इलाम।नेपाल पत्रकार महासंघ इलाम शाखाले हरेक वर्षको वैशाख १ गते प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार यसवर्ष ताप्लेजुङका पत्रकार चन्द्र पन्दाकलाई प्रदान गरेको छ । पन्दाक गोरखापत्र दैनिकको ताप्लेजुङ संवाददाताका रूपमा कार्यरत छन् । स्वर्गीय पत्रकार आशिष राईको १७ औं स्मृति दिवसका अवसरमा १० हजार नगद राशीसहित सम्मान पत्र र दोसल्लाले पन्दाकलाई पुरस्कृत गरिएको थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगूको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले इलामको राजनीतिक, सामाजिक, प्रशासनिक अवस्था र सञ्चार क्षेत्रले खेलेको भूमिका अन्य जिल्लाको भन्दा फरक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय सदस्य जबेगूले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा धेरै चूनौती रहेको बताए । ‘पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक पाएको बैंक स्टेटमेन्ट पेस गर्दामात्र सूचना विभागको पास उपलब्ध हुने व्यवस्थाले साना मिडिया र त्यहाँ कार्यरत सञ्चारकर्मी समस्यामा छन्,’ उनले भने ‘पछिल्लो समयमा भएको राज्यको पुनर्संरचनाले गर्दा जिल्ला–जिल्लाका मिडिया स्रोत अभावमा बन्द हुने अवस्थामा समेत पुगेको छ । केन्द्रीय सदस्य जबेगूले अब मिडिया बचाउन लाग्नु पर्ने अवस्था रहेको बताए । उनले सञ्चारकर्मीले पनि विश्वसनीय ढंगको पत्रकारिता गर्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले इलामको पत्रकारिता अन्य जिल्लाको भन्दा फरक र मार्यादित भएकाले यसलाई टिकाइ राख्न सञ्चारकर्मीलाई सुझाव दिएका थिए । ‘यहाँको पत्रकारिता र राजनीति सौहार्दपूर्ण भएकाले बाहिरबाट आएर काम गर्ने कर्मचारीलाई पनि सहज भएको छ,’ प्रजिअ तिम्सिनाले भने ‘इलामले दिएको सन्देश अन्य जिल्लाका पुग्न जरूरी छ ।’
कार्यक्रममा प्रहरी प्रमुख माधवप्रसाद श्रेष्ठले पनि इलामको सञ्चार क्षेत्रको प्रशंसा गरेका थिए । ‘पत्रकारिता र पत्रकारका तर्फबाट हुने गरेका नराम्रा काम यहाँ छैन । देखेर पनि मत दङ्ग छु ।’ श्रेष्ठले भने । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ उपाध्यक्ष सोमनाथ सुसेलीले आशिष स्मृति पत्रकारिता पुरस्कारलाई प्रदेश स्तरीय बनाउन सुझाव दिएका थिए । कार्यक्रममा स्वर्गीय पत्रकार आशिषको बारेमा डा. देवी क्षेत्री दुलालले स्पष्ट पारेका थिए । कार्यक्रममा नेकपाका जिल्ला अध्इक्ष भक्त केसी, नेपाली कांग्रेसका मोहन विष्ट, इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठ, इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल, नेपाल प्रेस युनिनयनका इलाम अध्यक्ष विप्लब भट्टराई, प्रेस चौतारीका दिवाकर भण्डारी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष राजेश पराजुली, फोनिजका अध्यक्ष राम योङहाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा महासंघ इलाम अध्यक्ष कोकिला ढकालले यो वर्षदेखि आशिष स्मृति पुरस्कार कोषमा एक लाख रूपैयाँ रकम पु¥याइएको बताइन् । उनले महासंघले जिल्लाका पत्रकारहरूका लागि आपतकालिन अवस्थामा राहत प्रदान गर्न अर्को राहत कोष पनि स्थापना गरेको जानकारी दिइन् । घटना–दुर्घटनामा पर्दा शाखाका सदस्यहरूलाई थोरै भएपनि महासंघले सहयोग गर्न सकोस भन्ने उद्देश्यले राहतकोष स्थापना गरिएको र कोषमा रकम संकलन हुनेक्रम जारी रहेको बताइन् ।
आशिष स्मृति पत्रकारिता पुरस्कारबाट भने यसअघि सो पुरस्कारबाट बेनुपराज भट्टराई, सीता निरौला, रमेश समदर्शी, मोहनकाजी न्यौपाने, आनन्द गौतम, गणेश साङपाङ, भीम चापागाई, तोयानाथ भट्टराई, राजकुमार दाहाल, कोकिला ढकाल, राजकुमार दाहाल,नमिन ढकाल र गोविन्द लामिछानेलगायत पुरस्कृत भइसकेका छन् ।
२०५९ साल वैशाख १ गते माईखोलामा पौडी खेल्ने क्रममा निधन भएका इलामका स्वर्गीय पत्रकार आशिषको सम्झनामा महासंघ इलाम शाखाले हरेक वर्ष वैशाख १ गते साविक मेचीका एक क्रियाशील तथा उदयीमान पत्रकारलाई प्रदान गर्दै आएको छ । महासंघ इलाम शाखाले २०६२ सालमा स्वर्गीय राईको स्मृतिमा पुरस्कार कोष स्थापना गरेको थियो । ६० हजार रूपैयाँ राखिएको कोषमा योवर्षबाट एक लाख रूपैयाँ पु¥याइएको र यो पुरस्कारलाई आगामी वर्षदेखि प्रदेश १ स्तरीय बनाइने बताइएको छ ।