प्राविधिक ज्ञानसीप विनै हुन्छ चियाको प्रुनिङ

  सरलपाटी संवाददाता

 1066 पटक हेरिएको

हरियो पत्तिको उत्पादन मैजारो भएपछि चिया किसान काँटछाँटमा लागेका छन् । तर, प्राविधिक ज्ञान सीपको अभावमा चियाको काँटछाँट गुणस्तरीय हुन सकेको छैन । चियाको गाज अन्य बोट बिरुवा जस्तो छाँटकाँट गर्न त्यति सहज छैन । त्यसका लागि प्राविधिक सीप आवश्यक पर्छ । इलामका किसानमा भने कटाइको प्राविधिक सीप नहुँदा चियाको राम्रो उत्पादन हुन सकेको छैन ।
चियाको खेती शुरु भएको डेढ सय वर्ष कटिसक्दा पनि यहाँका किसानले प्राविधिक तरिकाले चियाको काँटछाँट गर्न नसक्दा राम्रो उत्पादन लिन नसकेको प्राविधिकहरु बताउँछन् । ब्यावसायिक चिया खेती गरिरहेका किसानले पनि अञ्दाजको भरमा चिया काँटछाँट गर्ने गरेका छन् । चिया रोपेको वर्षैपिच्छे फरक–फरक तरिकाले काँटछाँट आवश्यक हुन्छ । तर ज्ञानको अभावमा किसानले भने त्यसको प्रक्रिया पूरा नै नगर्ने गरेको पाइएको चियाका प्राविधिकहरु बताउँछन् । अन्दाजको भरमा चिया काट्दा उत्पादनमा कमी हुने, गुणस्तरीय चिया उत्पादन नहुन, रोग किराको प्रकोप देखिने र बोटै मर्नेसम्मको समस्या किसानले झेल्ने गरेका छन् ।
चियाको नर्सरी राख्दादेखि प्रुनिङ्ग (बर्षेनी गरिने काँटछाँट) सम्मको काम देखेकै भरमा गर्नु परेको उनीहरुको भनाइ छ । मौसमअनुसार चियालाई गर्नुपर्ने स्याहार नगर्दा उत्पादनदेखि गुणस्तरमा असर पुगिरहेको चिया प्राविधिक ज्योति अधिकारीले बताए । ‘नर्सरी नै गुणस्तरको हुँदैन’ उनले थपे–‘प्रुनिङ्ग गराई त झनै एकनासको हुँदैन, यसले चियाको गुणस्तर विगार्छ ।’
चिया रोपण गरिएको दोस्रो वर्ष ‘डिसेन्टर’ गर्नुपर्छ । तर, अयोग्य विरुवा रोपण र स्याहारको अभावमा ३÷४ वर्षपछि मात्र डिसेन्टर गर्ने गरेको पाइएको छ । समयमा डिसेन्टर नगर्दा चियाको बोटले ढिलो मात्र उत्पादन दिने प्राविधिकहरु बताउँछन् । डिसेन्टर गरेको तेस्रो वर्ष ‘सिसेन्टर’ गर्नुपर्ने भए पनि धेरै किसानलाई त्यसको बारेमा थाहै छैन । खेती लगाएको ६ देखि ८ वर्षमा चियाको अन्तिम ढाँचा बनाउनका लागि ‘फ्रेम फर्मेसिङ्ग ट्रेस’ गर्नुपर्छ ।
बोटअनुसार १६ देखि १८ इञ्चमा काटेपछि चियाको योग्य बोट बनिन्छ । किसानले भने समय चक्रअनुसार चियाको बगान नस्याहार्ने गरेकाले उत्पादनमा असर परिरहेको चिया प्राविधिक बताउँछन् । ‘उत्पादन घट्छ भन्दै माथिमाथि काट्ने चलन छ, यसले चियाको गाजलाई नै विगार्दै जान्छ’–चिया प्राविधिक विवेक भण्डारी भन्छन् । माथि काट्दा छिटो चिया पलाउने सोच गाउँतिर रहेको किसानले बताएका छन् । ‘माथि काट्यो भने छिट्टै चिया पलाउँछ भन्ने सोच थियो’–कन्यामका कमल पौडेलले भने–‘वर्षेनी त्यसो गर्दा झन बोट नै पो बिग्रिंदो रहेछ ।’
त्यसपछि पाँच वर्षसम्म बर्षेनी भिन्न कटाई गर्नुपर्ने भए पनि खेतीका लागि आवश्यक ज्ञान–सीप नहुँदा किसानले जथाभावी कटाइ गर्ने गरेका छन् । नजिकैको चिया विकास निगमको कटाइ देखेर किसानले चिया काट्ने गरेका छन् । तर, चिया बगान र किसानले रोपेको चियाको उमेर नै मिल्दैन । इलाममा चिया खेती विस्तार तथा प्राविधिक सहयोग गर्नका लागि चिया विस्तार आयोजना कार्यालयहरु स्थापना गरिएको भए पनि ती कार्यालयले पर्याप्त तालिम चलाउँदैनन् । किसान समेत तालिमको माग राख्दैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार