
पाँचथरको आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै झुण्डिएका युवक घटना भएको घरका ज्वाइँ भएको पुष्टि भएको छ ।
प्रहरीका अनुसार शव मानबहादुर माखिमको हो । उनी बृद्ध बमबहादुर फियाकका कान्छा ज्वाइँ भएको प्रहरीले पुष्टि गरेको हो । प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको थियो ।
गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा नौ जनाको विभत्स हत्या भएको थियो । अज्ञात समूहले बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारको हत्या गरेको हो ।
आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खजुमले हतियारधारी समूहले मकुन्डो लगाएर आएर हत्या गरेको प्रहरीसमक्ष बयान दिएको प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
सीताको दायाँ हात भाँच्चिएको र उनलाई थप उपचारका लागि फिदिम पुर्याइएको छ । प्रवक्ता पोखरेलका अनुसार हत्याको कारण खुल्न सकेको छैन । हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपी, प्रदेश प्रहरीको विशेष टोली, केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)का एसपी र तालिमप्राप्त कुकुरको टोली परिचालन गरिएको छ ।
पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको र तीन सय बढी प्रहरी परिचालन गरिएको प्रदेश नम्बर एक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए । हत्याको पछाडि पारिवारीक कारण हुनसक्ने आशंका गरिएको छ ।


1320 पटक हेरिएको 






