मरिगए हुन्थ्यो भन्नेसँग आउँदो चुनावमा सामना गर्न तयार छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको बताएका छन् । विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहाना पूरा हुन नसकेको उल्लेख गर्दै उनले जिद्धी र अडानलाई छोडेर तर्कहरुलाई संविधानले सम्मान गरेको दाबी गरे ।

उनले भने, ‘संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको छ । जिद्धीहरुलाई होइन तर्कलाई संविधानले सम्मान गरेको छ । यो संविधान विगतका संघर्षहरुको गौरवको, इतिहासको, बलिदानको, उपलब्धिको संग्रह हो । ‘

उनले ठूलो बलिदानी र विभिन्न पक्षहरुको योगदान र तपस्यापछि मात्रै उपलब्धिको निचोडको रुपमा संविधान प्राप्त भएको उल्लेख गर्दै यस कार्यमा सहभागी सबैले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिए ।

जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त संविधानको खुसीयाली सिमित घेरामा मात्रै मनाउनु उपयुक्त नहुने भन्दै उनले राष्ट्रिय महोत्सवको रुपमा जनसहभागीताका साथ व्यापक र भव्यरुपमा मनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा बाहिर आइरहेका चर्चा परिचर्चा खण्डन गर्दे विरोधीलाई चुनौतिपुर्ण जवाफ दिए । विरोधीले आफुलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौति दिए । उनले आफू अझै १५ वर्ष मैदानमै रहने बताए ।

उनले भने, ‘अचम्म लाग्छ । विरोधीहरु कति कमजोर भएछन् भने । ऊ बाँचोस् तै पनि मुकाविला गर्छु  भन्ने छैन । मरिहाले देखी हुन्थ्यो भनेर । मलाई यस्ता प्रवृत्तिसँग केही भन्नु छैन । मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न भन्न चाहन्छु ।

आउँदो चुनाव टफ हुनेछ । अस्तित्व रक्षाको लडाई अहिलेदेखि नै सुरु गरे हुन्छ । यो मैले किन भनेको भनेँ, मरिहालोस् भनेर खुब प्रचार गर्या हुनाले फेरी निरास होलान् पछि भनेर । धेरै निरास नहुन् भनेर । अझै १५ वर्ष अखडामा हुन्छु । त्यसकारण पूजा अर्चना, प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ । ‘

केही दिन अघि सिंगापुर गएर स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका प्रधानमन्त्री ओली बिहीबार फेरि उपचारका लागि सिंगापुर जाँदै छन् ।

नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार