अपाङ्गता परिचयपत्र नहुँदा सेवाबाटै बञ्चित

  सरलपाटी सम्वाददाता

 844 पटक हेरिएको


महिला बालबालिका कार्यालय हटेसँगै अपाङ्गता भएका व्यक्तिहरूलाई दिइने परिचय पत्र वितरण नहुँदा अपाङ्गता भएका व्यक्तिहरू सरकारले दिने सेवा सुविधाबाट बञ्चित भएका छन् । गत विगतमा महिला तथा बालबालिका कार्यालयले वितरण गर्दै आएको अपाङ्गता परिचय पत्र असार महिना देखि बन्द भएको छ ।
जिल्लाबाट महिला तथा बालबालिका कार्यालय हटाएर स्थानीय तहबाटै अपाङ्गता परिचय पत्र वितरणको व्यवस्था गर्ने भनिए पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नमूना कार्यविधिमात्र पठाएका कारण परिचय पत्र वितरण हुन नसकेको हो । नमूना कार्याविधिमा स्थानीय तहमा उप–प्रमुखको संयोजकत्वमा अपाङ्गता परिचयपत्र वितरणका लागि समन्वय समिति निर्माण हुने व्यवस्था गरिएको छ । नमूना कार्यविधि अनुसार जिल्लाका धेरैवटा स्थानीय तहमा समन्वय समिति निर्माण भएपनि परिचय पत्र वितरण शुरू भइनसकेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । ‘माथिबाट नमूना कार्यविधि आएको छ, परिचयपत्र वितरण शुरू भएको छैन,’ प्रजिअ तिम्सिनाले भने ‘परिचयपत्र वितरण गर्न जरूरी देखिएको छ ।’
अपाङ्गता भएका व्यक्तिहरूले जन्मदर्ता, नागरिकता बनाएपनि अपाङ्गताको परिचयपत्र बनाउन नपाउँदा राज्यले दिने सेवा सुविधाबाट बञ्चित हुनथालेको अपाङ्गताकै क्षेत्रमा क्रियाशील संस्था करूणा फाउण्डेशनका इलाम प्रमुख अजित योन्जनले बताए । उनले भने ‘पुरानो परिचयपत्र हुनेको पनि नविकरण गर्नुपर्ने समय भएको छ, नयाँको त परिचयपत्रनै छैन, समयमा नविकरण नहुँदा र नयाँ परिचयपत्र नबनिंदा उनीहरूले पाउने सामाजिक सुरक्षा भत्ता देखिका सुविधा रोकिएको अवस्था छ ।’
यसअघि अपाङ्गता भएका व्यक्तिका लागि रातो, निलो, पहेंलो र सेतो परिचयपत्रको व्यवस्था गरिएको थियो । पूर्ण अशक्त भएकालाई रातो परिचय पत्रको व्यवस्था थियो । उनीहरूले राज्यबाट मासिक दुई हजार रूपैयाँ सामाजिक सुरक्षा भत्ताका रूपमा पाउँदै आएका थिए । यस्तै निलो रंङको परिचयपत्र हुनेले मासिक छ सय रूपैयाँ प्राप्त गर्थे भने पहेंलो र सेतो रङंको परिचय पत्रहुने व्यक्तिले स्वास्थ्य उपचार, यातायात, सामाजिक स्वास्थ्य बिमा, जग्गा रजिष्टेसन पास जस्ता क्षेत्रमा छुटको सुविधा पाउँदै आएका थिए ।
अहिले परिचयपत्र नहुँदा अपाङ्गता भएका र परिचयपत्र बनाउन बाँकी रहेका व्यक्तिहरूले स्थानीय तहबाट खर्च हुने लक्षित बजेटको रकम पनि उनीहरूले पाउन नसकेको फाउण्डेशनको माई नगरपालिकाका कर्मचारी विमल दाहालले जानकारी दिए । यता ‘स्पाइनल कर्ड’ भाँचिएका माइ नगरपालिका– ६ का सवनम धमलाको आर्थिक अभावले अहिले सम्म उपचार हुन सकेको छैन । ‘वडाध्यक्षले आफ्नै पहलमा नागरिकता बनाइ दिए,’ दाहालले भने ‘उनको पूर्ण अशक्तको परिचयपत्र बन्छ, तर परिचयपत्र नहुँदा मासिक पाउने भत्ता पनि पाएको अवस्था छैन ।’
सबनममात्र होइन परिचयपत्र नयाँ बनाउने र नविकरण गर्नुपर्ने अपाङ्गता भएका व्यक्तिको संख्या जिल्लामा करिब पाँच हजार रहेको फाउण्डेशन प्रमुख योन्जन बताउँछन् । अब चाँडो परिचयपत्रको व्यवस्था नभए समस्या थपिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार