डा. केसीको उपचारमा फेरि अर्को टोली आउँदै

  सरलपाटी सम्वाददाता

 525 पटक हेरिएको

डा. गोविन्द केसीको उपचारार्थ बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट छ जना चिकित्सकको टोलीलाई इलाम पठाइएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाममा अनशनरत डा. गोविन्द केसीको उपचारका लागि इलाम पठाइएको हो ।

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहको नेतृत्वमा डा. आशिस सुबेदी, एनेथेस्थेसिया र आइसियु, डा. अदिती महासेठ, कार्डियोलोजिष्ट, डा.राजकमार गजमेर, इमर्जेन्सी फिजिसियन, केशव नेपाल, ल्याव टेक्निसियन, देवकान्त चौधरी, नर्सलगायतको टोली बिहीबार इलामतर्फ प्रस्थान गरेको हो ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवकै निर्देशनमा हिजो पनि एउटा चिकित्सक टोली इलाम पुगेको थियो । पहिलो चरणको उपचार गरी उक्त टोली फर्किएपछि दोश्रो टोली बिहीबार नै इलाम प्रस्थान गरेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

टोली केही दिन इलाम नै रहने डा. बिकास शाहले जानकारी दिएका छन् ।
डा. केसी भेट्न माथेमासहितको टोली इलाम आउँदै
सत्याग्रहमा रहेको नवौं दिन डा.गोविन्द केसीलाई भेट्न चिकित्सा शिक्षा नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलका संयोजक एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमासहितको टोली बिहीबार इलाम आउँदैछ।

पूर्व प्रधानन्यायाधीय सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगाना, अभियन्ता डा.अभिषेकराज सिंहलगायत पनि टोलीमा सहभागी छन्। अपराह्न सदरमुकाम आइपुग्ने टोलीले इलाम अस्पतालमा सत्याग्रहरत डा.केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदैछन्। ‘आशा छ, हाम्रो पहलले निकास निकाल्न सहयोग पुग्नेछ र सरकारले पनि सहयोगका लागि कदम चाल्नेछ,’ अभियन्ता डा. सिंहले सामाजिक सञ्जालमा टोलीको तस्बिरसमेत राखेर लेखेका छन्।

माथेमासहितको टोलीले साँझ डा.केसीलाई भेटेपछि पत्रकार सम्मेलन आयोजना गर्ने जनाइएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरी संसद्मा टेबुल भइसकेको राष्ट्रिय चिकित्सा विधेयकप्रति माथेमाको पनि असन्तुष्टि बाहिर आएको छ। डा.केसी १५औ सत्याग्रहमा रहेका बेला पूर्वप्रधानन्यायाधीश कार्की समर्थन जनाउँदै प्रदर्शनमा सहभागी भएकी थिइन्।

डा.केसीको अवस्था चिन्ताजनक हुँदै गएपछि बुधबार चिकित्सकको विशेषज्ञ टोलीले तत्काल आइसियु (इन्टेन्सिभ केयर युनिट)मा राख्न सुझाव दिएको थियो। तर, डा.केसीले इलाम नछाड्ने अडान लिएपछि उनलाई नर्मल स्लाइन, एन्टिबायोटिक र अक्सिजन दिएर अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार