
सधैं खानेपानीको समस्या झेल्दै आएको इलाम सदरमुकाममा निर्माण हुने भनिएको शहरी खानेपानी आयोजनाको काम शुरू हुन लागेको छ ।
खानेपानी विभाग, नगरविकास कोष र उपभोक्ता समितिको सोमबार सम्पन्न बैठकले ठेक्का आह्वान गर्दा परेका योजना प्रस्तावको छनौट गरेको छ । योजना प्रस्ताव पेश गर्ने छ वटा कम्पनी मध्ये रमन कन्ट्रक्सन र चाइना जोयन भेन्चरलाई छनौट गरिएको उपभोक्ता समिति अध्यक्ष केदार थापाले जानकारी दिए ।
‘बैठकले छनौट गरेका कम्पनी र उनीहरूका योजनालाई मुख्य दातृ निकाय एशियाली विकास बैंक ‘एडीबी’ को केन्द्रीय कार्यालय मनिलामा विभागले पठाउने तयारी गरेको छ’ थापाले भने ‘ केन्द्रीय कार्यालयबाट साता–दशदिन भित्र योजना प्रस्ताव स्वीकृत भएर आउँछ, त्यसपछि यहाँका थप प्रक्रिया अघि बढ्ने छन् । मनिलाबाट स्वीकृत भएपछिमात्र विभागले आसयको सूचना निकालेर ठेक्केदार कम्पनीसँग आयोजना निर्माणको सम्झौता गर्नेछ ।
कूल ७२ करोड रूपैयाँको टेन्डर आह्वान गरिएकोमा २० प्रतिशत ‘बिलो’ मा परेका प्रस्तावलाई विभागले छनौट गरेको बुझिएको छ । ८४ करोड ७९ लाख १८ हजार छ सय १५ रूपैयाँ कूल लागत रहेको आयोजनाका लागि उपभोक्ता समितिले चार करोड १८ लाख ४० हजार रूपैयाँ जम्मा गरेको थियो । यसमध्ये तीन करोड रूपैयाँ उपभोक्ता समितिले निर्णय गरेर बैंकको मुद्धती खातामा राखिएको अध्यक्ष थापाले बताए ।
आयोजना सम्पन्न गराउन नगर विकास कोषको २० करोड ९२ लाख ७३ रूपैयाँ नगरपालिका मार्फत ऋणसहयोग र नेपाल सरकारबाट उपलब्ध गराउने अनुदान ५८ करोड ५७ लाख ६० हजार दुई सय चार गरि खानेपानीमा ८३ करोड ६८ लाख दुई सय २९ रूपैयाँ खर्च हुनेछ । यस्तै सरसफाइमा इलाम नगरपालिकाको १६ लाख ६६ हजार दुई सय ३३ र बाँकी सरकारको गरि कूल एक करोड ११ लाख आठ हजार तीन सय २३ रूपैयाँको लागत रहने सम्झौतामा उल्लेख छ । नगरविकास कोषले २५ वर्षमा चुक्ता गर्नेगरि नगरपालिकालाई ऋण सहयोग गर्नेछ ।
आयोजनाका उपभोक्ता घरधुरी २०१९ मा २८ सय ६८ र २०३९ मा चार हजार एक सय घरधुरी पुग्ने एडीबीसँगको सम्झौतामा उल्लेख छ । यस्तै आयोजनाको लाभान्वित संख्या २०१९ मा २८ हजार एक सय ७२ र २०३९ मा ३९ हजार आठ सय ६० जनसंख्या हुनेछ । सम्झौतामा २०७५र०७६ मा निर्माण शुरू भएर ०७७र०७८ मा सम्पन्न हुने उल्लेख गरिएको छ । आयोजनाकालागि चारवटा इन्टेक, एक हजार तीन सय ९२ घनमिटरका नौंवटा पानी टंकी र चार हजार एक सय निजी धारा रहने जनाइएको छ । ४१ किलोमिटर प्रसारण लाइन हुने आयोजनाको निर्माण हुँदा प्रतिदिन प्रतिव्यक्ति एक सय लिटर पानी झर्न सक्ने डिटेल सर्भेमा उल्लेख छ । गीताङ, मेवा र राते खोलाबाट आपूत्र्ति गरिने पानीको ६ युटिन खपत (घ.मि) को न्युनतम शुल्क २४० रूपैयाँ लाग्ने छ । यो आयोजनाका लागि उपभोक्ता समितिले प्रत्येक घरधुरीबाट १५ हजार रूपैयाँका दरले रकम संकलन गरेको थियो । ‘ठेक्केदार सँग सम्झौता भएपछि जतिसक्दो चाँडो काम गराउन र चाँडै आयोजना सम्पन्न गर्ने लक्ष्य लिएका छौं, अध्यक्ष थापाले भने ‘दिनदिनै सदरमुकाममा पानीको अभाव बढ्दै गएको छ, यो समस्यालाई हामीले केन्द्रमा राखेर काम गर्नेछौं ।’


1391 पटक हेरिएको 






