ह्यात्रुङ झरनालाई केन्द्रमा राखेर फेदाप गाउँपालिकाले पर्यटन व्यवसाय प्रवर्द्धनको पहल थालेको छ । स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रको विकास गरी आम्दानीको स्रोत वृद्धि गर्न पूर्वाधार निर्माणमा गाउँपालिका जुटेको हो ।यसका लागि गाउँपालिकाले गत आवमा ५३ लाख रुपैयाँ बजेट छुट्याएर काम थालेको जनाएको छ ।
गाउँपालिकाले वडा नं १ देखि ५ सम्मका पर्यटकीय स्थलको पहिचान गरी सिङ्गो गाउँपालिकालाई पर्यटकीय बनाउन अध्ययन थालेको गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बताए । चालु आवमा पनि गत आवको तुलनामा थप रकम विनियोजन गरिएको उनको भनाइ छ । फेदापलाई जिल्लाकै नमुना पर्यटकीय गाउँपालिका बनाउन वडा स्तरबाटै पर्यटकीय स्थलको पहिचान थालिएको चोङवाङको भनाइ छ ।
वडा नम्बर ४ र ५ को सीमामा रहेको झरनाको पर्यटकीय विकासका लागि गाउँपालिकाले गत वर्ष २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यही झरनालाई केन्द्र भागमा राखेर अन्य ६ पर्यटकीय गन्तव्य समेत छनोट गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाभित्र रहेका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण गरी पर्यटकीय विकास गर्न अभियान नै सञ्चालन गरिएको प्रवक्ता नवीनले बताए । पर्यटन क्षेत्रको विकासबिना गाउँपालिकाको आर्थिक समृद्धि नहुने सोचेर पर्यटकीय पूर्वाधार निर्माणमा ठूलो रकम खर्च गरिएको उनले बताए । गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जात जाति र समुदायको संस्कृति, वेशभूषा, खानपान रहनसहन लगायत विषयलाई समेत पर्यटन प्रवर्द्धनसँग जोडिएको गाउँपालिकाले जनाएको छ ।
गाउँ बस्तीका सुन्दरता र संस्कृतिलाई पर्यटनसँग जोडदै घरवास कार्यक्रमको विकासमा समेत लागिएको अध्यक्ष चोङबाङको भनाइ छ । घरवासमा स्थानीय परिकारको स्वाद लिन पाइनुका साथै विभिन्न संस्कृतिको अवलोकन गर्ने व्यवस्था मिलाइने गाउँपालिको जनाएको छ ।
अध्यक्ष चोङबाङका अनुसार १, २ र ३ नम्बर वडा समेट्ने ओयाक्जुङ जलजले र सिम्लेको सीमामा रहेको चिचिलिङ पोखरी र भ्यागुते ढुंगा, सोही वडामा रहेको गुल्डुङ डाँडा, वडा नम्बर २ ओयाक्जुङमा रहेको मझौ गुफा र भैंसे पोखरी, वडा नम्बर ३ जलजलेमा रहेको माङगेनायक पदमार्ग, गाउँपालिका केन्द्र रहेको वडा नम्बर १ पोक्लाबाङ बजार केहीमाथि रहेको भगवती डाँडा मन्दिर क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्य छनोट गरिएको छ ।


537 पटक हेरिएको 






