ताप्लेजुङमा बिरामीको चाप, चिकित्सक आफैँ बिरामी !

ताप्लेजुङमा बिरामिको चाप ह्वात्तै बढेको छ । तीन दिनयता दैनिक सय जनाभन्दा बढीले जिल्ला अस्पतालको ओपिडिमा सेवा लिएका छन् । त्यसभन्दा अघिसम्म ५० जनाको हाराहारीमा बिरामी आउने गरेका थिए ।

दिउँसो २ बजेसम्म ओपिडिमा टिकट लिनेको लाइन थियो भने इमर्जेन्सीमा पनि धेरै बिरामिले उपचार गराएका छन् । दैनिक चार जना डाक्टरले बिरामीको उपचार गरिरहेका छन् । अस्पतालका प्रमुख डाक्टर सोनिम लामा आफैं पनि बिरामी परेका छन् । ज्वरोका कारण हिजोदेखि काम गर्नै नसकेको र आज रगत जाँच गराएको लामाले बताए ।

अहिले पानीको कारण धेरै बिरामी भएको डाक्टरहरुको बुझाइ छ । ‘अधिकांसमा ज्वरोको संक्रमण देखिएको छ, ज्वरोपछि टाइफाइटका बिरामी पनि धेरै छन’, डाक्टर लामाले भने, ‘पानी राम्ररी उमालेर मात्रै खानुपर्छ ।’ मौषम परिवर्त नहुँदा देखिने यस्तो समस्या सर्ने भएकाले सचेतना अपनाउनुपर्ने सुझाव चिकित्सकको छ । उमालेको पानी खाएर आराम गरे स्वास्थ्य लाभ हुने उनीहरु बताउँछन् । यतिबेला जिल्ला अस्पतालमा मात्रै नभएर गाउँका स्वाथ्य चौकीहरुमा पनि बिरामीको चाप उत्तिकै बढेको तथ्यांकले देखाएको छ ।

औषधि ढुवानीमा समस्या
यता जिल्ला स्वास्थ्य कार्यालयको गोदाममा औषधि त प्रसस्त छ, तर गोदामबा अस्पतालको बितरण केन्द्रसम्म ल्याउने जनशत्तिm नहुँदा समस्या भएको छ ।

अस्पतालका कार्यालय सहयोगी लगायतको जनशक्ति कर्मचारी समायोजनमा नगरपालिकातिर गएपछि र अस्पतालमा काम गर्ने जनशक्ति नभएपछि समस्या भएको स्टोरको जिम्मेवारी लिएका डम्वर श्रेष्ठ बताउँछन् ।

‘प्रदेशको आपूर्ति बिभागले पनि औषधि छ की छैन भनेर सोधेको थियो, संघ र स्थानीय स्तरमा हुनुपर्ने औषधि पनि छ’, श्रेष्ठले भने, ‘तर जनस्वास्थ्यको गोदामबाट अस्पतालसम्म ल्याउने जनशक्तिको अभावले ब्यवस्थापनमा कठिनाइ भएको छ ।’ निशुल्क औषधि दिने ठाउँमा मागेजति डाक्टरको सिफारिसअनुसार नपाएको गुनासो सेवाग्राहीको छ ।

सुलभ मुल्यको औषधि पसलमा भने खरिद प्रकृयामा समस्या भएकाले औषधि पर्याप्त गर्न नसकिएको श्रेष्ठ बताउँछन । उजुरी, मुद्दा मामिला जस्ता कारण समयमा खरिद गर्न नसकेकाले अस्पतालको फार्मेसीमा प्रसस्त हुन सकेको छैन श्रेष्ठले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार