन्दा तलको क्षेत्रमा गएर बसेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार