इलाम।दुई साताअघि इलाम अस्पतालमा सत्याग्रहमा रहेका डा.गोविन्द केसीलाई गत चिकित्सकले आइसियु (इन्टेन्सिभ केयर युनिट)मा राख्न सुझाव दिए । तर, इलाममा यो सुविधा नभएपछि उनलाई नर्मल स्लाइन र अक्सिजन दिएर राख्नुप¥यो ।
डा.केसीको थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोली बोलाइयो । उपचार पनि गरियो । तर, आइसियुमा राख्नुपर्ने बिरामीलाई एन्टिबायोटिक र स्लाइनका भरमा धेरै दिन राख्न असम्भव भएपछि उनलाई रातारात काठमाडौं लगियो । इलाम मात्र होइन, सिंगो साविक मेची अञ्चलकै सरकारी अस्पताल आइसियु सुविधा भरपर्दाे नहुँदा सर्वसाधारणले दुःख पाएका छन् ।
सरकारी अस्पतालहरूमा पर्याप्त सेवा–सुविधा नपाउँदा यो क्षेत्रका सर्वसाधारणले सधैं सास्ती खेप्नुपरिरहेको छ । पहाडी भेगका अस्पतालबाट धेरैजसो बिरामी रेफर गरिन्छन् भने तराईमा पूर्वाधार भएर पनि जनशक्ति नहुँदा नागरिकले उपचारका लागि अन्यत्र धाउनुपरेको छ ।
पूर्वाधार भएका अस्पतालमा जनशक्ति र जनशक्ति भएका अस्पतालमा पूर्वाधार अभाव छ । कतिपय अस्पतालमा उपकरण छन्, जनशक्ति छैन भने कतिपयमा पूर्वाधार पर्याप्त भएपनि विशेषज्ञ चिकित्सककै दरबन्दी खाली छ । यहाँका सरकारी अस्पतालहरूमा औषधि र निःशुल्क औषधि पर्याप्त नहुनु सधैंको समस्या बन्ने गरेको छ । सरकारले दिएको स्वास्थ्य बिमाको सुविधा लिन पनि झन्झट बेहोर्नुपरिरहेको सेवाग्राहीको गुनासो छ । सरकारी अस्पतालहरूमा सेवा नपाएपछि ताप्लेजुङदेखि पाँचथर र इलाम हुँदै झापासम्मका बिरामी महँगो खर्च गरेर निजी अस्पताल धाउन बाध्य छन् । उपचार गराउन पूर्वी जिल्लाका सर्वसाधारण झापा, विराटनगर, धरान र काठमाडौंका मात्र नभई भारतका सिलिगुडी, बेङ्लोर, दार्जिलिङ, कोलकाता र नयाँदिल्लीसम्मका सहरसम्म पुग्न बाध्य छन् ।
मेची क्षेत्रभरमा झापास्थित १ सय ३४ शड्ढयाको साविक मेची अञ्चल अस्पतालमा मात्रै आइसियु सुविधा उपलब्ध छ । मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पीताम्बर ठाकुरले आवश्यक चिकित्सक नभएकाले आइसियु सेवा दिन समस्या परिरहेको बताए । अस्पतालमा ४ शैड्ढयाको आइसियु सेवा छ । ‘आइसियु सुविधा लिन आवश्यक हुने बिरामीको संख्या धेरै हुन्छ तर २२ विशेषज्ञको दरबन्दीमा १० वटा खाली भएकाले आएका बिरामीलाई पनि सेवा दिन समस्या भइरहेको छ,’ उनले भने ।
मेची अस्पतालमा ओपिडी, एक्स–रे, भिडियो एक्स–रे, डेन्टल, आकस्मिक, इसिजीलगायतका सेवा–सुविधा छन् । नाक–कान–घाँटी, मनोरोग, बालरोग, प्याथोलोजी, सर्जनलगायतको दरबन्दी खाली हुँदा चाहेअनुसारको सेवा दिन नसकेको ठाकुर स्वीकार्छन् । ‘औषधि पनि यो वर्ष आएको छैन । अस्पतालका कतिपय सेवा भएर पनि सर्वसाधारणसम्म पु¥याउन सकेका छैनौं,’ उनले भने, ‘मुख्य आवश्यकता चाहिँ डाक्टरको दरबन्दी पूरा नहुनु नै हो ।’
