इलाम। जिल्लाका ९१ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनबाट बञ्चित भएका छन् ।
७५ प्रतिशत हाजिरी नपुगेका तथा बीचैमा बिद्यालय छाडेका कारण परिक्षाका लागि आवेदन फारम भरेका मध्ये ९१ जना एसइईमा सहभागी हुनका लागि अयोग्य भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
इकाईका प्राविधिक सहायक अम्बिकाप्रसाद खनालका अनुसार विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण उनीहरू परीक्षा दिनबाट बञ्चित भएका हुन् ।
परीक्षा दिनबाट बञ्चित हुनेमा सबैभन्दा बढी सूर्योदय नगरपालिका र इलाम नगरपालिकाका बिभिन्न विद्यालयका रहेका छन् ।
चैत १० देखि १८ गतेसम्म हुने एसइई परीक्षाको तयारी जिल्लामा पूरा भएको छ । परीक्षाको लागि २३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जम्मा ४ हजार ७ सय ९२ जनाले आवेदन भरेकोमा ४ हजार ७ सय १ जना विद्यार्थीले परीक्षा दिँदैछन् । परीक्षामा यो वर्ष इलाम कारागारबाट दुईजना तथा प्राविधिकतर्फ ९७ जना र खुलाबाट ५५ जना बिद्यार्थीले सहभागिता जनाउने भएका छन् । यस्तै संस्कृत विद्यालयबाट १३ जना विद्यार्थीले परीक्षा दिने बताइएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट सुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।


983 पटक हेरिएको 






