ती व्यक्तिले एकछिन बिराम लिएको मौका छोपेर एकजनाले सोधे, ‘कुन मिडिया हो ?’ तर जवाफ आएन । फेरि अर्कोले दोहो-याएर त्यही प्रश्न सोधेपछि जवाफ आयो– मिडिया होइन ‘फेसबुक लाइभ’ हो ।
यस्तो जबाफ सुनेपछि उत्सुक भएर जम्मा भएका अन्य खिन्न भएर आआफ्नो बाटो लागे । उनीहरु पनि बाहिरबाट क्षतिको दृष्य हेर्न आएका थिए । हुरीले विनाश गरेको भोलिपल्ट सोमबार बिहान आठ बजेतिरको दृष्य थियो यो । हुरी प्रभावित बस्तीमा मोबाइल भिडियोग्राफी, मोबाइल फोटोग्राफी र सेल्फी लिने र रमिता हेर्नेको लस्कर दिनहुँ जसो देखिन्छ ।
‘यहाँ त गढीमाईको मेलाजस्तै भएको छ,’ भरबलियाका बिक्की महतोले भने, ‘सीमापारी इन्डियाका मानिस दिनहुँ दर्जनौं ट्याक्टर र जिप चढेर आइरहेका छन् । यता पर्सा र उता रौतहटसम्मका मान्छे पनि आएका छन् । हामी पीडित गास, बास र कपास नपाएर हैरान छौं तर कसलाई भन्ने ?’ उनले अपेक्षा गरेजस्तो पीडितलाई राहत र थप पीडा नहुने खालका काम गरिदिने मानिसको कमी छ । याे समाचार रितेश त्रिपाठीले नागरिक दैनिकमा लेखेका छन् ।