काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा अवरोध उत्पन्न भएको छ । यसलाई प्राधिकरणले नियाजित भनेको छ ।
आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एण्ड एष्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्स्ट्रक्सन कम्पनीले काममा लगाए व्यक्तिहरुले निर्माण पाँच दिनदेखि अवरोध गरेका हुन् ।
प्रसारण लाइनको फिदिम (थापाटार)-अमरपुर (पाँचथर) तेस्रो खण्डमा पर्ने १३ किलोमीटर प्रसारण लाइनमा करिब दुई किलोमीटर मात्रै तार तान्न बाँकी छ । यो आयोजनाको लखनपुर -झापा)-गोदक (इलाम) पहिलो र सोयाक (इलाम)-फिदिम (पाँचथर) खण्ड संचालनमा आइसकेको छ । लखनपुर गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा छन् । तेस्रो खण्ड असारभित्रमा संचालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो ।
कोबेली करिडोर प्रसारण लाइनमा जोडिने जलविद्युत आयोजनाका प्रवर्द्धकले प्रसारण लाइनको आफैं पेटी ठेक्का लिएर नियोजित रुपमा निर्माणमा ढिलाइ गरिदिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘प्राधिकरणले प्रसारण लाइनको निर्माण सक्ने तर आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत् जोड्न नसकी जरिवाना (पेनाल्टी) तिर्नु पर्ने अवस्था आएपछि उनीहरुले नियोजित रुपमा काममा अवरोध गरेको देखिन्छ’,उनले भने, ‘बाहिर बाहिर प्राधिकरणले प्रसारण लाइन समयमा नबनाई दिँदा विजुली खेर जाने भयो भन्दै हल्ला गर्ने तर भित्र भने आफै पेटी ठेक्का लिने पेनाल्टीबाट बच्न नियोजित रुपमा काममा अवरोध गर्ने, योभन्दा ठूलो अराजकता अरु के हुन्छ ?’
पलाञ्चोक भगवती कन्ट्रक्सन रैराङ हाइड्रोपावर डेभलपमेन्टको आयोजना निर्देशक कुवेरमणी नेपालको कम्पनी हो । रैराङले पाँचथर र ताप्लेजुङको सीमानामा पर्ने इवाखोलामा ९.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको विद्युत कावेली करिडोर प्रसारण लाइनको तेस्रो खण्डको अमरपुर सबस्टेसनमा जोडिने छ । प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता -पीपीए) अनुसार आयोजनाले विद्युत् उत्पादन गर्नु पर्ने मिति (आरसिओडी अगामी १ साउनमा छ ।
यसैगरी, अमरपुर सबस्टेसनमै ताप्लेजुङमा अरुण काबेली पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजना जोडिने छ । प्राधिकरणसँग पीपीए अनुसार आयोजनाको आरसिओडी गत ९ वैशाख हो । अरुण कावेलीको अध्यक्ष गुरुप्रसाद न्यौपाने रैराङको पनि कार्यकारी निर्देशक हुन् ।
झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो ।
दुवै आयोजना निर्माण तत्काल सम्पन्न भएर नजोडिने भएपछि आफ्ैंले काम लगाएका व्यक्तिहरुलाई पैसा नदिएर तार तान्न अवरोध गरेको काबेली करिडोर प्रसारण आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए । उनले समस्या समाधानका लागि पहल भइरहेको उल्लेख गरे ।
पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि कावेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो ।
कावेली करिडोर प्रसारण लाइन निर्माण करिव १० वर्ष अघि सुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको हो ।
३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । साभार अनलाइनखबर


1103 पटक हेरिएको 






