दारको रूखका टुक्रा । त्यस टुक्रालाई आकर्षक रूपमा कुदँन सिपालु हुनुहुन्छ, मोरङ शनिश्चरे नगरपालिका–८ का गंगा रसाइली । आजभोली उहाँलाई ठेकी बनाउन भ्याईनभ्याई छ । दारको रूखबाट आकर्षक रूपमा ठेकी बनाउने रसाईलीलाई आजभोली ठेकी बनाउन भ्याईनभ्याई छ । आफ्नो जन्मथलो छाडेर इलाम फाकफोकथुम गाउँपालिका–३ आमचोकलाई कर्मथलो बनाएका रसाईलीले ठेकी कुँदेको स्थलमा पुग्दा जो कोहीलाई पनि हेरिरहँु जस्तो लाग्छ ।
काठको मुढालाई पहिले सामान्य रूपमा तासिन्छ । तासिएको मुढालाई मेसिनमा हालेर कुँद्न थालिन्छ । करिब आधा घण्टा एक घण्टामा सामान्य खालको ठेकी तयार हुन्छ । रसाइलीले ठेकी बनाउन थाल्नुभएको तीन वर्ष पुग्यो । ‘मैंले ठेकी बनाउन सुरू गरेको तीन वर्ष भयो, म घरबाट पहिलो पटक आमचोक आएको हुँ,’ रसाईलीले भने,े ‘हातमा सीप छ भने पैसा कमाउन विदेशनै जानुपर्छ भन्ने छैन् । सिजनमा ठेकी बनाएर मात्र तीन चार लाख कमाउँछु ।’
सुरूमा ७० हजारमा पमसिट मेशिन खरिद गरेर व्यवसाय थाल्नुभएका उहाँले सबै खर्च कटाएर राम्रो आम्दानी गरेको सुनाउनुभयो । तीन वर्षको अवधिमा करिब दुई हजार वटा ठेकी, हर्पे, तोङ्बा, डम्वरूलगायतका सामग्री बनाउनुभएको उहाँले बताए । ‘दैनिक चार देखि पाँच वटासम्म ठेकी तयार गर्छु, ठूला ठेकी बनाउन धेरै समय लाग्छ,’ उने भने, ‘गाउँघरमा दारको ठेकी धेरै रूचाउने भएकाले यसको माग उच्च छ ।’
उहाँले ठेकी कुँद्न तालिम भने लिएका होइन् । अरूले बनाएको देखेर पनि आफूले सिकेको उनी बताउँछन् । गर्दा केही काम पनि असम्भव भन्ने छैन्, उनी भन्छन्, ‘हातमा सीप छ भने दुई चार पैसा कमाउन विदेशिनु पर्दैन् ।’
उनले ठेकीको मात्रा हेरी ज्याला लिन्छन् । एक कुरूवाको एक सय २० रूपैयाँ ज्याला तिर्नुपर्छ । मेशिनलाई लाग्ने डिजेल पनि उनी आफैंनै खरिद गर्छन् ।
रसाइलीलाई ठेकी बनाउन आमचोकका इन्द्रप्रसाद अधिकारीले आमचोक बोलाएका हुन् । अधिकारीले दारको रूख खरिद गरेर ल्याउँछन् । ठेकी बनाउने रसाइलीलाई अधिकारीले खाना र बस्नको राम्रो प्रबन्ध मिलाई दिएका छन् । करिब डेढ महिनाको अवधिमा एक सय ५० वटा ठेकी तयार भईसकेका छन् । यहाँ बनाइएका ठेकी स्थानीयस्तरमा साथै झापाको विर्तामोडसम्म विक्री गरिंदै आएको ठेकी उद्योगी इन्द्र अधिकारी बताउन्छन् । उनले गतवर्ष पनि ठेकी बनाउन झापाबाट चँदरालाई यहाँ बोलाएका थियो । ठेकी विक्री गरेर अधिकारीले एकै सिजनमा करिब एक लाख रूपैयाँ आम्दानी गरिसकेका छन् । ग्रामीण भेगमा पशुपालन गर्ने कृषक र दुध खरिद गरेर खानेले पनि ठेकी खरिद गरिरहेको अधिकारी बताउँछन् । एकसाता अघि मात्र आमचोकमा सम्पन्न एकीकृत घुम्ती शिविरमा आउने कर्मचारीले एकैपटक २० वटा भन्दा बढी ठेकी खरिद गरेको अधिकारी बताउँछन् । दारको ठेकीमा जमाएको दही पिउँदा विभिन्न खालका रोग समेत निको हुने विश्वासले मानिसले दारको ठेकीनै खोजेर किन्ने गरेको अधिकारी बताउन्छन् । सामान्य खालको छाती पोल्ने, पेट पोल्नेलगायतका बिराम निको हुने स्थानीयबासिन्दा धनपति घिमिरेको भनाई छ ।