सुनगाभा बचत तथा ऋण सहकारी संस्थाले दश करोड ५८ लाख ६१ हजार ८६७ रूपैयाँ आयव्यय प्रस्तुत गर्दै आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । पञ्चकन्याद्वारा खुत्रुकेमा पैसा खसालेर उद्घाटन गरिएको कार्यक्रममा संस्थाका शेयर सदस्य ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा डिकबहादुर कोइराला, चित्रकुमारी बराल, माया तामाङ, भवानीदेवी अधिकारी, रतनलाल अग्रवाल, सनमाया कार्कीलगायत रहेका छन् । यसै अवसरमा संस्थाको उत्कृष्ठ शेयर खरिदकर्ता सुमन दास, उत्कृष्ठ बचतकर्ता महेन्द्रकुमारी कटुवाल, उत्कृष्ठ ऋणी देवीकुमारी लिम्बू, उत्कृष्ठ बाल बचतकार्ता जेनिसाराज लवटलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा २०७४ को एसइइ परिक्षामा सर्वोकृष्ठ अंक ल्याउने शेयर सदस्यका छोराछोरी मध्ये छात्रा तर्फ दिया थापा र छात्रतर्फ निरोज भण्डारीलाई जनही पाँच हजार नगद सहित पुरस्कृत गरिएको छ ।
संस्थाका उत्कृष्ठ कर्मचारीमा यसवर्ष बजार प्रतिनिधि कृष्णकार्कीलाई पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष ईश्वरकुमार सुवेदीले वार्षिक प्रगतिसहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव नरेन्द्र खड्काले संस्थाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गोपाल पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लेखासमिति संयोजक गणेशप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।