एकपटक राजा महेन्द्रले प्रधानमन्त्री बिपी कोइरालालाई सोधेका थिए, “तपाईको महत्वकांक्षा के छ ?” बिपीले जवाफ दिए, “तिन पटक चुनाव जिते भने १५ वर्ष भित्र म सबै नेपालीलाई म जस्तै मध्यम परिवारको बनाउन सक्छु ।” हरेक परिवारमा एउटा दुहुनो गाई होस्, स्वस्थ खान पाउन् लाउन पुगोस्, छोराछोरीले पढ्न पाउन् । बिपीले आफ्नो जस्तो मध्यम वर्गको परिवारलाई आदर्श परिवार मानेका थिए । गरिबका लागि योजना बनाउनुपर्नेमा जोड दिँदै उनले योजना आयोगमा राजाको तस्बिरसँगै गरिब किसानको तस्बिर राख्न लगाए । त्यसको अर्थ धनीको आवश्यक्ता हेरेर योजना बनाउने होइन, हुँदा खाने गरिबलाई केन्द्रमा राखेर योजना बनाउनुपर्छ भन्ने थियो । अर्थात देशको पहिलो जननिर्वाचीत प्रधानमन्त्रीले हरेक जनतालाई समान बनाउन चाहान्थे । हरेक नेपालीको जिवनस्तर उकास्न र समान बनाउन चाहान्थे प्रधानमन्त्री बिपी कोइराला । बिपी नेपालको प्रधानमन्त्री भएको आज ६० वर्ष पुरा भइसकेको छ तर पनि नेपाल बिपीले देख्ने गरेको नेपाल भन्दा फरक छैन । बिपीले आफ्नो कार्यकालमा के कति काम गरे त्यो इतिहासले नै देखाइसकेको छ । प्रधानमन्त्रीको सपथग्रहण गरेको दिन देखि नै राजाको विरोध खेप्दाखेप्दै पनि बिपीले एउटा सुन्दर नेपाल निर्माण गर्ने आफ्नो क्षमता र चाहना कहिल्यै बिर्सेनन् । बिपीले सोचे जस्तै १५ वर्ष त उनले समय पाएनन् तर बिपी पछिका अन्य प्रधानमन्त्रीहरुले बिपीले भन्दा धेरै समय पाएका थिए तर उनीहरुले बिपीले जति काम त गरेनन् नै, बिपीले जति सोच्न पनि सकेनन् । यदि बिपी पछिका प्रधानमन्त्रीहरुले पनि उनले जतिकै सोचिदिएको भए आज नेपाल गरिब दाजुभाइहरुको नेपाल हुने थिएन, नेपालमा कुनै केटाकेटीले अशिक्षित हुनुपर्ने थिएन र उपचारको अभावमा सामान्य बिरामले नेपालीहरु मर्नुपर्ने थिएन ।
नेपालमा राणा शासनको अन्त्य भएको ८ वर्षपछि राजाको सहयोगबिना निर्वाचित सरकार चल्नै नसक्ने प्रावधान राखेर राजा महेन्द्रले नेपाल अधिराज्यको संविधान २०१५ जारी गरेपछि मात्र बिपी नेपालको प्रधानमन्त्री बन्न पाएका थिए । अर्थात प्रधानमन्त्रीको त्यो समयको कार्यकाल निकै चुनौतीपूर्ण थियो । आज देशमा गणतन्त्र घोषणा भएको १० वर्ष पछि निर्वाचनबाट निर्वाचित प्रतिनिधीहरु सरकारको नेतृत्वमा छन् । सामन्तवादको प्रतिक मानिएको राजालाई हटाएर एउटा सामान्य जनता राष्ट्राध्यक्षको रुपमा छ नेपालमा, तर नेपाल अझै बदलिएको छैन । बिपीले हाँस्न नपाएकाको ओठमा हाँसो आओस् भनेका थिए सायद त्यही भएर होला नेपालका प्रधानमन्त्रीले जनतालाई हसाउन कुनै कसर बाकी राख्दैनन् । अवसर पाउनसाथ जनतालाई हसाइहाल्छन् हाम्रा प्रधानमन्त्री । प्रधानमन्त्री घरघरमा ग्यास पाइप लाइन पुर्याउछू भन्दै हरेक दिन भन्नुहुन्छ तर उहाँलाई काठमाण्डौँ बाहिर पनि नेपालीहरु बस्छन् र कति नेपाली त घरबार बिहिन नै भएका छन् भन्ने थाहा नभएको हो कि जस्तो लाग्छ । होइन भने प्रधानमन्त्रीले पुर्याएको ती ग्यासका पाइपलाइन घरबार बिहिन भएर बसेका नेपालीले कहाँ जडान गर्छन् त ? त्यस्तै प्रधानमन्त्री ५ वर्ष भित्र नेपाल रेलमय बनाउने र काठमाण्डौँमा चुच्चो रेल कुदाउने सपना सुनाउदै हुनुन्छ । उहाँलाई सायद थाहा छैन होला नेपालका गाउँ गाउँमा अहिले रेल कुद्न थालिसके भनेर । हो, अहिले नेपालको गाउँ गाउँमा रेल कुद्छन् तर उहाँले भन्ने गरे जस्तो चुच्चो रेल भने होइन । शहरमा कुद्ने बस जब गाउँको बाटोमा जान्छन् ति रेलमा परिणत हुन्छन् । गाउँका हिलाम्मे बाटोमा फसेका बसहरुलाई लामा लामा डोरीमार्फत तान्दै लैजानुपर्छ यात्रीहरुले र त्यही यात्रीले तानेर हिडाउनुपर्ने बसहरु हुन् गाउँका रेलहरु । नेपाललाई ५ वर्ष भित्र रेलमय बनाउन आवश्यक छ वा सडकमय बनाउन आवश्यक छ त्यो सायद नेताहरुलाई नै थाहा छ । त्यस्तै प्रधानमन्त्रीको अर्को योजना छ दश हजार मेघावट बिजुली उत्पादन । दश हजार मेघावट बिजुली उत्पादन गर्न पक्कै पनि प्रशस्त मात्रामा जलश्रोत हुनुपर्छ । नेपाल जलश्रोतको धनी देश त भनिन्छ तर नेपाललाई कसरी जलश्रोतको धनि देश भन्ने जबकी नेपालीहरुलाई पिउने पानी कै समस्या छ भने ? प्रधानमन्त्रीले दश हजार मेघावट बिजुली उत्पादन गर्दैगर्दा धेरै नेपाली शुद्ध पिउने पानीकै अभावमा छन् । प्रधानमन्त्रीको सुरुको दायित्व शुद्ध पिउने पानी उपलब्ध गराउनु हुनुपर्ने हो या बिजुली त्यो पनि भावि प्रधानमन्त्रीलाई नै थाहा होला ।
केही वर्षअघिको विनाशकारी भुकम्प र त्यसपछिको भारतिय नाकाबन्दीको कारण थलिएका नेपाली जनता अझै राम्रो सँग उठ्न पाएका छैनन् । धेरै नेपाली जनता घरबार बिहिन भएका छन् । आज सम्ममा पनि सरकारले ती पिडित जनताको लागी केही राम्रो प्रवन्ध गर्न सकेन मात्र आश्वासन बाड्ने काम गयो । देशमा भुकम्पले हाहाकार मच्चाएको समयमा संविधान आएपछि त सरकारले केही गर्ला भनेर जनताले धेरै अपेक्षा गरेका थिए तर सरकारले जनतालाई केही पनि दिएन । अझै पनि नेपाली जनताले राहत महसुस गर्न पाएका छैनन् तर प्रधानमन्त्री भने चुच्चो रेल, हावा बाट बिजुली र ग्यास पाइप लाइन कै अभियानमा हुनुहुन्छ । भुकम्प पिडित जनता एकातिर भोकले छटपटाइ रहेका छन् तर देशमा रमाइलो विकासको चर्चा छ । त्यस्तै नेपालको अहिलेको आवश्यक्ता ५ वर्षमा रेलमय नेपाल हो या सडकमय नेपाल हो त्यो सोच्नुपर्ने बेला आएको छ । एक वर्षमा दश हजार मेघावट बिजुली या एक वर्षमा हरेक नेपालीलाई शुद्ध पिउने पानी ? आजको आवश्यक्ता के हो ? शैक्षीक प्रमाणपत्र भएकालाई ऋण या रोजगार आजको आवश्यक्ता के हो ? अनी फेरी आजको जस्तै प्रमाणपत्र मात्र दिने शिक्षा या भविष्यमा सरकारी ऋणको आवश्यक्ता नपर्ने शिक्षा आजको आवश्यक्ता हो, सोच्ने र त्यस अनुसार योजना तर्जुमा गर्ने भन्ने प्रधानमन्त्रीले सोच्न आवश्यक छ ।
बिपी कोइराला भन्ने गर्थे, “हामीले योजना तर्जुमा गर्दा दुरदराजका गाउँमा बस्ने गरिब जनतालाई हेरेर काम गर्नुपर्छ” तर आजका प्रधानमन्त्री काठमाण्डौलाई हेरेर ग्यास पाइप लाइन र चुच्चो रेलको कुरा गर्दैहुनुन्छ । अर्कोतर्फ बिपीले प्रधानमन्त्री भएपछि राज्यको आर्थिक अवस्थालाई हेरेर प्रधानमन्त्री र मन्त्रीहरुकै तलब कटौती गर्दै मितव्ययिताको सन्देश दिएका थिए तर वर्तमानका प्रधानमन्त्रीले पत्रिका पढ्न र चियापान गर्नैमा मात्र करोडौँ खर्च गरिसकेका छन् । त्यस्तै प्रधानमन्त्री बिपी भन्ने गर्थे, “हाम्रो देशमा १०० मध्ये ९० जति मानिस गरिब छन् । कुटोकोदालो गरेर बस्छन्, जसलाई खान लाउन पुग्दैन । जब म नेपालको कल्पना गर्छु, त्यति बेला ती गरिब दाजुभाइहरुको तस्बिर मेरो अगाडी आउँछ । मैला लुगा लगाएका, खान नपाएका र रोगी अनुहारको तस्बिर । अनि मलाई लाग्छ– यी रोगी, खान नपाएका अनुहार पो हाम्रो देश हो । त्यसो हुनाले खान नपाएकाको पेटमा अन्न जाओस्, हाँस्न नपाएकाको ओठमा हाँसो आओस्, रोगीले औषधिमूलो पाओस्, केटाकेटीले पढ्न पाऊन् भनेर नै हामी राजनीतिमा लागेका हौँ । मन्त्री हौँला, ठूला आरामदायी कुर्सीमा बसौँला भनेर राजनीतिमा लागेका होइनौँ ।” त्यतीबेलाको आवश्यक्ता अनुसार प्रधानमन्त्री बिपीले खान नपाएकाको पेटमा अन्न जाओस्, रोगीले औषधिमुलो पाओस्, केटाकेटीले पढ्न पाउन् भन्ने चाहना राख्नु आवश्यक नै थियो । जनताको लागी सोच्ने प्रधानमन्त्रीले सर्वप्रथम सोच्ने कुराहरु यिनै हुनुपथ्र्यो । प्रधानमन्त्री बिपीले जुन नेपालको कल्पना गर्थे त्यो नेपाल अहिले पनि कायमै छ । अर्थात मैला लुगा लगाएका, खान नपाएका र रोगी अनुहारको नेपाल । अहिले पनि नेपाल फेरीएको छैन तर प्रधानमन्त्री भने धेरै फेरीएकाछन् नेपालमा ।
राजाको पञ्चायतकालिन व्यवस्थालाई व्यङ्ग गर्दै नेता गणेशमान सिहंले भन्ने गर्थे, “हाम्रो उत्तरमा एउटा यस्तो विशाल देश छ जहा जनताहरुले प्रशस्त खान पाउछन् तर बोल्न पाउदैनन् र हाम्रो दक्षिणमा एउटा यस्तो विशाल देश छ जहा जनताहरुले प्रशस्त बोल्न पाउछन् तर खान पाउदैनन् । यी दुइवटा विशाल देशहरुको बिचमा हाम्रो नेपाल एउटा यस्तो अचम्मको देश छ जहा जनताहरुले खान पनि पाउदैनन् र बोल्न पनि पाउदैनन् ।” नेता गणेशमानले भने जस्तै नेपाल अहिले पनि त्यस्तै नै छ । तसर्थ प्रधानमन्त्रीले र सरकारले नेपालको अहिलेको आवश्यक्तामा आधारीत लक्ष्य र योजना लिनुपर्छ नत्र भने उखान टुक्काका ज्ञाता प्रधानमन्त्रीको सरकारको काम कामकुरो एकातिर कुम्लो बोकी ठीमी तिर भने जस्तै नै हुनेछ ।