एकै स्थानमा दुई मनोरम झरना

नयाँ गन्तब्य

  सरलपाटी संवाददाता

 1946 पटक हेरिएको

इलाम। इलामको नयाँ पर्यटकीय गन्तब्य बनेको छ, दिदी बहिनी झरना ।
इलाम नगरपालिका वडा नं. ३ साविक पुवामझुवा गाउँ विकास समिति वडा नं. ७ र ८मा पर्नेे महविर खोलाका दुई झरनाले पर्यटकहरुलाई आकर्षण गर्न शुरु गरेको छ । नजिकैको दूरीमा मनमोहक दुई झरना छन् । तर, प्रचार प्रसारको अभावमा ओझेलमा बाहिरकाको त कुरै छोडौं जिल्लाभित्रका धेरैलाई थाहैं छैन । गएको आर्थिक वर्षमा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिले २० लाख लगानी गरेर पर्यटक हिड्ने रेलिङ्ग सहितको गोरेटो, गोल घर निर्माण गरेपछि यसले पर्यटकीय स्थलको पहिचान बनाउन शुरु गरेको छ ।
इलाम सरमुकामबाट करिब २० किलो मिटरको मेची राजमार्गको यात्रामा रक्सेको बाघखोर पुगिन्छ । उहाँबाट अढाई किलो मिटरको कच्ची सडकको यात्रा गरेपछि झरनाको छेवैमा पुग्न सकिन्छ । लेकाली हावापानीमा एकै स्थानमा दुई झरनाको दृष्यावलोकनले पर्यटकलाई रोमाञ्चित बनाउँछ । नजिकैको दूरीमा दुई झरना भएकैले दिदी बहिनी झरना नामाकरण गरिएको दिदीबहिनी झराना संरक्षण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर राई बताउँछन् ।
करीब ८० मिटरको उचाईको दुई झरनाहरु आफूलाई सुन्दर देखाउने प्रतिष्पर्धामा हतारोमा झरिरहेको जस्तो देखिन्छन् । चिसो मौसम, झरनाबाट हावासँगै मिसिएको पानीले दिने चिसोपनसँगै झरनाको नजिकैबाट यसको सौदर्य नियाल्नुको मजै बेग्लै हुन्छ । अझ यो बर्खायाममा त एकैछिन कुहिरोको पर्दामा दुव्ै झरना लुक्छन् । यतिबेला झरनाको छङ्ग छङ्ग नेपथ्यामा बजिरहेको मिठो संगीत भन्दा कम हुन्न । कुहिरोसँग लुकारी खेल्ने यि दिदी बहिनी झरनालाई नियाल्न आन्तरिक पर्यटकहरुको आगमन पनि शुरु भइसकेको छ । प्रचार प्रसार र आवश्यक पूर्वाधार विकासको अभावमा धेरैको घुम्ने सुचिमा दिदी बहिनी झरना अटाई सकेको छ छैन । तर, प्रचार–प्रसार हुने र त्यहाँसम्म पुग्ने सडक सुधार हुने हो भने लेकाली मौसममा दिदी बहिनी झरनाको सुन्दरतालाई नजिकबाट नियाल्न आउने भीड बढ्ने देखिन्छ । अझ झरना नजिकै स्थानीय अग्र्यानिक खापिन उपलब्ध गराउने हो भने रोजाईको गन्तब्य बन्न सक्छ । भरखरैदेखि लागेको संरक्षण समितिले यसलाई अझ मनमोहक बनाउने योजना बुनिरहेको छ । चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारले १५ लाख रुपैयाँ छुट्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार