पाँचथर हत्याकाण्ड–भागेर बाँचेकी सीतालाई प्रदेश सरकारले पढाउने(अपडेट)

  सरलपाटी संवाददाता

 417 पटक हेरिएको

दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणका लागि एक नम्बर प्रदेश सरकारले जिम्मा लिएको छ ।
दमकको लाइफलाइन अस्पतालमा उपचाररत बालिकाको शिक्षा तथा पालनपोषण गर्नका लागि आज गाउँपालिकाका अध्यक्ष अमर माखिमको उपस्थितिमा बालिकालाई प्रदेश सरकारले जिम्मा लिएको हो । परिवारको स्वीकृतिमा बालिकालाई प्रदेश सरकारका प्रतिनिधिलाई जम्मा दिइएको गाउँपालिका अध्यक्ष माखिमले बताए  । बालिका बुझन प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोका स्वकीय–सचिव सुजन मङ्ग्राती, इटहरीस्थित शहिद स्मृति आवासीय विद्यालयका प्रधानाध्यापक शिवचन्द्र राईसहितको टोली अस्पताल आएको थियो ।
प्रहरीको निगरानीमा उपचाररत बालिकालाई कानूनी प्रक्रिया पूरा गरेर गाउँपालिकाका अध्यक्ष माखिमलाई बुझाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए । कक्षा ९ मा अध्ययनरत बालिकाको पठनपाठनलाई निरन्तरता दिन इटहरीस्थित शहिद स्मृति आवासीय विद्यालयमा भर्ना गरिने बताइएको छ । गत जेठ ६ गते भएको सामूहिक हत्याका घटनामा भागेर ज्यान जोगाएकी बालिकालाई घटनाको भोलिपल्ट उपचारका लागि दमक ल्याइएको थियो । दमक ल्याइएपछि बालिका खजुमको लाइफलाइन अस्पतालमा उपचार भइरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार