अलविदा युवराज, तिम्रो वैकुण्ठवास होस्

  धर्म गाैतम

 1653 पटक हेरिएको


सम्झनामा यति धेरै कुरा छन् ती सबैलाई भन्न यहाँ ठाउँ छैन । त्योभन्दा पनि मुख्य समस्या यस बेला ती भन्ने कुराको थालनी कहाँबाट गरौं भन्ने छ । सम्झनाको यस्तो उकुसमुकुस मलाई विरलै भएको होला, हुनसक्छ यस्तो भएको यो पहिलो पटक हो ।
इलाम सदरमुकाममा सञ्चालित संस्थागत विद्यालयमध्येको एउटा जुविलेण्ट इलाइट एकाडेमीले आप्mनो स्थापनाको एक दशक पूरा गरेको अवसरमा प्रकाशित गरेको म्यागेजिनको लोकार्पण समारोहको उल्लासमय वातावरणमा रमाइरहेका बेला ठूलो छोरो नेमिषले काठमाडौंबाट बिस्तारो गरी भन्यो– पर्यटन मन्त्रीलाई लिएर ताप्लेजुङ्ग गएको हेलिकोप्टर दुर्घटनामा प¥यो । त्यसमा प्रधमानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल पनि रहेको जानकारी दिएको छ । युवराज अंकल नै होला ।
मैले थप केही सोध्न सकिन न त उसले नै अरु केही भन्यो । सँगै रहेका नगरप्रमुख लगायतलाई दुःखद समाचार सुनाएँ । अरु आधा घण्टाजसोमा कार्यक्रम समापन भयो र पुनः नेमिषलाई फोन गरेर समाचार यकिन गर्न चाहें । उसले भन्यो सबै मिडियामा आइसक्या छ । दुर्घटनाग्रस्त हेलिकोप्टर भेटिसकियो ।…. भनेपछि अब बाँकी केही रहेन बुभ्mनु पर्ने ।
नेपालको राजनीतिमा विश्वसनीय र भरपर्दा नेताको अनिकाल लागेका बेला उदीयमान थोरै युवामध्येका एक रबीन्द्र अधिकारीको दुःखद निधन मुलुककै लागि ठूलो क्षति हो । यद्यपि पछिल्लो समय अन्य नेता भनाउँदाहरुलाई लाग्ने रोगको संक्रमण उनीमा पनि देखिएको समाचारहरु नआएका होइनन् तर त्यसको पुष्टि हुन बाँकी नै थियो । यसबारेमा चर्चा गर्ने बेला होइन यो । उनको आत्माले चीर शान्ति पावस् ! त्यस्तै त्यस दुर्घटनामा परेका अरु सज्जनको पनि बैकुण्ठवास होस् ।
तर त्यस दुःखद घटनामा परेका युवराज दहालका बारेमा भन्नु पर्ने धेरै कुरा छन् । युवराज दहालसँग मेरो पहिलो भेट वा परिचय कहिले भयो मेरो सम्झनामा छैन । उनी तीन–चार बर्ष इलाम बसे होलान् इलाम नगरपालिकाको कार्यकारी अधिकृतका रुपमा । त्यस समयमा जननिर्वाचित प्रतिनिधि नभएकाले नगरपालिकाका प्रमुखको जिम्मेवारी पनि उनकै काँधमा थियो । र, उनले आप्mनो त्यो कार्यकालमा आपूmलाई एउटा कर्मचारीका रुपमा भन्दा पनि जनप्रतिनिधिका रुपमा आपूmलाई प्रस्तुत गरे । जनताका प्रतिनिधिले गर्नु पर्ने जसरी काम गरे । नेताहरु दलीय पक्षधरतालाई प्राथमिकतामा राख्छन्, त्यसले कतै कतै अन्याय पनि पर्न जान्छ तर युवराजलाई त्यसो गर्नु थिएन । उनले सबै नगरवासीसँग समान व्यवहार गरे । त्यसैले, लाग्छ यस बेला उनको निधन प्रत्येक नगरवासीको मनमा खिल भएर पसेको छ ।
इलाम ठूला नेता भएको जिल्लाका रुपमा देशभर कहलिएको छ तर जिल्लावासी आप्mना नेताले जिल्लाको विकासमा खासै योगदान गरे भनेर उल्लेख गर्न चाहँदैनन् । यस्तो अवस्थामा कार्यकारी अधिकृतका रुपमा रहेर युवराजले इलाम नगरपालिकालाई जुन नेतृत्व दिए, जसरी विकास निर्माणका काम गरे त्यसलाई भोलि कसैले उछिन्ला भनेर सहजरुपमा चाहिँ भन्न सकिन्न ।
अहिले नेपाल मात्रै होइन विश्व नै प्लास्टिकजन्य फोहोरबाट आक्रान्त छ । त्यसको दिगो व्यवस्थापन विश्व समस्या हो । नेपालजस्तो अल्पविकसित मुलुकमा त्यो समस्या नहुने कुरै भएन । त्यसैले प्लास्टिकको उपयोगलाई निरुत्साहित गर्न इलामले निकै अघिदेखि प्रयास गर्दै आएको थियो । युवराजले त्यस अभियानको नेतृत्व लिए र नगरमा प्लास्टिकका झोलाको प्रयोगमा प्रतिवन्ध लाग्यो । त्यसको उपयोग दण्डनीय गरियो । सफलतापूर्वक यसो गर्ने इलाम नेपालकै पहिलो नगरपालिका भयो ।
यो यस्तो कार्य भयो जसलाई सबै इलामेले अपनत्व लिएका छन् । त्यसैले यो सफल भएको छ । तर यो सफलता प्राप्तिको पृष्ठभूमिमा धेरै कुरा छन् जसको यावत जानकारी थोरै मानिसलाई होला । त्यसको कारण हो युवराज मानिसलाई अग्रसर गराएर आपूm काम गर्थे रंगमञ्चका निर्देशकले जस्तो । दर्शकले त तत्काल कलाकारलाई नै देख्छ । सफलता वा असफलता उसैको हुन्छ । त्यहाँ निर्देशक हराउँछ । तर त्यो सफलताको चर्चा चल्न थालेपछि निर्देशकको भूमिका पनि खुल्न थाल्छ । त्यस्तै भएको थियो इलाममा । जनपरिचालनमा दक्ष थिए युवराज ।
सिम–एन परियोजना इलामका प्रमुख प्रोज्ज्वल राहुत, नामसालिङ सामुदायिक विकास केन्द्रका प्रवेश चापागाईं, युवराज दाहाल र यो पंक्तिकारले धेरै दिनका धेरै घण्टा इलामलाई कसरी प्लास्टिक मुक्त गराउने भन्ने बिषयमा छलफल गरेर बिताएको छ । यसको अर्थ यस अभियानमा अरु थिएनन् भन्ने होइन तर रणनीति बनाउने, कार्यक्रम तय गर्ने जस्ता काममा हामी चार भाइले धेरै समय दिएका छौं । आप्mना दैनिक नियमित कामबाट फुर्सद हुनासाथ युवराजजीले खबर गर्थे र जुट्थ्यौं । कहिले त राति समेत बस्थ्यौं । नगरपालिकाका अतिरिक्त कहिले सिम–एनको कार्यालयमा र कहिले नासाविकेमा । आप्mनै घरको काम जसरी लिन्थे यी अभियानलाई युवराजजी ।
प्लास्टिकमा प्रतिवन्ध लगाउने कुरामा सबैको सहमति जुट्यो र रक्से घोषणा पत्रका रुपमा त्यो आयो । समाजका सबै पक्षको प्रतिनिधिमूलक सम्मति छ त्यसमा । तर पनि केही मानिसहरु भनिरहेका थिए– ठीक छ, राम्रो भयो तर मानिसलाई विकल्प खोइ दिएको ? मासु जस्ता सौदा केमा थाप्ने ? सधैं झोला बोकेर हिँड्न त साध्य हुँदै न नि । आदि आदि । आखिर छिद्रान्वेषी जतासुकै हुन्छन् ।
विकल्पका कुरा पनि आए– कसैले कागजको कुरा गरे, कसैले पात टपराका, कसैले चोयाका सामग्रीका कुरा ल्याए, कसैले कपडाको झोलाका । विकल्प त ती माथिका सबै हुन्थे होला तर प्रश्न व्यवस्थापनसँग जोडिन्थ्यो । घुमाउरो पाराले ती सामग्री नगरपालिकाले उपलब्ध गराउनु पर्छ भन्ने आशय देखिन्थ्यो जो सम्भव थिएन ।
चार भाइको भेलामा एक दिन मैले प्रस्ताव राखें, सिलिगुडी इलामभन्दा सय गुण ठूलो होला । त्यहाँ प्लास्टिक प्रतिवन्धित छ र त्यसले सफलता पाएको छ भने त्यहाँ गएर किन नहेर्ने त्यहाँका विकल्पहरु । भोलिपल्टै हामी सिलिगुडि नगरपालिका कार्यालय पुग्यौं ।
त्यहाँ कुरा हुँदा त्यहाँका एक जिम्मेवार मानिसले उल्टै प्रश्न गरे, इलाममा प्लास्टिकमाथि प्रतिवन्ध कसले लगाउने हो ? मैले उनको आशय पहिल्याउँदै भनें, नगरपालिकाले अर्थात् समुदायले । उनले भने, हो त्यसो भए तपाईंहरु किन विकल्प खोज्दै हुनुहुन्छ ? समुदायलाई नै छाड्दिनुहोस् । नगरपालिकाले आप्mनो कानुनको कार्यान्वयन कडाइका साथ गरे पुगिजान्छ । मलाई उनको कुरा घतमा गयो ।
त्यसपछि ती सज्जनले सिलिगुडी नगरपालिकाले गरेका वैकल्पिक उपायहरुका बारेमा पनि हामीलाई जानकारी दिए । महिला समूहमार्पmत तिनले एक प्रकारको झोला बजारमा ल्याएका रहेछन् । त्यो नमुना झोला पनि हामीले लिएर आयौं । त्यो आज इलामे झोला नामले परिचित छ । भलै त्यो पनि एक प्रकारको प्लास्टिक नै हो तर त्यो पुनः प्रयोग हुन सक्छ । पुनः प्रयोग प्लास्टिक व्यवस्थापनको महत्वपूर्ण पक्ष हो ।
त्यसरी सिलिगुडी जाँदा बाटोमा पर्ने मतिगाडा भन्ने ठाउँको एउटा नर्सरीमा हाम्रा आँखा परे । फिर्दा त्यहाँ निस्केर केही पूmलका बिरुवा लिने सल्लाह भयो । फिरेर हामी त्यहाँ आइपुग्दा साँझ झमक्क हुन लागेको थियो । नर्सरीभित्र पस्दा चारैतिर हरियाली मात्रै । भन्यौं– कस्तो ग्रिनरीमा आइयो । हाम्रो ठाउँलाई यस्तै बनाउ पाए हुन्थ्यो । अनि फु¥यो ग्रिन सिटीको कुरा । यता आएर गुगल हेरियो । थप जानकारी भयो । केही काम भए । इलामले आपूmलाई नेपालमा पहिलो ग्रीन सिटी घोषणा ग¥यो । यसको पनि नेतृत्व युवराज दाहालले गरे ।
निर्माणाधीन तर लथालिङ्ग अवस्थामा रहेको गौतम बुद्ध सभा गृहलाई तयार गरेर सञ्चालनमा ल्याउने, फाल्गुनन्द सुकिलुम्वा विमानस्थलको थालनी गर्ने, शीत भण्डार निर्माण गर्ने, भलै त्यो अहिले सञ्चालनमा आएको छैन र सहजरुपमा भन्न सकिन्छ युवराज भएका भए सञ्चालनमा ल्याइसक्ने थिए, जस्ता पूर्वाधार निर्माणको कामको नेतृत्व युवराजले नै गरेका थिए ।
इलामलाई पर्यटकीय नगरी बनाउनु पर्नेमा उनको जोड थियो । त्यसैले उनले चियाबारीमा रेलिङ लगाउने, पोखरी बनाउने र भिउटावर निर्माण गर्ने कार्य गरे । तीन चार बर्षको अवधिमा उनले नेतृत्व गरेर सम्पन्न गरेका यी काम इलामको सन्दर्भमा चानचुने होइनन् । प्लास्टिकमाथिको प्रतिवन्ध त युगान्तकारी काम हो । त्यसैले युग युगसम्म युवराजलाई इलामेले सम्झिरहने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार