भारतको पश्चिमवंगालको दार्जिलिङमा भइहरने गोर्खाल्याण्ड आन्दोलन केही मत्थर भएपछि पशुपतिनगर भन्सार कार्यालयको राजश्व संकलनमा वृद्धि भएको छ ।
एक आर्थिक वर्षमा एक करोड ७४ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले चैत मसान्तसम्ममा एक करोड ९ लाख ४० हजार ६२१ रुपैयाँ राजश्व संकलन गरिसकेको भन्सार कार्यालयका नायव सुब्बा अचुतानन्द ढकालले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को नौ महिनामा ६२ लाख १२ हजार सात सय ४६ रुपैयाँ मात्रै राजश्व संकलन भएको थियो ।
सो आर्थिक वर्षमा पशुपतिनगर भन्सार कार्यालयले जम्मा ८४ लाख ६२ हजार ९९१ रुपैयाँ राजश्व संकलन गरेको थियो । चालु आवको नौ महिनामा अघिल्लो एक वर्षमा संकलन भएको राजश्व भन्दा २४ लाख ८३ हजार ६३० रुपैयाँ बढि राजश्व संकलन भइसकेको ढकालले बताए । ‘दार्जिलिङमा आन्दोलन हुँदा यो नाका प्राय ठप्पनै हुन्छ,’उनले भने,‘यो आर्थिक वर्षमा पारि आन्दोलन नभएकाले राजश्व संकलनमा बृद्धि भएको हो ।
अघिल्लो वर्ष गोर्खाल्याण्ड आन्दोलन चर्किदा करिव तीन महिना पशुपतिनगर नाका ठप्प भएको थियो । बाँकीको तीन महिनामा कार्यालयले लिएको राजश्व संकलनको लक्ष्य पुरा गर्न भने कठिन छ ।
असार मसान्त भित्रमा ६५ लाख ४६ हजार पाँच सयरुपैयाँ थप राजश्व संकलन गर्नुपर्छ । कार्यालयले अहिलेसम्म महिनाको सरदर १२ लाख १५ हजारका दरले राजश्व संकलन हुने गरेको छ । लक्ष्य पुरा गर्न बाँकीको रहेको तीनमहिनामा ३६ लाख ४४ हजार रुपैयाँ प्रतिमहिनाको दरले राजश्व संकलन गर्नुपर्नेछ ।


523 पटक हेरिएको 






