प्रधानमन्त्री ओली भेडेटार–रवि–राँक सडकको शिलान्यास

  गोविन्द लामिछाने

 1162 पटक हेरिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको वताएका छन् ।
“मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक पुग्दैछ, बिजुलीबाट मुलुक उज्यालो बन्दैछ” प्रधानमन्त्री ओलीले भने “सबै जिल्लालाई सडक सञ्जालले जोडिसकेपछि गाँउ–गाउँसम्म सुगम सडक बनाउने अभियान अघि बढाइन्छ ।”
पुनर्निर्माणको कार्य ४५ प्रतिशत पूरा भएको जानकारी दिनुहुँदै उहाँले पुरातात्विक पुनर्निर्माण समेत द्रुत हुने बताए ।
कार्यक्रमका अध्यक्ष तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रदेश सरकारको मेरूदण्डको रूपमा रहेको भेडेटार–रवि–राँके सडक कालोपत्रे हुने सुनिश्चितता भएसँगै प्रदेश नं. १ पहाडी जिल्लाहरूको समृद्धिको ढोका खुलेको बताए । उनले सरकारले देखाएको सपना पूरा गर्न भौतिक पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा रहेको भन्दै त्यसका लागि मन्त्रालयले ठोस कार्ययोजना तयार पारेर अघि बढिरहेको बताए ।
उनले भेडेटार–रवि–राँके सडकको मध्यविन्दु रविलाई झापाको दमकसम्म जोड्ने दमक चिसापानी रवि सडकको समेत चाँडै शिलान्यास हुने बताए ।
मोरङ, धनकुटा, इलाम र पाँचथर जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकालाई जोड्ने यो सडक कालोपत्रे भईसक्दा चार जिल्लाका स्थानीय बासिन्दाले राहत पाउनेछन् ।
भ्याट र पिएससहित तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ रुपैंयाँको लागतमा एक सय किलोमिटर पक्की सडक बन्नेछ । एप्को इन्फ्राटेक प्रालि लखनउ भारतले निर्माण गर्न लागेको उक्त सडक, सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय भेटेटार–रवि–राँके सडक आयोजनाले कार्यन्वयन गर्नेछ ।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिम र माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष सुनिता सुव्वाले गाउँपालिकाको विकासका लागि प्रम ओलीलाई माग पत्र बुझाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार