यसरी हुँदैछ इलाममा वैज्ञानिक वन ब्यवस्थापन

  सरलपाटी संवाददाता

 947 पटक हेरिएको


इलाम।इलामको दुई सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु भएको छ । इलाममा यो कार्यक्रम पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो । नयाँ तरिकाले वनको संक्षण, बनजन्य बस्तुको उत्पादन र वनको दिगो ब्यवस्थापनका लागि नयाँ कार्यक्रमको थालनी गरिएको बताइएको छ ।
माइनगरपालिका¬–५ को लाली गुराँस सामुदायिक वन र माई नगरपालिका–४ को सुखानी सामुदायिक वनमा वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम शुरु गरिएको हो । ती सामुदायिक वनमा भएका पुराना सालका रुखहरु कटान गरेर उत्पादन लिइने छ भने नयाँ विरुवालाई हुर्काउँन संरक्षणको काम गरिने डिभिजन वन कार्यालय इलामका सहायक बन अधिकृत यामबहादुर रुम्बाले जानकारी दिए ।
लाली गुराँस समुदायिक वनबाट यो वर्ष १६ रुख काटेर एक हजार तीन सय ४५ क्युविक फुट काठ निकालिने छ भने सुखानीबाट १९ वटा रुख काटेर तीन हजार ७२ क्युविक फुट काठ निकाल्ने काम भइरहेको छ । वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम अन्तर्गत १० वर्षमा लाली गुराँसबाट ३३ हजार छ सय ८० र सुखानीबाट ६८ हजार चार सय ८४ क्युविक काठ निकाल्ने कार्य योजना तयार पारिएको छ । वनबाट निकालिएको काठ उपभोग गर्न वन उपभोक्तालाई प्राथकितामा राख्नु पर्नेछ । बाँकी रहेको काठमा २५ प्रतिशत जिल्ला आपुर्ति समितिलाई छुट्याएर अरु काठ भने विक्री गरिने छ । जिल्ला आपुर्ति समितिलाई छुट्याएको काठ एक वर्षमा उपभोग नभएमा वन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई वितरण गर्न या विक्री गर्न सक्नेछ । सरकारले पहिलो वर्ष कार्यक्रम शुरु गर्नका लागि लाली गुराँस सामुदायिक वनलाई ४ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ भने सुखानीको लागि ८ लाख ४० हजार रुपैयाँ लगानी गरेको छ । अर्को वर्षबाट भने काठ विक्रीबाट भएको आम्दानीलेनै वैज्ञानिक वन व्यवस्थापन गर्नु पर्नेछ ।
चुरेमा १९ डिग्री भन्दाकम भिरालो जग्गा भएको वनमा मात्रै यो कार्यक्रम लागु हुने डिभिजन वन कार्यालय इलामले जनाएको छ । बढि भिरालो वनमा रुख कटान गर्दा भुक्षय हुने भएकाले भिलारो भूगोल रहेको चुरेको अन्य वनमा भने यो कार्यक्रम लागु नहुने सहायक वन अधिकृत रुम्बाले जानकारी दिए । यो प्रावधानले माइनगरपालिकाकै नमुना सामुदायिक वन बाहेक अरु वनमा वैज्ञानि वन ब्यवस्थापन कार्यक्रम सञ्चालन नहुने भएको छ । नमुनामा अर्को वर्षबाट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु गर्न डिभिजन वनकार्यालयले प्रस्ताव गरिसकेको छ ।
एउटा सामुदायिक वनलाई शुरुमा आठ ब्लकमा विभाजन गरिन्छ । प्रत्येक ब्लकमा १० वटा कटान क्षेत्र निर्धारण गरिन्छ । एउटा कटान क्षेत्रमा रहेका रुखहरु मध्ये राम्रो रुखलाई बीऊ रुखको रुपमा छुट्याइन्छ । बाङ्गगो, सुक्न थालेको रुखलाई काटेर निकालिन्छ । बाक्लो रुख भएको ठाउँमा काँटछाँट गरिन्छ । रुख निकालेपछि रुखका मसिना विरुवाहरुलाई जोगाएर झार बुट्यानहरु उखेलिन्छ । रुखका पातहरुलाई समेत एक ठाउँमा भेला गरेर मल बनाइन्छ । यसो गर्दा नयाँ विरुवाहरु राम्ररी बढ्ने प्राविधिकहरु बताउँछन् । यसरी वर्षेनी रुख कटान गर्दा दश वर्षमा मात्रै एउटा ब्लकको व्यवस्थापन भइसक्छ । पुरै सामुदायिक वन क्षेत्रको ब्यवस्थापनको चक्र पूरा हुन ८० वर्ष लाग्ने डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत गोपाल भट्टराईले जानकारी दिए ।

यसरी वनको ब्यवस्थापन गर्दा काठको माग धान्न सकिन्छ । स्वदेशमा उत्पादित गुणस्तरीय काठ पाइने भएपछि काठको परनिर्भता कम हुने सहायक वन अधिकृत रुम्बा बताँउछन् । ‘नेपालमा मलेसियाको साल आयात हुन्थ्यो, त्यो कमभएको छ’–उनले थपे–‘बजारमा काठको भाउ समेत घटेर स्थिर छ ।’ नेपालमा वनलाई बढि संरक्षणमुखी तरिकाले व्यवस्थापन गर्दा विदेशबाट काठ आयात हुने गरेको थियो भने वनको हैसियत समेत सुधार हुन सकेको थिएन ।
चुरे बाहेकको अन्य क्षेत्रमाभने उपभोक्ताबाट वैज्ञानिक वन व्यवस्थापनको मागनै आएको छैन । माग आए कार्यायोजना बनाएर कार्यक्रम शुरु गर्न सकिने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार