इलाम/मावन निर्मित सवैभन्दा ठूलो पर्यटकीय पोखरी जमुनाको चन्द्रपाल थेवे सिमसार धापमा महोत्सव हुने भएको छ । चैतको २४ गतेबाट सात दिने महोत्सव आयोजना गरिने भएको हो । महोत्सव आयोजनाको लागि वडाध्यक्ष जीतबहादुर साँवाको अध्यक्षमा एक सय एक सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । जमुनामा रहेकोका अन्य पर्यटकीय क्षेत्रको समेत प्रचार प्रचारका लागि महोत्सवको आयोजना गरिएको वडाअध्यक्ष जीतबहादुर साँवाले बताए । महोत्सवका लागि २० लाख रुपैयाँ खर्च हुन अनुमान छ । त्यसको श्रोत जुटाउन आयोजक लागेको छ ।
सात दिन चल्ने महोत्सवमा ‘फिसिङ्गÕ को व्यवस्था गरिने भएको छ । पोखरीमा पालिएको साढे सात हजार माछा निकाल्न योग्य भइसकेका छन् । ती माछा महोत्सवको पुग्ने पर्यटकको इच्छाअनुसार निकाल्न र खाने व्यवस्था मिलाइने महोत्सव आयोजक समितिका सचिव विप्लव भट्टराइले बताए । ‘कसैले माछा निकालेर खान चाए पोखरीबाट आफैले माछा निकालेर खाने व्यवस्था मिलाउँछौÕ–भट्टराई भन्छन्–‘यसले महोत्सवमा पर्यटकलाई थप रमाइलो मिल्छ भन्ने आशा छ ।Õ पोखरीमा दुई वर्ष अघिदेखिनै माछा पालिएको छ । महोत्सवमा स्थानीय जात जातिका परिकार र झाकीहरु र सास्कृतिक कार्यक्रमको आयोजना हुने छ । महोत्सवको बेला विभिन्न किसिमका रमाइलो खेलका सामग्रीहरुको समेत व्यस्था हुने आयोजक बताउँछन् । धाप पोखरीसंगै हागेथाम, रेडपाण्डा पाइने चोयाटार र जैवारीमा लगायतका ठाउँहरुमा समेत घुमघामको व्यवस्था गरिनेछ । त्यहाँ पुग्ने पर्यटकलाई बस्नका लागि होमस्टेको व्यवस्था गरिने छ । सहज यातायातको लागि सडकको समेत सुधार भइरहेको छ ।
२०७२ वैशाख एक गतेबाट पर्यटकीय पोखरी निर्माण थालिएको थियो । त्यसअघि त्यहाँ सिममात्रै थियो । सिममा धानको ब्याड राख्ने बाहेक अन्य उत्पादन लगाइदैनथ्यो । सिम रहेको जग्गा प्राय बाँझै रहन्थ्यो । स्थानीयको प्रयासमा त्यहाँ पोखरी निर्माण शुरु भएको १५ दिनमानै पोखरीको आकार लिएको थियो । पोखरी निर्माणमा स्थानीयको सक्रियता पनि विभिन्न सरकारी निकायले त्यसमा सहयोग गरे । शुरुमा जमुना गाउँ विकास समितिले २५ हजार रुपैयाँ पोखरी निर्माणमा दिएको थियो । त्यसपछि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिले आठ लाख, भू संरक्षण कार्यालयले दुई सय ३५ थान जालि, निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत दश लाख, जमुना गाउँ विकास समितिले तीन लाख, जिविस एक लाख र खानेपानी सरसफाई डिभिजनबाट दश लाख रुपैयाँ पोखरी निर्माणमा लागेको । पोखरी निर्माणको लागि मात्रै स्थानीय दश लाख बराबरको श्रम गरिसकेका छन् । २१५ मिटर लम्बाइ र एक सय मिटर चौडा रहेको पोखरीमा ०७४ कात्तिक एक गतेबाट ढुङ्गा सयरको समेत व्यवस्था छ । पोखरी भित्रै सेल्फी लिने ठाउँ निर्माणाधिन छ । पोखरी आसपासमा गोलघर बनाउने, आगन्तुकका लागि सौचालय बनाउने काम बाँकी नै छ । श्रोतको अभावमा त्यस्ता संरचना निर्माणमा ढिलाइ भएको हो । धाप पोखरी पछिल्लो सयम नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भइरहेको छ ।