सरकारले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ आफैं नाप्ने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारमा आयोजित एक कार्यक्रममा सगरमाथाको उचाइ नाप्न जान लागेका नापी विभागका अधिकारीहरूलाई विदाइ गरेका छन्।
यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ समुन्द्र सतहदेखि ८ हजार ८ सय ४८ मिटर भएको बताएको थियो। सन् १९९९मा अमेरिकी टोलीले सगरमाथा उचाइ बढेर ८ हजार ८ सय ५० मिटर पुगेको देखाएको थियो।
‘२०७२ को भूकम्पपछि सगरमाथाको उचाइ के भयो होला भन्ने आमचासो छ। पहिला सरकारसँग प्रविधि र जनशक्ति थिएन,’ नापी विभागका प्रवक्ता दामोदर ढकालले भने, ‘अहिले हामीसँग प्रविधि र क्षमता भएकाले सगरमाथाको उचाइ नाप्न लागेका हौं।’
सगरमाथाको उचाइ नाप्न जाने टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्। उनीहरूको टोलीमा अन्य ट्रेकिङ गाइड पनि सहभागी हुनेछन्।
प्रवक्ता ढकालका अनुसार सगरमाथा नाप्न गौतम र कार्की सगरमाथाको चुचुरोमा पुग्नेछन्। गौतम यसअघि नै सगरमाथा आरोहण गरिसकेका छन्। उनी सन् २०११ मा सगरमाथा आरोहरण गरेको निजामती कर्मचारीको टोलीमा थिए। कार्कीले पनि आरोहण तालिम लिएका छन्।
सर्वेक्षक भण्डारी र धिताल भने बेस क्याम्पमा बसेर डाटाहरू संकलन गर्नेछन्।
सगरमाथाको उचाइ नाप्न चुचुरोमा जाने टोलीले आफूसँग एउटा मेसिन पनि लैजाने छ। ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसभर (जिएनएसएस) नामको उक्त मेसिनले सगरमाथाको चुचुरोमा स्याटेलाइटले पठाएका डाटाहरू संकलन गर्नेछ।
सगरमाथा मापनका लागि अमेरिकाको ट्रिम्बल कम्पनीले विशेष खालको जिएनएसएस रिसिभर सहयोग स्वरूप दिएको प्रवक्ता ढकालले जानकारी दिए।
‘मौसमले साथ दिएसम्म चुचुरोमा यो रिसभर केही घन्टा राख्ने योजना छ,’ ढकालले भने,‘पछि त्यो रिसिभरले समातेका डाटाहरू प्रशोधन गर्छौं।’
सगरमाथामा तापक्रम र आद्रता र गुरूत्वाकर्षणजस्ता मौसमी तथ्यांक पनि संकलन गरिनेछ।
सगरमाथाको उचाइ नाप्न विभागले समुन्द्र सतहदेखि उचाइ नाप्ने विधि पनि सुरू गरेको छ। त्यसअनुसार सिरहाको मडारदेखि सोलुखुम्बुको पतालेसम्मको मापन सकिएको छ।
त्रिकोणमतीय समतुलन भनिने यही विधिबाट सगरमाथामा चुचुरोमा पुग्न असम्भव भएकाले जिएनएसएस रिसिभर लिएर टुप्पोमा जान लागिएको हो।
‘भौगोलिक कारणले यो विधिबाट चुचुरोमा पुग्न सकिएन तर सगरमाथाको चुचुरोदेखि ४ वटा नजिकका टाकुरामा हामी मेसिन राख्छौं,’ प्रवक्ता ढकालले भने, ‘त्यहाँ राखिएका मेसिनले दिएका डाटा प्रशोधन गरेर ठ्याक्कै उचाइ पत्ता लगाउँछौं।’
आज प्रधानमन्त्रीले विदाइ गरेको टोली केही दिन आधार शिविरमा बस्नेछ। सामान्यत: सगरमाथा चढ्न मे महिनादेखि सुरू हुन्छ।
‘उहाँहरू मौसमले साथ दिनासाथ सगरमाथा चढ्नुहुन्छ। यही पालि सगरमाथा चढ्न सक्नुभयो भने डाटाहरूको विश्लेषण गरेर आगामी मंसिरसम्म सगरमाथाको उचाइ निकाल्ने विभागको योजना छ,’ ढकालले भने।