
कोक्रोको ठाउँमा फलामको खोर
राम्ररी हिँडडुल गर्न नसक्ने भएकाले दीपकलाई लामो समयदेखि साना बाबुनानी राख्ने बाँसको कोक्रोजस्तो बनाएर त्यसभित्र राखिएको थियो । आइतबारबाट त्यसको ठाउँमा फलामको खोर आएको छ । उनलाई फलामको खोरभित्र राख्न थालिएको छ । जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीको समन्वयमा फिदिमका व्यवसायी टार्जन केरुङले फलामको खोर उपलब्ध गराएका हुन् । आइतबार फलामको खोरभित्र दीपकलाई देखेपछि फिदिम–९ का वडाध्यक्ष बालकृष्ण लावतीले वचन पनि दिए । तर, वडाले मात्र उपचारका लागि आवश्यक रकम जुट्न नसक्ने परिवारको ठहर छ । त्यसैले, परिवारका सदस्य भन्छन्, ‘सबैले आर्थिक सहयोग गरिदिए उपचार सम्भव थियो । उसले नयाँ जीवन पाउने थियो ।’
उपचार गर्न आर्थिक अभाव
उनको उपचारमा करिब सात लाख रुपैयाँ लाग्ने बताइएको छ । आर्थिक अभाव झेल्दै आएको घिमिरे परिवार त्यति पैसा जुटाउन नसक्दा निराश छ । ‘उसकै उमेरका अरूका छोराछोरी तन्दुरुस्त देख्दा आफ्नो पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्छ,’ बाबु कमलले भने, ‘रहर भएर मात्र नहुने रहेछ, आर्थिक अभावले छोरो विकलांग बनिरहेको छ ।’ लामो प्रयासपछि दीपकलाई अपांगता परिचयपत्रअन्तर्गत रातो कार्ड दिलाइएको छ । सोही कार्डका आधारमा उनलाई सरकारले मासिक २ हजार रुपैयाँ दिने गरेको छ । नयाँ पत्रिकाबाट