तेह्रथुमको म्याङलुङ नगरपालिका–१ का बृखनारायण लिम्बूले ५४ वर्षको उमेरमा सिरिजंगा लिपि सिक्ने अवसर पाए। बाल्यकालदेखी नै लिम्बूभाषा बोल्दै आएका उनी लिपिबारे भने जानकार थिएनन्। ‘हाम्रो पनि लिपि हुन्छ भन्ने सुनेको थिएँ तर देखेको थिइनँ’, उनले भने, ‘आफूले बोल्ने भाषाको लिपि सिक्न पाउँदा खुसी लागेको छ।’
मातृभाषालाई प्राथमिकता दिन आवश्यक रहेकाले नगरपालिकाका लिम्बू समुदाय आफ्नो मातृभाषा तथा लिपि सिक्न थालेको उनले बताए।
मातृभाषालाई प्राथमिकता दिन आवश्यक रहेकाले नगरपालिकाका लिम्बू समुदाय आफ्नो मातृभाषा तथा लिपि सिक्न थालेको उनले बताए। खस भाषाको प्रभावले आफ्नो भाषा तथा लिपि हराउँदै गएकाले म्याङलुङका लिम्बू समुदाय सिरिजंगा लिपि सिक्न थालेका हुन्। प्राचीन सभ्यतादेखि नै अस्तित्वमा रहेको किरात सिरिजंगा लिपि पछिल्लो समय हराउन लागेकोमा लिम्बू समुदायका अगुवाले चिन्ता व्यक्त गरेका छन् ।
देशमा अनेक राजनीतिक परिवर्तन आए पनि भाषा तथा लिपि संरक्षणमा राज्यले ध्यान नदिएकाले किरात याक्थुङ चुम्लुङको अगुवाइ र पहलमा लिपि सिकाउन सुरु गरिएको हो । म्याङलुङ नगरपालिका–१ को सहयोगमा लिपि प्रशिक्षणमा किरात सिरिजंगा लिपिको स्वर वर्ण, व्यञ्जन वर्ण, व्याकरण, शब्दार्थ, गणितीय संख्यालगायत विभिन्न विषयमा प्रशिक्षण गराइएको चुम्लुङका अध्यक्ष गणेशकुमार सेनेहाङले जानकारी दिए।
‘आफ्नो भाषा र लिपि संरक्षणका लागी पहल गरिरहेका छौं। यसमा सरकारको साथ र सहयोग पनि आवश्यक छ’, उनले भने।
आफ्नो अस्तित्व र पहिचान झल्किने सिरीजंगा लिपि सिक्न पाउँदा सहभागी उत्साहित छन्। हरेक जातिको आफ्नै भाषा र लिपि भएकाले राज्यले यसको निरन्तरता दिने बारे नीति बनाउन आवश्यक रहेको सहभागी इक्सा लिम्बूले बताइन्। ‘प्रत्येक सामुदायिक विद्यालयमा ऐच्छिक विषयमा सिरिजंगा लिपिको पाठ्यपुस्तक समावेश गर्नुपर्छ’, उनले भनिन्।
स्थानीय सरकार सञ्चालन ऐनमा मातृभाषाबाट शिक्षा दिन र लिनका सोहीअनुसारको शैक्षिक सस्था खोल्न पाउने अधिकार उल्लेख छ। तर हालसम्म कार्यान्वयन नभएको चुम्लुङका सचिव तेजमान कन्दङबाले गुनासो गरे। ‘संघीयता आएपछि हाम्रो भाषा लिपि झन् धरापमा पर्दै गएको छ’, उनले भने, ‘आयातित भाषाले सिरिजंगा लिपिलाई विस्थापित गरेको छ।’ तेह्रथुममा लिम्बू समुदायको ४२ प्रतिशत जनसंख्या छ।
किरात सभ्यताअन्तर्गत आफ्नै भाषा, लिपि, संस्कार, संस्कृति बोकेको लिम्बू समुदायको तेह्रथुमका साथै पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, इलामलगायत जिल्लामा सघन बसोबास छ।