पाँचथर हत्याकाण्ड ः भागेर बाँचेकी सीता भन्छिन्,‘खुकुरी बोकेर मकैबारीमा खेदाए’

‘मलाई पनि झम्टिए,तर भाँगे’

  सरलपाटी संवाददाता

 1322 पटक हेरिएको

यहाँको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौजना सदस्यको सोमबार राति विभत्स हत्या भएको छ ।

ज्वाइँ धनराज सेर्मा र ससुरा बमबहादुर फ्याकका नौ सदस्यको विभत्स हत्या हुँदा एक किशोरीले भने भागेर ज्यान बचाएकी छन्। राति गहिरो निद्रामा परेका बमबहादुरका परिवारका अन्य सदस्यमाथि मास्क लगाएका व्यक्तिले खुकुरी बर्साएको देखेपछि आत्तिएकी १३ वर्षीया सीता खजुमले भागेर ज्यान बनाउन सफल भएकी हुन् ।   घरमा सुतिरहेका अन्य सदस्यको अनुहार र घाँटीमा खुकुरी बर्साएको देखेपछि आत्तिएकी उनी अध्याँरैमा भागेकी थिइन् ।

तर घरबाट ज्यान बचाउन भागेकी उनलाई पनि मास्क लगाएका हत्याराले लखेटेका थिए। स्थानीयबासी जयकुमार ढकालका अनुसार मध्यराति भएको यो घटनापछि भागेकी सीताले स्थानीय सुनकाजीको घरमा लुकेर ज्यान बचाएकी थिइन्। ‘मास्क लगाएका व्यक्तिले खुकुरीले काट्दै गरेको देखेपछि आत्तिएँ। म उठेको देखेपछि मलाई पनि काट्न झम्टिए’, सीताको भनाइ उधृत गर्दै ढकालले भने, ‘घरबाट निस्केर भागेपछि मकै बारीतिर कुँदे, तैपनि मलाई मास्क लगाएका ती मान्छेले लखेटिरहे।

तर ओरालोमा छिटो छिटो दौडिन सकेकाले मलाई नभेटेपछि ज्यान बचाउन सफल भएँ।’ बमबहादुरका परिवारमाथि खुकुरी बर्साउने एकजनालाई मात्रै आफूले देखेको जानकारी सीताले स्थानीयलाई दिएकी छन् । ‘मैले खुकुरी बोकेका एकजनालाई मात्रै देखेँ, उनले मास्कले अनुहार छोपेका थिए’, सीताले स्थानीयसँग भनेकी थिइन्, ‘मलाई पनि तिनैले लखेटेका थिए, तर गाउँकै एक घरमा लुकेर ज्यान बचाएँ।’

स्थानीयबासी जयकुमार ढकालका अनुसार भाग्ने क्रममा सीताको हात भाँचिएको छ । उनलाई बिहानै उद्धार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रविमा लगिएको छ।  यो घटनामा धनराज शेर्मा र बमबहादुर फ्याकका नौजना मारिएका छन् । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी दशमीबाट बिहान ४ बजे नै प्रहरी घटनास्थलमा आइपुगेको स्थानीयबासीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार