संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै इलाममा पनि पत्रकारले हातमा कालोपट्टि बाँधेर काम गरेका छन् ।
नेपाल पत्रकार महासंघले आह्वान गरेको आन्दोलनअनुसार हातमा कालोपट्टि बाँधेर पत्रकारहरू बुधबार इलाम सहित देशभरका पत्रकारले काम गरेका हुन् । सरकारले गत बिहीबार सदनमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक संविधानको मर्म र भावना अनुसार नभएको तथा सरोकारवाला पक्षसँग छलफल र सहमति वेगर नै ल्याइएको भन्दै पत्रकार आन्दोलनमा उत्रिएका हुन ्।
विधेयकमा कसैको मानमर्दन हुने गरी पत्रकारले समाचार लेखेमा १० लाखसम्म क्षतिपूर्ति भराउन सकिने उल्लेख भएकोमा पत्रकारहरुले त्यो सच्याउन विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् । सरकारले प्रेस काउन्सिलको सट्टामा मिडिया काउन्सिल बनाउन विधेयक ल्याएको हो। नौ सदस्यीय हुने उक्त मिडिया काउन्सिल सरकार नियन्त्रित संस्थाका रुपमा बनाउन लागेपछि पत्रकारहरु आन्दोलनमा छन् ।
इलाम सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगूले प्रेस काउन्सिललाई सरकारमातहतको कार्यालय बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले समाचार लेखेकै आधारमा पत्रकारले १० लाख सम्म जरिवाना तिर्नुपर्ने प्रावधान रहेको विधेयकलाई फिर्ता गर्न सरकारलाई अनुरोध गर्नुभएको थियो ।
मिडियालाई नियन्त्रण गर्न खोज्नु भनेको समग्र नागरिकको स्वतन्त्रतालाई नै बन्देज गर्नु भएकाले नागरिकलाई साथमा लिएर आन्दोलन शुरु गर्नुपर्ने केन्द्रीय सदस्य जवेगूले उल्लेख गर्नुभयो ।
उहाँले कार्यक्रम सफल पार्न सबै पत्रकारलाई आग्रह गर्दै आउँदो जेठ ३ गते पनि विधेयककै बिरुद्धमा विभिन्न कार्यक्रम रहेको जानकारी गराउनुभयो ।
प्त्रकार महासंघको कार्यक्रम अनुसार इलाममा पनि पत्रकारले कालोपट्टि लाएर प्रदर्शन गरे भने यसै विषयमा बहस र छलफल समेत चलाएका थिए । कार्यक्रमको सञ्चालन महासंघका सचिव ख्याम भुजेलले गर्नुभएको थियो ।