विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डा. गोविन्द केसीको स्वास्थ्य उपचारमा आएको विशेषज्ञ टोली स्वास्थ्य परीक्षणपछि फर्केको छ ।
डा. केसीको अवस्था आइसीयुमै राखेर उपचार गर्नुपर्ने सुझाव टोलीले दिएको छ । आइसियुमै राखेर उपचार गर्नुपर्ने भएपछि टोलीले डा. केसीलाई धरान जान आग्रह गरेको थियो । तर, डा. केसीले जान नमानेपछि परीक्षण मात्र गरेर फर्केको सहयोगी देवराज भारद्धवाजले बताए । डा.केसीको फोक्सोमा इन्फेक्सन भएपछि अहिले औषधि लिइरहेका छन् । स्वास प्रस्वास र मुटुको चालमा पनि समस्या देखिएको टोलीले बताएको छ । पानी कम भएकाले डा. केसीको खुट्टा पनि सुन्निएको छ ।
डा. केसीले टोलीलाई आउने वित्तिकै तपाईंहरु सरकारले पठाएर आएको हो भनेर सोधेका थिए । टोली निक्कैबेर नाजवाफ भएको थियो । पछि उपकुलपतिले पठाएको हामी तपाईंको स्वास्थ्य परीक्षण गर्छौं भनेपछि डा. केसीले परीक्षणका लागि स्वीकृति दिएका थिए ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा बुधबार धरानबाट विशेषज्ञ चिकित्सकसहितको टोली इलाम अस्पताल आएको थियो । प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहको नेतृत्वमा कार्डियोलोजिष्ट विभागका डा. प्रशान्त शाह, मेडिसिन इमार्जेन्सी डा. अजय यादव, एनएसथेसिस (आइसियु हेर्ने) डा. सबिन भण्डारी, ल्याब टेक्निसियन दिपेन्द्र यादवर नर्ससहितको टोली इलाम आएको हो ।