अञ्चल अस्पतालकै यो अवस्था हुँदा बाँकी ३ पहाडी जिल्लाका अस्पतालको स्थिति अझ दयनीय छ । ५० शड्ढयाको इलाम जिल्ला अस्पतालमा ९ विशेषज्ञसहित १६ चिकित्सकको दरबन्दी छ । तर, अहिले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाहेक अन्य दरबन्दी खाली छन् । हाडजोर्नी र जनरल शल्यक्रियाका चिकित्सक करारमा कार्यरत छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पवनजंग रायमाझीले आइसियु, सिसियुलगायत सेवा दिन छुट्टै चिकित्सक आवश्यक पर्ने भएकाले यहाँ उपकरणसमेत नभएको बताए । ‘दक्ष स्वास्थ्यकर्मी नभएपछि उपकरण हुने त कुरै भएन, भएर पनि चलाउने अवस्था रहँदैन,’ उनले भने, ‘इलाममा आइसियु र सिसियु अत्यन्त आवश्यक छ, पहाडी र हिमाली जिल्लामा हुनुपर्ने हो तर छैन ।’
डा.रायमाझीले आइसियु र सिसियुको सुविधा दिनुपरे तत्काल बिरामी रेफर गर्नुपर्ने अवस्था रहेको बताए । ‘हामीले विशेषज्ञ डाक्टरको दरबन्दी पूरा होस् भनेर विभागमा पत्राचार गरेका छौं,’ उनले भने, ‘दक्ष चिकित्सकको दरबन्दी पूरा हुँदा आइसियु र सिसियुको सुविधा दिन समस्या पर्दैन ।’
१५ शड्ढयाको पाँचथर जिल्ला अस्पतालले अहिले ३५ शड्ढया चलाइरहेको छ । गर्मी महिनामा चापाचाप हुने अस्पतालमा जाडो महिनामा आएका बिरामीमध्ये पनि धेरैलाई रेफर गर्नुपरेको अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा.बुद्धिबहादुर थापाले जटिल खालका बिरामीलाई अन्यत्र रेफर गर्नुको विकल्प नभएको बताए । ‘जिल्ला अस्पतालमा जटिलखाले बिरामको उपचार हुँदैन,’ उनले भने, ‘चिकित्सकको दरबन्दी पनि एउटा मात्रै भएकाले जनशक्तिले भ्याउँदैन ।’ उनले अस्पतालमा औषधि अभाव रहेको बताए । ‘पोहोरकै औषधिले चलिरहेको छ, यो साल औषधि खरिद हुन पाएको छैन ।’
पाँचथर सदरमुकाम फिदिममा ५० शड्ढयाको अस्पताल बनाउन जिल्लास्तरबाट स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरिएको छ । ९ विशेषज्ञको दरबन्दीसहित गरिएको प्रस्तावअनुसार अस्पतालले स्वीकृति पाए भौतिक पूर्वाधार समस्या नहुने उनले जनाए । ‘अस्पताललाई नयाँ भवन बन्दैछ, ५० शड्ढयाको स्वीकृत भएर दरबन्दी तथा उपकरण आए यहाँका सर्वसाधारणले घरनजिकै उपचार सुविधा पाउनेछन्,’ उनले भने ।
१५ शड्ढयाको ताप्लेजुङ जिल्ला अस्पताल र झापाको दमकस्थित १५ शड्ढयाकै सरकारी अस्पतालको पनि अवस्था उस्तै छ । ‘कतै चिकित्सक छन्, उपकरण र पूर्वाधार छैन, कतै पूर्वाधार छ चिकित्सक र औषधि छैन,’ मेची अस्पतालका ठाकुर भन्छन्, ‘दरबन्दी पदपूर्ति, उपकरण र भौतिक पूर्वाधार भए पूर्वका धेरै सर्वसाधारणले उपचारका लागि टाढा धाउनुपर्ने थिएन ।’