सेनाले तारबार गरेपछि माइभ्याली गोल्डकप प्रभावित

  सरलपाटी सम्वाददाता

 1654 पटक हेरिएको

इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा नेपाली सेनाले काँडेतारले तारबार गरेपछि आगामी फागुनमा सञ्चालन गर्न लागिएको माइभ्याली गोल्डकपको पाँचौ संस्करण प्रभावित हुने अवस्थामा पुगेको छ । माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघले आइतबार पत्रकार सम्मेलन गरेर सेनाको असहयोगका कारण प्रतियोगिता गराउन नसकिने जनाएको छ ।
सेनाले आफ्नो जग्गा सुरक्षित गर्न भन्दै खेलमैदानको माथिल्लो भागमा काँडेतार राखेपछि प्रतियोगिता गराउन असंभव जस्तै भएको माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए ।
अखिल नेपाल फुटबल संघ एन्फाले आगामी माइभ्याली गोल्डकपको यो संस्करणलाई आफ्नो क्यालेन्डमा फागुन २३ गतेदेखि चैत २ गतेसम्म गर्ने गरी स्वीकृति दिएकोे थियो । एन्फाले आयोजक माइभ्यालीलाई तोकिएको समयमा प्रतियोगिता सम्पन्न गराउन निर्देशन समेत दिइसकेको छ । खेलमैदान संरक्षण गर्न सहकार्य गर्न र तारबार नगर्न सेना प्रमुखसँग पटक–पटक आग्रह गर्दा तारबार नगर्ने आश्वासन दिएपनि त्यस विपरित कार्य भइरहेको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले बताए । ‘काँडेतारका बीचमा यसपटकको प्रतियोगिता गर्न सकिंदैन, एउटा खेलाडी अथवा दर्शकलाई चोट लाग्दा त्यसको जिम्मेवारी को हुने ?’ माइभ्यालीका अध्यक्ष चेम्जोङले भने ‘यो जोसुकैको स्वामित्तमा भएपनि सार्वजनिक स्थलका रूपमा इलामे नागरिकले बुझेका छन्, राणाकालदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको र विभिन्न खेल प्रतियोगिता आएको स्थानलाई स्थानीय सरकारको मातहतमा रहने व्यवस्था गरिदिन हामी सरकारसँग माग गरिरहेका छौं ।’
काँडेतार लगाइएको क्षेत्रमा दर्शकहरु बस्नुपर्ने र मान्छे हिंड्ने मुख्य बाटो पनि त्यही भएकाले चोटपटकको सम्भावना बढी भएकाले प्रतियोगिता आयोजना गर्न समस्या भएको अध्यक्ष चेम्जोङको भनाइ छ । माइभ्याली गोल्डकप ‘ए’ डिभिजनका फुटबल क्लबले खेल्दै आएको पूर्वी पहाडको ठूलो प्रतियोगिता हो । अखिल नेपाल फुटबल संघ एन्फाले पनि यो वर्ष मोफसलको प्रतियोगिता गर्ने मध्ये आयोजक माइभ्यालीलाई देशभरको उत्कृष्ठ तीनमा राखेको थियो ।
राणाकाल देखिनै खेल मैदानका रूपमा प्रयोग भइरहेको यो टुँडीखेललाई नेपाली सेनाले आफ्नो स्वामित्तमा रहेको भन्दै सर्व साधारणलाई प्रवेशमै रोक लगाउनुले जिल्लाकै खेल क्षेत्रलाई पाखा लगाएको एन्फाका केन्द्रीय सदस्य खड्गीले बताए । ‘यो गोल्डकपको चौथो संस्करणसम्म विदेशी खेलाडी ल्याएर खेलाउन यो खेल मैदानलाई जिल्ला फुटबल, संघ, एन्फा र माइभ्याली गोल्डकपले २७ देखि ३० लाख लगानी गरेको थियो,’ खड्गीले भने ‘खेल मैदानलाई नरम बनाउन दुबो रोपेर खेल्न योग्य बनाएका थियौं । अहिले सेनाले कब्जा जमाएपछि खेल खेलाउन पनि नसकिने गरि खेलमैदान बिग्रिएको छ ।’
साँघुरो सडकको छेउमा काँडेतार राखिएपछि त्यसमा परेर बालबालिकाको पोशाक च्यातिएको र अन्य साना गाडी तथा मोटर साइकललाई पार गर्न समेत गाहे भएको स्थानीयले बताएका छन् । इलामस्थित पशुपति प्रसाद गणका प्रमुख असिमद्धीप गुरूङले तारबार गरेर अझ खेलमैदानको संरक्षण गरेको बताए । ‘हामीले कुनै पनि प्रतियोगिता रोक्ने काम गर्न खोजेका छैनौं, अझ एक हजार वाटको २४ वटा वत्ती राख्ने तयारी गर्दैछु,’ गुरूङले भने ‘माथिबाटै आफ्ना जमिनको सुरक्षा गर्न निर्देशन भए अनुसार यहाँ काम गरिएको हो, अब तारबार हटाउन माथिबाटै स्वीकृत लिनुपर्छ ।’ तर, प्रतियोगितानै रोक्ने भन्ने नभएको गुरूङको भनाइ छ । ‘आज मैले उहाँहरूलाई बोलाएको छु । आउनु हुन्छ’ उनले भने ।
माइभ्याली फुटबल क्लबले बाँसको प्यारापिट बनाएर प्रतियोगिता सञ्चालन गर्दै आएको थियो । गएको वर्खायाममा खेलमैदानको तल्लो भाग पहिरो गएपछि त्यहाँ पनि सेनाले पहिरो रोक्ने काम अहिले सम्म गरेको छैन । तल्लो भागको पहिरो रोक्न ल्याइएको ग्याभिङवालको तार त्यसै अलपत्र परेको माइभ्याली फुटबल क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार