नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ स्थापना गर्ने भएको छ ।
पत्रकारिताका माध्यमबाट आदिवासी जनजातिको क्षेत्रमा विशिष्ट योगदान गर्ने जिल्लाका एक जना आदिवासी जनजाति पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने गरी नगद १० हजार राशीको पुरस्कार स्थापना गर्न लागेको फोनिज इलामका अध्यक्ष राम योङहाङले जानकारी दिए ।
हरेक वर्ष २७ साउनमा फोनिजको स्थापना दिवसको अवसरमा सो पुरस्कार वितरण पुरस्कार व्यवस्थापनका लागि ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ कोष संचालन कार्यविधि निर्माण गरी कोष स्थापना गरिने अध्यक्ष योङहाङल बताए ।
त्यस्तै बैठकले फोनिजको २० औं स्थापना दिवसको अवसरमा २७ साउनमा इलाम सदरमुकाममा ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउने निर्णय गरेको छ । स्थापना दिवसका अवसरमा फोनिज इलाम शाखाका निवर्तमान सहसचिव तथा संघीय प्रतिनिधि दिलकुमार लिम्बूले लोकसेवा आयोग राप अनं प्रथम श्रेणीमा उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित सम्मान गर्ने भएको छ ।
त्यस्तै आगामी २९ र ३० गते उदयपुरको गाईघाटमा हुन लागेको फोनिज प्रदेश १ को प्रथम ऐतिहासिक अधिवेशनका लागि इलामबाट १० जना प्रतिनिधि चयन गरेको छ ।
फोनिजको प्रादेशिक अधिवेशन संचालन निर्देशिका २०७५ को २ (ग) मा भएको व्यवस्था बमोजिम लोकेन थेवे, मनीकुमार राई, वीरबहादुर पापो, तारावीर लिम्बू, कौशिला राई, सृजना श्रेष्ठ, सुनिता खालिङ राई, ज्ञानु केदेम लिम्बू, दीपक राई र स्पर्श अतित योङहाङलाई प्रादेशिक प्रतिनिधि चयन गरिएको फोनिज इलामले जनाएको छ ।
नयाँ बुलन्दबाट