इलाममा अनुमति विनानै मदिरा सुर्तिजन्य बस्तुको विक्री

  सरलपाटी सम्वाददाता

 978 पटक हेरिएको


सदरमुकाम स्थित इलाम बजारका अधिकाशं होटलहरुले अनुमति नलिइ मदिरा र सुर्तिजन्य बस्तुको विक्री गर्ने गरेको पाइएको छ । होटलमा मदिरा र सुर्तिजन्य बस्तु बेच्नको लागि आन्तरिक राजश्व कार्यालयबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने भएपनि व्यवसायिहरुले अनुमति विनै कारोबार गर्ने गरेका छन् ।
आन्तरिक राजश्व कार्यालय अन्तर्गतगको करदाता सेवा कार्यालय इलाम, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाम नगरपालिका, उद्योग वाणिज्य संघ र सञ्चारकर्मीहरुको संयुक्त टोलीले बजार अनुगमन गर्दा मदिरा विक्रीको अनुमति नलिएको पाइएको हो ।
बुधबार इलाम बजारका ३० होटलहरुको अनुगमन गर्दा १६ वटा होटलमा मदिरा विक्रीको इजाजत पाइएन । केही होटलहरुमा विक्री वितरणको लागि प्रतिवन्धित घरेलु मदिरा समेत भेटिएको छ । कतिपय होटल र खाजाघरहरुको भने व्यवसाय दर्ता समेत गरेका छैनन् । अनुमति नलिइ मदिरा विक्री गर्ने होटलहरुलाई इजाजत लिनको लागि एक साताको समय दिइएको छ ।
घरेलु मदिरा विक्री नगर्न सचेत गराइएको छ । दिइएको समय सीमा भित्र ब्यवसाय दर्ता नगरे र मदिरा र सुर्तिजन्य बस्तु विक्रीको अनुमति नलिए र प्रतिवन्धित घरेलु मदिरा विक्री गरेको पाइएमा कार्वाहीको चेतावनी दिइएको छ । ‘तोकिएको समयमा अन्तशुल्कमा दर्ता नगरे कारवार्ही गर्छौ’–कर अधिकृत यादव खड्काले भने–‘आधाभन्दा बढिले अनुमति नलिइ मदिराको कारोवार गर्नु बेथितिनै हो ।’ सचेत गराउँदा समेत अनुमति नलिए अन्त शुल्क ऐन २०५८ र मदिरा ऐन २०३१ अनुसार कारवार्ही गर्ने कर अधिकृत खड्काले बताए । अनुमति नलिइ मदिराको विक्री गरेको पाइएमा मदिरा जफत गर्ने, जफत भएको मदिराको परिमाण अनुसार विघो कायम गर्ने र उतिनै बराबरको जरीवाना गर्ने प्रावधान छ ।
अनुमति विनै मदिरा विक्री करदता सेवा कार्यालयले व्यवसायीलाई उपलब्ध गराएको समय सीमा सकिएपछि पुन अनुगमन गर्ने जनाएको छ ।
इलामको सीमावर्ती क्षेत्रका बजारहरुमा प्रतिवन्धित भारतीय मदिरा समेत विक्री हुने गरेको छ । खुला सीमाको फाइदा उठाउँदै व्यपारीहरुले भारतीय मदिरा नेपाल भित्र्याउने गरेका छन् । पशुपतिनगर, मानेभञ्याङ, जौवबारी, फालोट लगायतका क्षेत्रमा खुलेआम प्रतिवन्धित मदिरा विक्री हुने गरेको छ । प्रतिवन्धित मदिरा नियन्त्रण गर्न सीमामा प्रहरीले छिटफुट रुपमा बरामद गर्ने बाहेक प्रभावकारी कदम चालिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार