तेस्रो मुलुक निर्यात हुने नेपाली चिया अर्गानिकनै हुनुपर्छ । अझ अर्गानिक प्रमाणिकरण गरेको भए विदेशीले त्यो चियालाई बढी मनपराउने गरेका छन् । अर्गानिक चियामा विदेशीको ध्यान केन्द्रित हुनथालेपछि किसान, सहकारी तथा उद्योगहरू आफैंले चियालाई पूर्ण अर्गानिक बनाउने अभ्यास गरिरहेका छन् ।
ग्रीन टी, गोल्डन टी, ह्वाइट टी, ओलङ टी गरि विभिन्न स्वादमा बनाइने चिया विदेशीले धेरै मन पराए पनि उनीहरूको एउटैमात्र सर्त अर्गानिक चियाको मापदण्ड पु¥याउन भने किसानले लाखौं खर्चेर, वर्षौं कुर्नुपर्ने हुन्छ । विदेशीले अर्गानिक चियानै रूचाउन थालेपछि साना किसान, सहकारी तथा उद्योगहरू आफैंले चियालाई पूर्ण अर्गानिक बनाउने अभ्यास गरिरहेका छन् । तर, कम्तिमा तीन–चार वर्ष अर्गानिकको यो अभ्यास गरिरहंदा खर्च धान्न भने निकै मुस्किल पर्ने गरेको किसान बताउँछन् ।
अहिले सम्म साँखेजुङस्थित साँग्रिला चिया कारखाना, सुन्दरपानीको गोर्खा टी स्टेट, पाँचथरको कञ्चनजंघा टी स्टेट, माइपोखरीको सन्दकपुर चिया कारखाना, जसविरे चिया कारखाना, देउमाइको ब्रर्दश चिया उद्योगले विदेशी संस्थाहरू नासा, आइओएम र सेरेसबाट अर्गानिक प्रमाणिकरणको प्रमाणपत्र लिइसकेका छन् । यस्तै साँखेजुङको उच्चपहाडी चिया उत्पादक सहकारी संस्था, गोर्खा टी स्टेट अन्र्तगत सुन्दपानी चिया उत्पादक सहकारी संस्था, कोलबुङस्थित इको सहकारी संस्था, पञ्चकन्याको हिमशिखर चिया उत्पादक सहकारी संस्थाले नासाबाट अर्गानिक प्रमाणिकरण गरिसकेका छन् । साँखेजुङको ग्रीनहील, चमैताको तीनजुरे सहकारी संस्था, फिक्कलको इलामेली चिया उत्पादक सहकारी संस्था, जीतपुरको अजम्बरे, देउराली र नवमी चिया उत्पादक सहकारी संस्थाले भने अर्गानिक प्रमाणिकरणका लागि युरोपियन अर्गानिक एजेन्सी सेरेस र आइओएमबाट भरखरैमात्र अर्गानिक प्रमाणिकरण गरेको केन्द्रीय चिया सहकारी संघले जनाएको छ ।
अर्गानिक प्रमाणिकरण गर्न पनि किसानलाई त्यति सजिलो छैन । अर्गानिक प्रमाणिकरण गर्ने संस्थाहरू नासा, आइओएम, सेरेस जस्ता विदेशी संस्थामा, म अब पूर्ण अर्गानिक बनाउँछु भनेर निवेदन दिनुपर्ने हुन्छ । ‘निवेदन दिएपश्चात अर्गानिकको मापदण्ड अन्र्तगत रहेर रासायनिक मल, विषादीको प्रयोग बन्द गर्नु किसान स्वयंको आचार संहिता हो,’ केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई भन्छन् ‘त्यसपछि आन्तरिक रूपमा अनुगमन कर्ता पनि राखिएको हुन्छ । किसानका समुहहरू एक–अर्काकामा गएर चियामा मल र विषादीका बारेमा निरिक्षण गर्छन् । तीनवर्ष सम्म यो प्रक्रिया चलेपछि बल्ल हामीले पूर्ण अर्गानिक बनायौं भनेर प्रमाणिकरण गर्ने संस्थामा खबर गरेपछि त्यहाँबाट अनुगमन कर्ता आउँछन् ।’ यसरी आउने अनुगमनकर्तालाई इन्स्पेक्टर भनिन्छ । यी इन्स्पेक्टरलाई निवेदकवाला आफैं खर्च गर्नुपर्ने हुन्छ ।
किसानहरू आफैंले लाखौं रूपैयाँ खर्च गरेर अर्गानिक प्रमाणिकरण गरे पछिमात्र उत्पादित तयारी चिया विदेश पठाउन सकिने तीनजुरे चिया उत्पादक सहकारी संस्थाका सचिव सोम शर्मा बताउँछन् । ‘किसानले रासायनिक मल र विषादी नलगाएको भन्ने थाह छ, तर प्रमाणिकरण नै चाहिन्छ, त्यो प्रमाणपत्र विना चिया विदेश पठाउन समस्या छ,’ शर्मा भन्छन् ।
‘पहिलो पटक अर्गानिक प्रमाणिकरण गराउन कम्तिमा पनि नौं लाख रूपैयाँ खर्चनु पर्छ’, साँखेजुङस्थित कंञ्चनजंघा चिया प्रशोधन कारखानाकी सञ्चालक मिलनकुमारी खत्रीले’ भनिन् ‘अर्को वर्ष अर्गानिक प्रमाणपत्रको नविकरण गर्न पनि अढाइ–तीन लाख रूपैयाँ लाग्छ, हामीले पूर्ण अर्गानिक गरेपनि त्यसको प्रमाणिकरणको भार थेग्न मुस्किल छ ।’
जसवीरे चिया कारखानाका सञ्चालक शरद सुब्बा पनि अर्गानिक प्रमाणिकरण गराउन खर्चिलो भएकाले पनि किसानले पाउने हरियो पत्तीको मूल्य पनि घटाउनु पर्ने बाध्यता रहेको बताउँछन् । ‘नेपालमै अर्गानिक प्रमाणिकरणको व्यवस्था भइदिए अथवा हामी जस्ता साना किसान र उद्योगीलाई सरकारबाट केही सहयोग भइदिए विदेशबाट आएको चियाको माग नेपाली चियाले धान्न सक्ने थियो’ सुब्बाले भने । नेपालमा भने अहिले सम्म अर्गानिक प्रमाणिकरण गर्ने कुनै प्रयोगशाला स्थापना हुन सकेको छैन ।


1413 पटक हेरिएको 






