किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष कमल तिगेला, समाजशास्त्री डा.कृष्णबहादुर भट्टाचन लगायतको टोली लिम्बू समुदायको भूमि अधिकार ‘किपट’ बारे खोजी गर्दै आएका छन् ।
विहिबार लिम्बूहरुको किपट खोजीको क्रममा मिक्लाजुङ गाउँपालिका—३ टाँडी पुगेर ‘मिभक वंश’ लिम्बूहरुको किपट बारे अध्ययन गरेका छन् । टोलीमा आदिवासी अधिकारकर्मी तथा अधिवक्ता शंकर लिम्बूसमेतले खोजअनुसन्धान गरेका छन् । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँ समितिको आयोजनामा लिम्बूहरुको किपट बारे एक दिने अन्तरक्र्रिया भएको थियो ।
अन्तरक्रियामा बोल्दै डा. कृष्णबहादुर भट्टचनले नेपालको संविधान संशोधन गरेर आदिवासी समुदायको अधिकार स्थापित गर्नुपर्ने बताए । जनयुद्ध भर माओवादीले उत्पीडित समुदायको अधिकारको कुरा उठाएकोले समर्थन गरेको तर युद्ध पश्चात प्रचण्ड, बबुराम भट्टराई लगायतका नेताहरुमा पहाडवाद, पुरुषवाद, वाहुनवाद फर्केकोले समर्थन छाडेको बताए । उत्पीडित आदिवासी समुदायको अधिकार सुनको थालिमा राखेर कसैले नदिने उल्लेख गर्दै संघर्ष गर्नु पर्ने डा.भट्टचनले जनाए ।
चुम्लुङका केन्द्रीय उपाध्यक्ष कमल तिगेलाले मुन्दुमलाई अन्तराष्ट्रिय सम्पदाको सुचिमा सूचिकृत गर्न पहल भइरहेको बताए । भूमि अधिकारको लागि निरन्तर लडिरहने बताउँदै सरकारले लिम्बू समुदायको कुरा नसुने राज्यको नीति नमान्न पनि सक्ने चेतावनी उपाध्यक्ष तिगेलाले दिएका थिए ।