
काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले ंिहसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताएका छन् ।
नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग मंगलबार बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका छन् ।
“कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर के का लागि वार्ता गर्ने ?उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्” प्रधानमन्त्री ओलीले भने, “जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग के को वार्ता ?उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।”
प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताए । कम्युनिष्टले त यूवाहरुलाई कर्मठ र कर्मशिल हुन सिकाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “कम्युनिष्टले त यूवाहरुलाई कर्मशिल हुन,सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनु पर्ने हो” प्रधानमन्त्री ओलीले भने “यहाँ त कम्यूनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।”
प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटप्रति दुःख व्यक्त गरेका छन् । यस घटनाको बारेमा सरकारले छानविन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता गरेका छन् ।


563 पटक हेरिएको 






