
इलाम । इलामका पत्रकार ख्याम भुजेल पुरस्कृत भएका छन् । स्वर्गीय दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट भुजेल पुरस्कृत भएका हुन् । जुन तारा सामाजिक विकास केन्द्र इलाम र हाम्रो जुनतारा सहकारी संस्थाको वार्षिक साधारणसभाको अवसर पारेर भुजेललाई पुरस्कृत गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, संस्थाका अध्यक्ष तीर्थ गुरुङ, नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समिति उपाध्यक्ष सोम सुसेलीले संयुक्त रुपमा भुजेललाई पुरस्कृत गरे ।
नेपाल पत्रकार महासंघ इलामका सचिव समेत रहेका भुजेल छ वर्षयता नयाँ पत्रिका दैनिकको इलाम सम्वाददाता र इलाम पोष्ट दैनिकमा प्रमुख सम्वाददाताकाे रूपमा कार्यरत छन् । उनले यस अघि पूर्वाञ्चल दैनिक, इलाम आवाज साप्ताहिक, इलाम एफमा आवद्ध थिए । सहकारीको क्षेत्रमा कलम चलाउने पत्रकारलाई तीन वर्षयता स्वर्गीय दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिदै आएको छ । पुरस्कारको लागि बस्नेत परिवारले एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । कोषको ब्याजबाट दश हजार रुपैयाँ राशीको पुरस्कार वितरण गरिदै आएको छ । सो पुरस्कारबाट यस अघि गणेश घिमिरे र सविता पाण्डे पुरस्कृत भइसकेका छन् । 
यता, ७० औ विश्व मानव अधिकार दिवसको अवसर पारेर पत्रकार पर्वत पोर्तेललाई मानव अधिकार बर्ष पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । मानव अधिकार मञ्च नेपाल इलामले पाँच वर्षदेखि मानव अधिकार बर्ष पत्रकारिता पुरस्कार दिदै आएको छ । पुरस्कृत पत्रकार पोर्तेल झापाबाट कान्तिपुर दैनिकमा कार्यरत छन् । दश हजार रुपैयाँ राशीको सो पुरस्कार प्रदेशसभा सदस्य रामबहादुर रानाले पोर्तेललाई प्रदान गरे । एक नम्बर प्रदेश स्तरीय सो पुरस्कार बिराटनगरका यज्ञ शर्मा, इलामका सटेन्द्र जवेगू, झापाका चन्द्र भण्डारी र इलामकी कोकिला ढकालले प्राप्त गरिसकेका छन् ।


808 पटक हेरिएको 






