बसमा लगानी गर्दै सामुदायिक विद्यालय

  सरलपाटी संवाददाता

 981 पटक हेरिएको

सामुदायिक विद्यालयमा वर्षेनी विद्यार्थीको घट्न थालेपछि इलामका केही सामुदायिक विद्यालयले नयाँ जुक्ति निकालेका छन् । आफ्नै छरछिमेकका बालबालिका निजी विद्यालयका बसले लाने गरेपछि ती विद्यार्थीलाई रोक्न पनि सामुदायिक विद्यालयहरूले ‘स्कूल बस’ खरिद गर्न थालेका छन् ।
गत जेठमा बस खरिद गरेर विद्यार्थी ओसार्न थालेको रोङ गाउँपालिका भालुझोडास्थित सरस्वती माविमा गतवर्ष भन्दा विद्यार्थीको संख्या केही बढेको छ । गतवर्ष दुई सय ५८ विद्यार्थी रहेको यो विद्यालयमा चालू शैक्षिकसत्रमा दुई सय ८४ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा नर्सरी देखि कक्षा दशसम्म सञ्चालित विद्यालयमा विद्यार्थीको संख्या बढाउन विद्यालयले नर्सरी देखि कक्षा पाँचसम्म अंग्रेजी माध्यमबाट पढाइ पनि सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक प्रेमराज राईले बताए । ‘यो वर्षको भर्ना अभियानमा घर–घर जाँदा अभिभावकहरूले आफ्ना नानीहरूलाई विहान विद्यालय पु¥याउन र बेलुका लिन जान नभ्याउने हुँदा बसको आवश्यकता जनाउनु भएको थियो’ प्रअ राईले भने ‘गाउँपालिकाले पनि विद्यालयलाई २० लाख रूपैयाँ सहयोग गरेको थियो । त्यसमा केही रकम थप गरेर बस खरिद गरेका हौं ।’
तर, विद्यालयमा दुर्गम गाउँबाट आउने विद्यार्थीलाई भने बसले खासै काम नदिएको प्रअ राईको भनाइ छ । अढाइ–तीन घण्टा पैदल हिंडेर आउने दुर्गमका विद्यार्थीलाई कच्ची सडकका कारण बसले ल्याउन नसक्ने हुँदा समस्या रहेको प्रअ राईले बताए । टाढाका विद्यार्थीलाई बस भन्दा पनि होस्टलको व्यवस्था गर्नसक्दा राम्रो हुने राईको अनुभव छ । सरस्वती माविले राजश्व छुटमा २५ लाख रूपैयाँ खर्च गरेर बस खरिद गरेको जनाइएको छ ।
रोङ गाउँपालिकाकै शान्ति निकेतन मावि पनि स्कूल बस खरिद गर्ने प्रक्रियामा छ । अभिभावकहरूको माग अनुसार विद्यार्थी ओसार्न बस ल्याउन लागिएको विद्यालयका प्रधानाध्यापक हिमेश्वर यादवले बताए । ‘अहिले सम्म भ्यानहरूलाई भाडामा लिएर विद्यार्थी ओसार्न लगाएका थियौं, त्यो निकै खर्चिलो भयो’ प्रअ यादवले भने ‘गाउँपालिकाले बस खरिदका लागि दशलाख रूपैयाँ र पाथीभरा मन्दिर व्यवस्थापन समितिले दशलाख रूपैयाँ सहयोग गरेपछि बस खरिद प्रक्रिया अघि बढाइएको छ ।’ बस वीरगञ्जमा आइसकेको र अब प्रक्रिया पु¥याएर लिन जानमात्र बाँकी रहेको यादवले जानकारी दिए । यो विद्यालयमा कक्षा नर्सरी देखि कक्षा १२ सम्म तीनसय १८ विद्यार्थी छन् । नर्सरी देखि कक्षा पाँच सम्म अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गरिएपछि विद्यार्थीको संख्या पनि बढेको प्रअ यादव बताउँछन् । अब स्कूल बस ल्याएपछि अर्को शैक्षिक सत्रमा विद्यार्थीको संख्या अझ बढ्ने अपेक्षा रहेको यादवको भनाइ छ ।
करिब डेढ महिना अघिमात्र बस ल्याएको सूर्योदय नगरपालिका– १२ स्थित करफोक विद्यामन्दिरमा पनि बस आएपछि विद्यार्थीहरूलाई विद्यालय आउन–जान र लघु शैक्षिक भ्रमणमा जान सहज भएको विद्यालयका प्रधानाध्यापक दिनराज निरौलाले बताए । गतवर्ष प्राविमा १६ जनामात्र विद्यार्थी थिए । यो वर्ष कक्षा नर्सरी देखि कक्षा पाँच अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरेपछि एक सय ३३ जना विद्यार्थी रहेका छन्, प्रअ निरौलाले भने ‘ती साना बालबालिकालाई विद्यालय ल्याउन लान पनि बसको आवश्यकता भएकाले विद्यालयले भरखरै बस ल्याइएको छ ।’ विद्यालयले २७ लाख ५० हजार रकम खर्च गरेर बस ल्याएको हो । करफोकमा अहिले कक्षा नर्सरी देखि कक्षा १२ सम्म पाँच सय १८ जना विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार