माइपोखरी आगलागीमा चार घर जल्दा तीन करोडको क्षति

  सरलपाटी सम्वाददाता

 1059 पटक हेरिएको

इलाम । सन्दकपुर गाउँपालिका वडा नं. २ माइपोखरीअगाडि रहेका चार घरमाम आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको छ । एक करोड ४० लाख बराबरको गरगहना, नगद, होटल तथा पसलका सरसामान र एक करोड ६० लाख बराबरको भौतिक संरचना नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । माइपोखरी अगाडि रहेका सबै (चारै वटा) घर जलेका हुन् ।
आगलागीमा चार घर जलेर नष्ट भएका छन् । चारै घरमा होटल र पसल सञ्चालन गरिएको थियो ।
आगलागीमा निमदोर्जे शेर्पा, कमल मुखिया, चक्र मुखिया, र लाक्पा शेर्पाको घर जलेर नष्ट भएको हो । यसरीनै कमल मुखियाको घरमा रहेको मिङ्मा दिक्की शेपाको पसलसमेत जलेर नष्ट भएको छ ।
आगलागीबाट चक्र मुखियाको ४० लाखको मालसामान, २० तोला सुन, ४० तोला चाँदी र १० लाख नगद जलेको प्रारम्भिक अनुमान गरिएको छ । यसरीनै कमल मुखियाको १० लाख बराबरको धनमाल, नगद २० लाख, एक तोला सुन र ५ तोला चाँदी जलेर नष्ट भएको छ । निम दोर्जे शेर्पाको ३५ लाख बराबरको धनमाल छ तोला सुन र नगद तीन लाख रुपैयाँ जलेर नष्ट भएको छ । यसरीनै लाम्पा शेर्पाको ३५ लाख बराबरको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । यसरीनै मिङ्मा दिक्की शेर्पाको छ लाख बराबरको पसलको सामान, ५० हजार नगद र दुई तोला सुन जलेर नष्ट भएको बताइएको छ । र, सबै घरहरु जलेर नष्ट भएकाले डेढ करोड क्षति भएको अनुमान गरिएको छ ।
आगलागी पीडितहरुलाई अहिले नजिकैको माइपोखरी सूचना केन्द्र, वनस्पतिको कार्यालय र मन्दिर परिसरमा राखिएको छ । तत्कालका लागि पीडितहरुलाई खान बस्नका लागि सन्दकपुर गाउँपालिकाले व्यवस्था गरेको गाउँपालिका अध्यक्ष उदय राईले बताए ।
आगलागी भएको ४५ मिनेटमा चारै वटा घर जलेर नष्ट भएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
चक्र मुखियाको घरको भान्साबाट आगो फैलिएको स्थानीयले बताएका छन् । सबै काठको घर भएकाले आगलागी तीब्र भएको थियो । इलाम नगरपालिकाबाट दमकल गएपनि दमकल पुग्दा घरहरु जलिसकेका थिए । आगो नजिकैको जंगलमा फैलन सक्ने संभावना भएकाले सुरक्षाकर्मी र स्थानीयले रुख ढाल्ने र आगो निभाउने काम गरेका थिए । विहीबार साँझसम्म जलेको घरको आगो जंगलमा फैलन नदिनका लागि आगो निभाउने काम भइरहेको अध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार