इलाम अस्पतालमा प्रसुति कक्ष सञ्चालमा

  सरलपाटी संवाददाता

 805 पटक हेरिएको

इलाम/इलाम अस्पतालले बिहीबारदेखि अलग्गै प्रसुति कक्ष सञ्चालनमा ल्याएको छ । प्रसुति कक्षको जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष गणेश बरालले उद्घाटन गरेका छन् ।
सो अवसरमा अध्यक्ष बरालले गर्भवती महिलाहरूलाई इलाम अस्पतालमा प्रसुति गराउन अझ सहज हुने बताए । ‘सर्वसाधारणको स्वास्थ्य प्रति अस्पताल विकास समिति सचेत रहेको छ, बरालले भने ‘अस्पतालको थप सेवा विस्तार र सर्वसाधारणको सुविधाका निम्ति पहल गरिरहेका छौं ।’ तीन वर्षअघि ५० शय्यामा स्तरोन्नति भएपनि जनशक्ति अभावले अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको थिएन ।
अझ १६ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा दरबन्दी अनुसारका विषेशज्ञको व्यवस्थापनका निम्ति पनि अस्पताल विकास समितिले पहल गरिरहेको बरालले जानकारी दिए । कार्यक्रममा इलाम नगर प्रमुख महेश बस्नेतले इलाम अस्पतालले शुरू गरेको प्रसुति कक्षले गर्भवती महिलाको गोपनीयताको हक र बच्चाको स्वतन्त्र जन्मन पाउने अधिकारको रक्षा गरेको बताए । इलाम नगरपालिका नवजात शिशु र आमाको स्वास्थ्यप्रति गम्भीर रहेको भन्दै उनले नगरपालिकाले ल्याएको नवजात शिशुको स्याहारका लागि पाँच हजार रूपैयाँ सम्मको सहयोग कार्यक्रमले स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्न थालेको बताए ।
‘मातृशिशु कार्यक्रमका बारेमा सुन्दा हावामा उडाए,’ बस्नेतले भने ‘यथार्थमा अहिले यो कार्यक्रमको सकारात्मक कदम त्यसबखत कसैले बुझेनन् अहिले कार्यक्रम सञ्चालनमा आएपछि सबै नवजात शिशु र प्रसुति भएका आमाहरूको स्वास्थ्य र पोषणका निम्ति निकै महत्वपूर्ण भूमिका खेलेको छ ।’ बस्नेतले इलाम अस्पताललाई थप व्यवस्थित गरि सेवा प्रवाह गर्न इलाम नगरपालिकाले सधैं सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । उनले इलाममा सम्भाव्यता अध्ययन भइसकेको मेडिकल कलेजकालागि पनि जग्गा व्यवस्थापन गर्न नगरपालिकाले कार्यदल गठन गरेर काम शुरू गरेको जानकारी दिए ।
अस्पतालले गर्भवतीको शल्यक्रिया कक्षमा सहित १३ वेड प्रसुतिका लागि सञ्चालनमा ल्याएको अस्पतालकी सुचना अधिकारी रिता अधिकारीले बताइन । अस्पताल विकास समितिले तीन जना र इलाम नगरपालिकाले दुई जना कर्मचारी थप गरिदिएपछि बाँकी कर्मचारी लोकसेवाबाट आएका कर्मचारीलाई व्यवस्थापन गरि प्रसुतिकक्ष सञ्चालनमा ल्याइएको अधिकारीले जानकारी दिएकी छन् । अलग्गै प्रसुतिकक्ष सञ्चालनमा अवसरमा सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखा प्रदेश १ का प्रमुख मधुसुधन कोइराला, डिभिजन स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख सागर दाहाल, इलाम अस्पताल प्रमुख डाक्टर पवनजंग रायमाझीलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार