पशुपतिनगरको अध्यागमन रिबन काट्ने मन्त्रीको हातको पर्खाइमा

उद्घाटन नहुँदा काम शुरु भएन

  सरलपाटी संवाददाता

 1180 पटक हेरिएको

नेपाल भारतको सीमा नाका इलामको पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना हुने भएको छ । पशुपतिनगरमा रहेको पुरानो भन्सार कार्यालयमा अध्यागमन कार्यालय स्थापना हुने भएको हो । कार्यालको लागि भवन, फर्निचर लगायतको ब्यवस्थापन भइसकेपछि औपचारिक उद््घाटन नहुँदा काम काज शुरु भएको छैन् । अध्यागमनको नयाँ कार्यालय स्थापनाको लागि सरकारले आठ जनाको दरवन्दी स्वीकृत गरिसकेको छ । कार्यालय प्रमुखको जिम्मेवारी पाएका अध्यागमन अधिकृत गणेश मिश्र कार्यालयको व्यवस्थापनमा खटिएका छन्् । कात्तिक १८ गते देखिनै उनी कार्यालय प्रमुखको जिम्मेवारीमा खटिएको भएपनि औपचारिक उद््घाटन नहुँदा नियमित काम शुरु हुन नसकेको हो ।
गृहमन्त्री रामबहादुर थापाबाट कार्यालयको उद््घाटन गर्ने तयारी छ । तर, मन्त्रीको समय नपाउँदा उद््घाटनको मिति तय हुन सकेको छैन । ‘कार्यालय व्यवस्थापनको सवै काम भइसकेको छ’–अध्यागमन अधिकृत गणेश मिश्र भन्छन््–‘औपचारिक उद््घाटन भए जतिबेला पनि काम शुरु गर्ने अवस्थामा छौ ।’

दरवन्दी स्वीकृत भएका अन्य कर्मचारी समेत व्यवस्थापन हुन बाँकी छ । सहायक कर्मचारीको व्यवस्थापनको लागि समेत आफूले पहल गरिरहेको अधिकृत मिश्रले जानकारी दिए । ‘स्वीकृत दरवन्दीका कर्मचारीको समेत व्यवस्थापन हुँन बाँकी छ’–उनले भने–‘म त्यसकै पहलका लागि मन्त्रालयमा आएको छु ।’
इलामको पशुपतिनगरमा अध्यागम कार्यालय स्थापना गर्न बर्षौदेखि माग हुँदै आएको हो । भारतको दार्जिलिङ्ग आउँने तेस्रो देशका पर्यटकलाई इलाम भित्र््याउन अध्यागमन कार्यालय अत्यावश्यक रहेको जिल्लाका सरोकारवालाको माग थियो । सीमामा नेपालले अध्यागमन कार्यालय स्थापना गर्दैमा सवै समस्याको समाधान हुने होइन । भारतले समेत सीमामा अध्यागमन कार्यालय स्थापना गर्नुपर्छ । भारतलाई समेत सीमामा अध्यागमन कार्यालय स्थापना गराउँन परराष्ट्र मन्त्रालय मार्फत पहल भइरहेको अध्यागमन अधिकृत मिश्रले जानकारी दिएका छन्् । सीमामा स्थापना भएको अध्यागमन कार्यालयले तेस्रो देशका नागरिकलाई प्रवेशआज्ञा र प्रस्तानको अनुमति प्रदान गर्नेछ ।

सीमामा अध्यागमन नहुँदा तेस्रो मुलुकका पर्यटक भित्र््याउने अवसरबाट बञ्चित भएको पूर्वी पहाडले पनि अब पर्यटकहरू डुलाउन पाउने बाटो खुलेको मेची पहाडी क्षेत्र पर्यटन प्रर्वद्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताए । उनलेभने ‘हामीले पशुपतिनगरबाट कञ्चनजंघा वेसक्याम्प सम्मको ‘ट्रेकिङ रूट’ बनाउने सर्भे गरिसकेका छौं, टुरिजम वोर्डले स्वीकृत गर्नमात्र बाँकी छ, अध्यागमन कार्यालय स्थापना हुनेभएपछि विदेशी पर्यटकहरू कञ्चनजंघा हिमालको वेशक्याम्प सम्म जाने ढोका खुल्ला हुन्छ ।’
अध्यागमन भएपछि इलाम, पाँचथर र ताप्लेजुङ सम्म घुम्न जाने पर्यटकहरूको संख्या बढ््ने अपेक्षा छ । भारततर्फ अध्यागमनसंगै क्वारेन्टाइन स्थापनाको लागि कुटनीतिक रुपमा पहल भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले जानकारी दिए ।

दार्जिलिङ, सिक्किम आएका तेस्रो मुलुकका पर्यटकहरू इलाम आउन र दार्जिलिङ सँगै जोडिएको इलामको पर्यटकीय स्थल सन्दकपुर पुग्न भने काँकडभिट््टा नाका भएरै प्रवेश गर्नुपथ्र्यो । अब पशुपतिनगरबाटै नेपाल प्रवेश गरेका विदेशी पर्यटकलाई मानेभञ्ज्याङ, चित्रे गुम्बा, जौवारी र सन्दकपुर सम्म लैजान सहज हुने छ । अहिले नेपाल–भारत आउ–जाउ गर्न नेपाली र भारतीयलाई मात्र सहज छ, तेस्रो मुलुकका नागरिकले भने अध्यागमन नभएका कारण नेपाल प्रवेश पाएका थिएनन्् ।
भारतले सीमामा क्वारेन्टाइन समेत स्थापना गरे पशुपतिनगर नाकाबाट कृषि जन्य वस्तुहरूको निर्यातमा समेत सहज हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार