इलाम सदरमुकाम स्थापनाको दुई सय पुरा भएको अवसरमा ‘इलाम हाम्रो गौरव दुई सय वर्षमा हामी इलामेली’ नारा सहित आयोजित विविध कार्यक्रमको समापन गरिएको छ ।
इलाम नगरपालिकाले सदरमुकाम स्थापनाको दुई सय पुगेको अवसरमा वर्षदिनभरी विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको थियो । समापन समारोहमा नगरपालिकाका पूर्व प्रशासकिय अधिकृत महेन्द्र कुमार खाम्याहाङ्गलाई सम्मान गरिएको छ ।
नगरापालिकाको कार्यकारी अधिकृत र प्रमुख प्रशासकीय अधिकृत हुँदा इलाम नगरपालिकाको अवस्था सुदृढ बनाउन योगदान गरेको भन्दै बर्षगाँठको समापन समारोहमा उनलाई सम्मान गरिएको हो । खाम्याहाङ्ग हाल मेचीनगर नगरपालिकाको कार्यालयलयमा प्रमुृख प्रशासकिय अधिकृतको रुपमा कार्यरत छन् ।
समापन कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनालाई प्रसंसा पत्र प्रदान गरिएको छ । पुरातात्विक महत्वको इलाम दरवार इलाम नगरपालिकालाई हस्तान्तरण गर्नको लागि उल्लेखिय भूमिका निर्वाह गरेको भन्दै उनलाई प्रशंसा पत्र प्रदान गरिएको हो । कार्यक्रममा इलाम दरवारमा संग्रालय निर्माणको लागि इलाम नगरपालिकालाई हस्तान्तरण गर्ने जिल्ला प्रशासन कार्यालयको पत्र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतलाई हस्तान्तरण गरिएको थियो । समापन कार्यक्रममा इलामको सुम्बेकमा आयोजित निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा सहयोग गर्ने इलाम हाम्रो गैरव कार्यक्रममा सहभागी कलाकारलाई प्रसंसा पत्र प्रदान गरिएको थियो । इलाम नगरपालिका प्रमुख महेश बस्नेतको अध्यक्षता तथा प्रदेशसभा सदस्य राम रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश प्रसाद बराल, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना, राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका सभापति हिमालय कर्मचार्य र संघसंस्थाको तर्फबाट नेपाल पत्रकार महासंघ इलाम शाखा सचिव ख्याम भुजेलले मन्तब्य राखेका थिए ।
दुई सय वर्षगाँठको अन्तिम दिन पारेर शनिवार विहान भ्यु पोइन्ट लभडाँडा पार्कको शिलान्यास गरिएको छ । दुई सय वर्षगाँठको प्रतिक चिन्ह र इलाममा चिया रोपण शुरु गर्ने तत्कालिन बडाहाकिम गजराजसिंह थापाको शालिक सहितको पार्कको शिलान्यास गरिएको हो ।
एक करोड ४० लाख लागत अनुमान गरिएको पार्ककको नगरप्रमुख महेश बस्नेतले शिलान्यास गरेका हुन् ।
लागत सहभागीताको आधारमा पार्क निर्माण शुरु भइसकेको छ । यो आर्थिक वर्षमा १२ लाख ५० हजार रुपैयाँ बराबरको निर्माण काम भइरहेको छ । पार्कमा लभ सिम्बोल, सेल्फी पाइन्ट, सूर्योदय र सूर्यास्तको अवलोकन स्थान समेत निर्माण गरिने छ । पार्कको शिलान्यास गर्दै नगरप्रमुख बस्नेतले आफ्नै कार्यकालभित्र पार्क निर्माण पुरा गरिसक्ने प्रतिवद्धता जनाएका छन् ।
सदरमुकाम स्थापनाको दुई सय वर्ष पुरा गरेको अवसरमा इलाम महोत्सव, युवा महोत्सव, लगानी सम्मेलन, टिक्सपो, विभिन्न खेलकुद कार्यक्रम, स्वास्थ्य शिविर लगायतको कार्यक्रम गरिएको थियो ।
वर्षदिनभर आयोजित कार्यक्रमका गतिविधि समेटेर स्मारिका प्रकाशन गरिने नगरपालिकाले जनाएको छ ।