
माइपोखरी आगलागी पीडितहरुलाई जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ र रेडक्रसले शुक्रबार राहत वितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आगलागी भएको घरका परिवारलाई १० हजारको दरले राहत वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले पीडित परिवारलाई रकम हस्तान्तरण गरेका थिए ।
यसरीनै इलाम उद्योग वाणिज्य संघले पनि पीडित परिवारलाई राहत दिएको छ । उद्योग वाणिज्य संघका सदस्य समेत रहेका निम दोर्जे शेर्पालाई १० हजार र अन्य चार परिवारलाई १० हजार वितरण गरिएको उद्योग वाणिज्य संघका सदस्य राजन दाहालले बताए ।
नेपाल रेडक्रम सोसाइटी इलामले पनि पीडितहरुलाई राहत सामग्री वितरण गरेको छ । रेडक्रसले पीडित सातै परिवारलाई त्रिपाल, भाडा वर्तनलगायतका सामग्रीहरु वितरण गरिएको थियो । तत्कालका लागि पीडितहरुलाई खान बस्नका लागि सन्दकपुर गाउँपालिकाले व्यवस्था गरेको थियो ।
विहीबार दिउँसो आगलागी हुँदा माइपोखरी अगाडि रहेका चार घर जलेरका थिए । आगलागीबाट तीन करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । चार घर जल्दा सो घरमा बसेका सात परिवारको विचल्ली भएको छ । आगलागीमा निमदोर्जे शेर्पा, कमल मुखिया, चक्र मुखिया, र लाक्पा शेर्पाको घर जलेर नष्ट भएको हो । यसरीनै कमल मुखियाको घरमा रहेको मिङ्मा दिक्की शेपाको पसलसमेत जलेर थियो ।
आगलागी पीडितहरु अहिले नजिकैको माइपोखरी सूचना केन्द्र, वनस्पतिको कार्यालय र मन्दिर परिसरमा बरिहेका छन् ।


1216 पटक हेरिएको 






