भद्रपुर नपा–९ स्थित मानसा सिमेण्ट उद्योगमा कार्यरत ६२ वर्षीय कमलसिंह दुगडको अज्ञात पक्षले शनिबार हत्या गरेको प्रहरीले जनाएको छ । स्थायी ठेगाना भारतको विशाखापट्टनम् भएका उनी दुई वर्षयता सो उद्योगमा व्यवस्थापकको रूपमा कार्यरत रहेका थिए ।
माघ १२ गते बिहान उनी बस्दै आएको कोठामा गोडा बाँधिएको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव फेला परेकाले हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । यो समाचार तयार पर्दासम्म शवको पोष्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान पठाइएको छ । नेपालमा पीडितका नातेदार मात्रै रहेका परिवारलाई पर्खनु परेका कारण शवको पोष्टमार्टममा ढिलाई भएको डिएसपी श्रेष्ठले बताए । पोष्टमार्टमपछि आइतबार पीडित परिवारलाई शव जिम्मा दिने प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिको खोजी थालिएको प्रहरीको भनाई छ ।


668 पटक हेरिएको 






