डेरीले आर्थिक समस्या टार्दै किसान

  सरलपाटी सम्वाददाता

 918 पटक हेरिएको

जिल्लाको उत्तरी क्षेत्र सडक सञ्जाल सँग जोडिएका निकै वर्ष भयो । तर, कृषि तथा पशुपालनमाबाट आर्थिक समृद्धि नभएको जिल्लाको उत्तरी क्षेत्रमा अहिले गाउँ–गाउँमा खुलेका डेरी उद्योगले साना किसानलाई रकम सँग सोझो पहुँच स्थापना गरिदिएका छन् ।
डेरी स्थापना भएको करिब पाँच वर्ष यता उत्तरी माइमझुवा र माबु गाउँका किसानलाई पशुपालनको गर्नुको पछाडि आर्थिक भरथेग राम्रो हुन थालेको छ । माइमझुवास्थित सन्दकपुर कृषि सहकारी संस्थामा आवद्ध ३ सय १७ जना किसानलाई डेरी उद्योगले दैनिकीनै बदलिदिएको छ ।
केही वर्ष अघि सम्म गहँु, कोदो, मकै तथा आलु उत्पादन निर्भर यस क्षेत्रका किसानले पशुपालन गरेर दूध बिक्रीबाट आम्दानी हुन थालेपछि गाई पालनलाई जोड दिन थालेको माइमझुवाका किसान पुरन गुरूङ बताउँछन् । सन्दकपुर कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका गुरूङले संस्थामार्फत दूध संकलन गरि छुर्पी र घिउ उत्पादन गरेर बाहिर पठाउँदा यस भेगका किसानलाई पनि फाइदा पुगेको बताए ।
संस्थाले किसानबाट संकलन गरेको दैनिक १६० लिटर दूध प्रशोधन गरि घिउ र छुर्पी बनाउने गरेको छ । मासिक तीन सय किलो घिउ र एक सय ६० देखि एक सय ७० किलो छुर्पी उत्पादन गर्ने संस्थाले बिक्रीकालागि सबै घिउ र छुर्पी काठमाडौं पठाउने गरेको छ । संस्थाले किसानलाई दूधको प्रति लिटर फ्याट हेरेर ४० देखि ४५ रूपैयाँ मुल्य दिंदै आएको गुरूङ बताउँछन् । संस्थाले उत्पादन गरेको घिउ प्रतिकलिो ५ सय रूपैयाा र छुर्पी ‘डकच्यु’ का रूपमा प्रतिकिलो ८८५ रूपैयाँका दरले बिक्री गर्ने गरेको छ ।
यता ३५ रूपैयाँ प्रतिलिटर दूध बिक्री गर्दै आएका इलाम सुलुबुङका किसानको दूधको मुल्य अहिले ४५ देखि ५० रूपैयाँ प्रतिलिटर पुगेको छ । उन्नती परियोजनाले सहयोग गरेपछि स्थानीय भट्टराई कृषि पशुपालन तथा डेरी उद्योगले किसानले उत्पादन गरेको दूधको मुल्य बढाएपछि किसानहरू पनि निकै खुशी छन् । परियोजनाले भवन निर्माण, दूध चिस्याउने मेसिन तथा ड्रायर अन्य उपकरण, ढुवानीका लागि गाडी खरिदआदिमा सहयोग गरेको संस्थाकी लिला भट्टराई बताउँछिन् । घिउ, छुर्पी पनि बनाउँछौं, भट्टराईले भनिन् – पहिला त एउटा गाई पाल्दा परिवारलाई दूध खान पुग्थ्यो, दूध बिक्री हुँदैन थियो, अहिले दूध बिक्री हुनथाले पछि गाउँका सबै जसो किसानले दैनिक कम्तिमा पाँच लिटर दूध बिक्री गर्ने गरेका छन् ।
यी दुई संस्थालाई मात्र होइन जिल्लाका २९ वटा डेरी उद्योगलाई उन्नतीले गरेको सहयोगले अहिले पनि किसानलाई दुध बिक्री गर्न र पशुपालनलाई व्यवसाय बनाउन ठूलो सहयोग पुगेको किसान बताउँछन् । घिउ, छुर्पीबाट आम्दानी राम्रो हुनथालेपछि सहकारी संस्थालेमात्र होइन किसानले आफ्नो व्यक्तिगत लगानीमा पनि डेरी उद्योग सञ्चालन गरिरहेका छन् । माइमझुवाका दिलबहादुर गुरूङले पनि आफैं डेरी उद्योग स्थापना गरेका छन् । आठ महिना अघिदेखि शुरू भएको दिलबहादुरको डेरी उद्योगमा पनि दैनिक ८० लिटर दूध प्रशोधन हुने गरेको छ । ५ माउ गाई पालेर आफैं गाई फाम शुरु गरेका गुरूङले दश माउ गाई पु¥याउने लक्ष्य राखेको बताए । गुरूङले किसान मार्फत लिएको दूधको मुल्य प्रतिलिटर ४२ रूपैयाँ दिने गरेका छन् । उनले आफूले उत्पादन गरेको घिउ प्रतिकिलो ५ सय रूपैयाँ र छुर्पीको प्रतिकिलो ९५० रूपैयाँले बिक्री गर्ने गरेको बताए । यहाँको सम्पूर्ण उत्पादन काठमाडौं जाने गरेको छ ।
माइमझुवा र माबुमात्र होइन, जिल्लाका साँखेजुङ, पशुपतिनगर, नयाँबजारलगायतका क्षेत्रमा पनि स्थापना भएका डेरी उद्योग, ललीपप उद्योग र चीज उद्योगले गर्दा साना किसानहरूको आर्थिक समृद्धिकालागि सोझो पहुँच स्थापना भएको छ । विगत वर्षमा दुग्ध विकास संस्थान दुग्ध वितरण आयोजना विराटनगरमा जाने दूध धेरै हुँदा ‘मिल्क होलिडे’को समस्या झेल्दै आएका किसानलाई जिल्लामै दूध खरीद तथा प्रशोधन गर्ने उद्योग गाउँ–गाउँमा स्थापना भएपछि पशुपालन गर्न सहज भएको किसान बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार