अब विद्यालयमा चियाको पढाई

  सरलपाटी संवाददाता

 851 पटक हेरिएको


चियाको अध्ययन गर्न इलामका केही चिया बगान र चिया उद्योगहरूमा धेरै विदेशी विद्यार्थी आउने गरेका छन् । आफ्नो पढाइसँग्ै चियाको उत्पादन देखि प्रशोधन सम्मका विषयमा विदेशीहरूले यसरी चासो दिनु निकै अनौठो लाग्छ । उनीहरू नेपाली चियाकै अध्ययन गर्न आइरहंदा नेपाली विद्यार्थीहरू भने एक सय ५५ वर्षे इतिहास बोकेको आफ्नै बारीको चिया प्रति जानकार छैनन् ।
विहान बेलुका चिया बारीमा काम गर्ने यीनै विद्यार्थीलाई अहिले सम्म औपचारिक शिक्षाका क्रममा चियाको विषयमा भने जानकारी गराइएकै छैन । स्थानीय सरकारले आफ्नो स्थानीय विषयका बारेमा विद्यालयका पाठ्यक्रममा समावेश गर्न पाउने अधिकार पाएपछि बल्ल सूर्योदय नगरपालिका चियाको कक्षा सञ्चालन गर्न जुटेको छ ।
सूर्योदयले चिया विषयलाई अब माध्यमिक तहमै अध्ययन गराउने गरि पाठ्यक्रम निर्माण थालिसकेको छ । चिया उत्पादनको मुख्य क्षेत्र रहेको सूर्योदय नगरपालिकाले नगरक्षेत्रका विद्यालयका कक्षा छ देखि कक्षा आठ सम्म चिया विषयलाई पाठ्यक्रमका रूपमा लागू गर्न लागेको हो । एक सय ५५ वर्षे इतिहास बोकेको नेपाली चियाको विषयमा यसअघि माध्यमिक तहमा कतै पनि पढाइ शुरू गरिएको थिएन ।
‘जन्मदै चियाका बोटमा जन्मिएका बालबालिकका लागि चिया विषय त्यति असजिलो हुँदैन र नेपाली चियाको संरक्षणका लागि पनि विद्यालयमै पाठ्यक्रम लागू गराउन पर्छ भन्ने नगरकार्यपालिकाको ठहर भएपछि पाठ्यक्रको तयारी थालिएको छ,’ सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले भने ‘विदेशी विद्यार्थीहरू उनीहरूको पढाइकै शिलशिलामा नेपालमा चियाको अध्ययन गर्न आउँछन्, तर हामीलाई भने वास्तै छैन, पाठ्यक्रमनै राखिदिएपछि चियामा दक्ष जनशक्तिको उत्पादन गर्न पनि सहज हुनेछ ।’
अहिले नेपाली चियाको अध्ययन गर्न फान्स, जापान, रसिया, अष्ट्रियालगायतका देशबाट विद्याथीहरू आउने गरेका छन् । उनीहरू नेपाली किसानका बगान सम्म आउने र महिनौं दिन बसेर अध्ययन गर्ने गरेका छन् । विसं १९२० मा इलामबाट चिया रोपण कार्य शुरु भएको चियाको विषय अबको नयाँ पुस्तालाई जानकारी गराउन र यसको संरक्षणमा पे्ररित गर्न पनि चियाको पाठ्यक्रम खाँचो रहेको नगरप्रमुख राईको बुझाइ छ । नगरपालिकाले विभिन्न क्षेत्रलाई समेटेर पाँच सदस्य चिया पाठ्यक्रम विकास गर्ने समिति समेत गठन गरेर काम शुरू गरेको छ । समितिमा सूर्योदय नगर शिक्षा शाखा संयोजक, चिया तथा कफी बिकास बोर्डका प्रतिनिधि, घरेलु तथा साना उद्योग प्रतिनिधि, नगरपालिका आर्थिक विकास संयोजक र चिया सम्वन्धी विज्ञ सदस्य रहेका छन् ।
समितिले एक महिना भित्र पाठ्यक्रम सम्बन्धी अध्ययन प्रतिवेदन तयार गरि नगरपालिकालाई बुझाउने छ । आगामी नयाँ शैक्षिक सत्रदेखिनै चिया विषयमा पढाइ शुरू गर्ने लक्ष्य रहेको नगरप्रमुख राई बताउँछन् । चियाको नर्सरी, विरुवा रोपण, चिया टिपाई, प्रशोधन तथा प्याकेजिङ्ग र बजारीकरण समेतलाई पाठ्यक्रममा समेटिने छ । अहिले इलाममा तयारी गरिने विभिन्न स्वादका ह्वाइट टी, ग्रीन टी, सिल्भर टी, गोल्डन टी, ओलङ टी विदेशीहरूको पनि अध्ययनको विषय बनिरहेको चिया प्राविधिक बताउँछन् । अबका विद्यार्थीलाई पनि चिया रोप्न देखि विदेश निर्यात गर्ने तयारी चिया बनाउन प्राविधिक ज्ञान दिन जरूरी रहेको इलामको जसबीरे चिया उद्योगका सञ्चालक तथा चिया प्राविधिक शरद सुब्बा बताउँछन् । ‘अहिले पनि नेपाली चियाका लागि दक्ष प्राविधिकको खाँचो छ, कतिपय उद्योगमा भारतबाटै प्राविधिक ल्याउनु पर्ने बाध्यता छ’, सुब्बाले भने ‘ नेपालकै विद्यालयमा चिया विषय पढाउन सक्दा त्यसको फाइदा नेपाली किसानलाईनै पुग्ने छ, रोजगारीको अवसर पनि मिल्नेछ । हामीलाई नेपाली चिया प्राविधिकको खाँचो छ ।’

यता नेपालमै पहिलो पटक चिया विषयमा छुट्टै पढाई थालेको झापाको भद्रपुर स्थित मेची क्याम्पसले भने गतवर्षदेखि चियाको पढाइ रोकेको छ । २०६८ सालबाट आठ सेमेस्टरको चार वर्षे कोर्षमा फिजिक्स, वोटानिक, केमेस्ट्री, जुलोजी, इन्ड्रस्टियल सोसोलोजी, लेभर मेनेजमेन्ट, आदि विषयहरु पढाई शुरू गरेको क्याम्पसले तीनवटा व्याजमात्र निकालेको क्याम्पसका पूर्व प्रमुख चिन्तामणि दाहालले जानकारी दिए । गतवर्ष देखि विद्यार्थी कम भएको भन्दै क्याम्पसले भर्ना लिएन, तर पाँच जनामात्र विद्यार्थी भएभने पढाउने व्यवस्था छ, दाहालले भने ‘सायद अबको असार–साउनदेखि पुनः भर्ना हुन्छ होला । यो वर्षपनि विद्यार्थीहरू आउँदै फर्कंदै गरेका रहेछन् । विद्यार्थीलाई त्यसै फर्काउनु हुँदैन थियो ।’
‘क्याम्पसले चियाको पढाइसँगै चियाको खेती प्रणाली, नर्सरी, चिया टिपाई, माटो, रोग किरा, चियाकालागि आवश्यक माटोमा चाहिने तत्वहरु, मार्केटिङ्ग, प्रशोधनजस्ता विषयमा विद्यार्थीलाई अध्ययनका शिलशिलामा अभ्यास समेत गराएर प्राविधिक विद्यार्थी उत्पादन गर्न थालेको थियो,’ क्याम्पसका पूर्व प्रमुख दाहालले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार